• ८ कात्तिक २०८२, शनिबार

राष्ट्रपति ट्रम्पको एसिया भ्रमण प्रारम्भ, सी जिनपिङसँग उच्चस्तरीय वार्ता र किमसँग सम्भावित भेटप्रति उत्सुकता

blog

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ।

एयर फोर्स वन (अमेरिका), कात्तिक ८ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शुक्रबार आफ्नो एसिया भ्रमणका लागि वासिङ्टनबाट प्रस्थान गर्नु भएको छ । यस भ्रमणको प्रमुख उद्देश्य चिनियाँ राष्ट्रपति सी जिनपिङसँग उच्चस्तरीय व्यापार वार्ता गर्नु रहेको छ । 

ट्रम्पले प्रस्थानअघि पत्रकारसँग कुरा गर्दै उत्तर कोरियाली नेता किम जोङ-अनसँग पनि सम्भावित भेटप्रति इच्छा व्यक्त गर्नुभयो । राष्ट्रपति ट्रम्पले विश्वका दुई ठूला अर्थतन्त्रबिच चलिरहेको व्यापार युद्ध अन्त्य गर्नका लागि सीसँग दक्षिण कोरियामा हुने आगामी भेटलाई ‘निर्णायक क्षण’का रूपमा चित्रण गर्नुभयो । 

जनवरीमा ह्वाइट हाउस फर्किएपछि यो उहाँको पहिलो एसिया भ्रमण हो । भ्रमण अन्तर्गत उहाँ मलेसिया, जापान र दक्षिण कोरियामा आधिकारिक कार्यक्रममा सहभागी हुनुहुने छ । ट्रम्पले एयर फोर्स वनमा सवार पत्रकारलाई बताउँदै भन्नुभयो, “म सीसँग धेरै राम्रो बैठकको अपेक्षा गर्छु । चीनले सम्झौता गर्न चाहन्छ, किनभने नोभेम्बर १ देखि लागू हुने अतिरिक्त १०० प्रतिशत भन्सार शुल्क उनीहरूका लागि हानिकारक हुन सक्छ ।”

वासिङ्टन छोड्ने क्रममा ट्रम्पले कोरियाली प्रायद्वीपमा सन् २०१९ पछि पहिलो पटक किम जोङ-अनसँग भेट हुने सम्भावनाबारे पनि सङ्केत गर्नुभयो । “म त्यसका लागि खुला छु”, उहाँले हाँस्दै भन्नुभयो, “मेरो उहाँसँग निकै राम्रो सम्बन्ध थियो ।” दुई नेताबिच अन्तिम भेट ट्रम्पको पहिलो कार्यकालमा भियतनामको हनोईमा भएको थियो । 

उत्तर कोरियाली नेता किमले वासिङ्टनले आफ्नो आणविक हतियार त्याग्ने माग खारेज गरेपछि मात्र नयाँ वार्ताको सम्भावना खुल्ने बताउनुभएको थियो । सियोलका पुनर्मिलन मन्त्रीले पनि राष्ट्रपति ट्रम्प दक्षिण कोरियामा हुँदा क्षेत्रीय सम्मेलनको अवसरमा ट्रम्प र किमबिच भेट हुने ‘उल्लेखनीय सम्भावना’ रहेको बताउनुभएको छ ।

-शान्ति र व्यापार सम्झौतामा ध्यान-

राष्ट्रपति ट्रम्पको भ्रमणको पहिलो गन्तव्य मलेसिया हुने छ । त्यहाँ उहाँ आइतबार दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) शिखर सम्मेलनमा सहभागी हुनुहुने छ । आफ्नो पहिलो कार्यकालमा यो बैठक उहाँले बारम्बार अस्वीकार गर्नुभएको थियो, तर यस पटक उहाँको सहभागिता विशेष ध्यानाकर्षणको विषय बनेको छ ।

मलेसिया भ्रमणका क्रममा ट्रम्पले दुई देशबीचको नयाँ व्यापार सम्झौतामा हस्ताक्षर गर्ने र थाइल्यान्ड तथा कम्बोडियाबिचको शान्ति सम्झौता प्रक्रियामा साक्षी रहने कार्यक्रम रहेको छ । उहाँले यसलाई ‘एसियाली स्थायित्व र अमेरिकी नेतृत्व’ सुदृढ गर्ने अवसरका रूपमा वर्णन गर्नु भएको छ ।

ट्रम्पले भ्रमणका क्रममा ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग पनि भेट्ने तयारी गर्नुभएको छ । भेटमा वामपन्थी नेतृत्वसँग सम्बन्ध सुधारका विषयमा छलफल हुने बताइएको छ । मलेसियापछि ट्रम्प सोमबार जापान पुग्नुहुनेछ । मङ्गलबार उहाँले जापानकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइचीसँग भेट्नुहुनेछ । 

राष्ट्रपति ट्रम्पले ताकाइचीलाई ‘साहसी नेत्री र पूर्व प्रधानमन्त्री सिन्जो आबेकी निकट सहयोगी’ भनेर प्रशंसा गर्नुभयो । जापानले अमेरिकी करबाट आंशिकरूपमा छुट पाएको भन्दै ट्रम्पले टोकियोसँगको आर्थिक सम्बन्धलाई ‘न्यायोचित र सन्तुलित’ बताउनुभयो ।

-सीसँगको निर्णायक भेट-

राष्ट्रपति ट्रम्पको भ्रमणको मुख्य आकर्षण दक्षिण कोरिया हुने छ । त्यहाँ उहाँ बुधबार दक्षिणी बन्दरगाह सहर बुसानमा अवतरण गर्नु पर्ने छ । त्यहाँ उहाँ दक्षिण कोरियाका राष्ट्रपति ली जे-म्युङसँग भेट्ने, एशिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका व्यापारिक सत्रमा सम्बोधन गर्ने र अमेरिकी प्राविधिक उद्योगका शीर्ष व्यक्तिसँग रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ ।

बिहीबार राष्ट्रपति ट्रम्प र राष्ट्रपति सी जिनपिङबिचको भेट तय गरिएको छ । यो ट्रम्प ह्वाइट हाउस फर्किएपछि दुवै नेताबिचको पहिलो प्रत्यक्ष वार्ता हुने छ । बेइजिङको हालैको दुर्लभ-पृथ्वी (खनिज तत्व) निर्यात प्रतिबन्ध र अमेरिकाले लगाएका नयाँ करहरूका कारण सम्बन्ध पुनर्सन्तुलनका लागि यो वार्ता अत्यन्तै संवेदनशील मानिएको छ ।

ट्रम्पले अघिल्ला हप्तामा बैठक रद्द गर्ने धम्की दिनुभएको थियो र त्यसै क्रममा चीनमाथि नयाँ १०० प्रतिशत भन्सार शुल्कको घोषणा पनि गर्नुभएको थियो, तर अन्ततः वार्तालाई अगाडि बढाउने निर्णय गर्नुभयो ।

राष्ट्रपति ट्रम्पले राष्ट्रपति सीसँग फेन्टानिलको अवैध तस्करी र ल्याटिन अमेरिकी लागूऔषध गिरोहमा चीनको भूमिकाबारे पनि विस्तृतरूपमा छलफल गर्ने बताउनुभयो । “फेन्टानिलका कारण अमेरिकामा हजारौँ जीवन गुमिरहेका छन् । यो रोक्न चीनले निर्णायक कदम चाल्नुपर्छ”, राष्ट्रपति ट्रम्पको भनाइ उद्धृत गर्दै एएफपीले जनाएको छ । रासस/एएफपी