• ८ कात्तिक २०८२, शनिबार

छठ पर्वका लागि स्वागत द्वारदेखि घाट निर्माण

blog

रवीन्द्र उप्रेती

बर्दिबास, कात्तिक ८ गते । मधेश प्रदेशमा लोक आस्थाको महापर्व छठको चहलपहल सुरु भएको छ । सबैतिर जलासयहरूको सरसफाइ र पूजाका लागि घाट निर्माणको कामले गती पाएको छ। ठाँउ ठाउँमा आकर्षक स्वागत  द्वार निर्माण गरिने क्रम जारी छ ।

बजार र चोकहरू छठ पूजाका सामग्रीहरू बाँसले बुनेका ढाकी, नाङलो, सुपली र माटाका घैली, ढकना, पालाहरूले भरिन थालेका छन् । स्थानीय व्यापारीका अनुसार केरा, उखुको लाक्रा, ज्यामिर लगायतका फलफुलको माग पनि बढन थालेको छ । 

धेरैजसो ठाँउमा स्थानीय भक्तजनहरूबाट स्वस्फुर्त रूपमा सङ्कलन भएका दान दातब्यबाट छठको तयारी गरिएको छ । कतिपय ठाउँमा भने स्थानीय सरकारको साथ सहयोगले छठ पूजालाई भव्य र सभ्य बनाउने काम अघि बढाइएको छ । 

बर्दीबासको १, २ र १४ नं वडाको आधा दर्जन तलाउमा छठ पूजाको तयारी सुरु गरिएको छ । बर्दीबास-१४, कामेश्वरनाथ महादेव मन्दिर नजिकको पुरानो तलाउको सरसफाई र सौन्दर्यीकरणको कामले गति पाएको छ । स्वागत द्वार, सरसफाइ, पोखरी सजावट र घाट निर्माण लगाएतका कार्यमा ६–७ लाख रुपियाँ खर्च हुने अनुमान छ  ।

सवै खर्च स्थानीय सहयोग र दान दातब्यबाट बेहोरिने वडाध्यक्ष विजय महतोले जनाउनुभयो । पोखरीको चारवटै किनारामा ३०० वटा छठ घाट निर्माणको तयारी सुरु गरिएको छ । यस अवसरमा मिथिला संस्कृति र छठ पर्वको महत्त्व दर्शाउने कार्यक्रम आयोजनाको कार्यक्रम तय गरिएको छ । 

व्रतको पारन (समापन) को दिन छठ पोखरी नजिकको शिव मन्दिर परिसरमा सामुहिक प्रसाद ग्रहण कार्यक्रमलाई यो वर्ष पनि निरंतरता दिइएको छ । गत वर्ष ५०० जनाभन्दा बढीले सामुहिक छठ प्रसाद ग्रहण गरेको पूजा समितिले जनाएको छ । 

अधिकांश आर्थिक श्रोत आपसी दान दातब्यबाट जुटाइएको छ । पूजाका लागि प्रति घाट १ हजार सहयोग तोकिएको छ । यस तलाउमा सजाइएको ३०० पूजा घाटबाट ३ लाख सहयोग पुग्ने वडा नं १४ छठ पूजा समितिको आँकलन छ । यस तलाउमा मात्रै ब्रतालु, श्रद्धालु र दर्शनार्थी गरि २ बढीको सहभागिता हुने अनुमान गरिएको छ ।                    

वडाध्यक्ष विजय महतोले भन्नु भयो ‘लोक आस्थाको पर्व भएकोले सवै काम स्वस्फुर्त र सामुहिक सहयोगबाट भइरहेको छ ।’ त्यस्तै ३ वटा वडा रहेको बर्दीबासमा वडा नं १ को देउराली पोखरी, वडा नं २ को बुद्धचोक पोखरी र वडा नं १४ कै हमाल लगाएतका पोखरीमा पनि भक्तजनहरूको सहयोग र सकृयतामा छठ पर्वको तयारी सुरु गरिएको छ । 

महोत्तरीको १५ वटै पालिका छठ पर्वको तयारीमा जुटेका छन् । जिल्लाका करिब ३०० पोखरी, तलाउ र नदी किनाराको सरसफाइ र घाट निर्माणको कामले गति पाएको छ ।