• १० माघ २०८१, बिहिबार

कालीकोटबाट एक अर्ब ११ करोड बजेट फिर्ता

blog

कालीकोटको कोष तथा लेखा नियन्त्रक कार्यालय । तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट, साउन १६ गते ।
कालीकोट जिल्लामा खर्च हुन नसकेको र यस वर्ष एक अर्ब ११ करोड बजेट फिर्ता गएको छ । संघ र प्रदेश सरकारबाट प्राप्त अनुदान बजेटमध्य खर्च हुन नसकेर यस वर्ष कालीकोटबाट एक अर्ब १० करोड ९९ लाख १९ हजार ६९९ रुपियाँ फिर्ता गएको हो ।

सङ्घीय सरकारबाट कालीकोटका लागि आर्थिक वर्ष २०८०∕०८१ लागि चार अर्ब ७८ करोड छ लाख २० हजार ९७२ रुपियाँ प्राप्त भएको थियो । कोष तथा लेखा नियन्त्रक कार्यालय कालीकोटका प्रमुख विकास थापा मगरले यो बजेटमा सबै स्थानीय तह र संघअन्तगर्तका कार्यलयबाट खर्च हुन नसकेर ६० करोड १२ लाख ३३ हजार ५५२ रुपियाँ ५५ पैसा बजेट फिर्ता गएको जानकारी दिनुभयो । उहाँले सबै स्थानीय तह र जिल्लास्थित सङ्घीय कार्यालयमा प्राप्त बजेटमध्य खर्च हुन नसकेको बजेट फिर्ता गएको बताउनुभयो ।

प्रदेश सरकारबाट कालीकोटलाई आर्थिक वर्ष २०८०∕०८१ लागि दुई अर्ब ८ करोड ४१ लाख ११ हजार चार सय रुपियाँ प्राप्त भएको थियो । प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय कालीकोटका प्रमुख रामदत्त देवकोटाले एक अर्ब ५७ करोड ५४ लाख २५ हजार २५३ रुपियाँ ७९ पैसा खर्च भएको बताउनुभयो । उहाँले ५० करोड ८६ लाख ६ हजार १४७ रुपियाँ खर्च हुन नसकेर फिर्ता भएको जानकारी दिनुभयो ।  चालु तर्फको ७९ दशमल ३ प्रतिसत र पुजिगत तर्फ ७३ दशमलप ८१ प्रतिसत गरेर जम्मा दुवै तर्फको ७५.५८ प्रतिसत वजेट खर्च भएको जानकारी दिनुभयो ।

स्थानीय तहको १२ करोड ७१ लाख बजेट फ्रिज
जिल्लाका नौ स्थानीय तहमध्य आठ वटा स्थानीय तहको खर्च हुन नसकेको बजेट कोष तथा लेखा नियन्त्रक कार्यालय कालीकोट मार्फत फिर्ता गएको छ । आठ स्थानीय तहको फिर्ता बजेट १२ करोड ७१ लाख ३४ हजार ९२१ रुपियाँ फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालय कालीकोटका साहयक लेखापाल रमेश बस्नेतले बताउनुभयो ।

उहाँका अनुसार सबैभन्दा धेरै फिर्ता नरहरीनाथ गाउँपालिकाको भएको छ भने सबै भन्दा कम सान्नीत्रिवेणी गाउँपालिकाको भएको छ ।

नरहरीनाथ गाउँपालिकाको दुई करोड ९२ लाख १७ हजार, ११२ रुपियाँ बजेट फिर्ता गएको छ । सान्नीत्रिवेणीको सबै भन्दा कम ५४ लाख १० हजार ९३५ रुपियाँ मात्र फिर्ता गएको छ । दोस्रो बजेट फ्रिज गर्नेमा पलाँता गाउँपालिका भएको छ । पलाँताको दुई करोड ३३ लाख ९१ हजार ९४१ रुपियाँ फ्रिज भएको छ । तेस्रो नम्बर बजेट फिर्ता जाने तिलागुफा नगरपालिका रहेको छ । तिलागुफा नगरपालिकाको दुई करोड एक लाख ५ हजार ९६० रुपियाँ फिर्ता भएको छ ।

रास्कोट नगरपालिकाले एक करोड ४४ लाख ५७ हजार ७६० रुपियाँ, खाँडाचक्र नगरपालिकाको एक करोड ६७ लाख ५४ हजार ९१ रुपियाँ र महावै गाउँपालिकाको एक करोड १२ लाख ४७ हजार ११४ रुपियाँ बजेट फ्रिज भएको छ । सान्नीत्रिवेणी पछि पचालझरना गाउँपालिकाले ६५ लाख ५० हजार ८ रुपियाँ बजेट फिर्ता गराएको छ । जिल्लाका दुई गाउँपालिका सान्नीत्रिवेणी गाउँपालिका र पचालझरना गाउँपालिकाले सबैभन्दा कम क्रमस ५४ र ६५ लाख  मात्र बजेट फिर्ता गरेका छन् । अरु स्थानीय तहले भने करोड नघाएर बजेट फ्रिज गराएका छन् । 

शुभकालिकाले अझै हिसाव मिलन गरेनन

आन्तरिक द्वन्द्वमा फसेको शुभकालीका गाउँपालिकाले खर्च विवरण र फिर्ता बजेटको रिर्पोट अझै मिलान गरेको छैन । जिल्लाका अन्य आठ वटा स्थानीय तहले कोष तथा लेखानियन्त्रक कार्यालयमा आआफ्नो स्थानिय तहको हिसाव दाखिला गरेपनि शुभकालिकाले दाखिला नगरेकाले सबै स्थानीय तहको फिर्ता बजेटको हिसाव निकाल्न कोलेनिकालाई समस्या भएको हो । 

शुभकालिकाले निकासा सबै बजेट लिएको छ । तर कति खर्च गर्यो त्यसको एकीन रिर्पोट कोलेनिकामा दाखिला गरेको छैन । साउन १५ सम्म खर्च बजेट र फिर्ता बजेट एकिन गरेर रिर्पोट दिन पर्ने हो । तर आज सम्म शुभकालिकाले खर्च वजेट र फिर्ता बजेटकाबारेमा कुनै खबर गरेको छैन । अब उसले बचेको वजेट सिधै राजस्व खातामा जम्मा गर्नुपर्ने छ ।