गोरखापत्र अनलाइन
काठमाडौं, साउन १५ गते । गोरखापत्र संस्थानले सम्पादक, विभागीय प्रमुख तथा शाखा प्रमुखहरूका लागि ‘गोरखापत्र : गर्दै–सिक्दै’ शृङ्खला अन्तर्गत कार्यसम्पादन व्यवस्थापन प्रणाली विषयक गोष्ठी आयोजना गरेको छ ।
गोरखापत्र संस्थानको तालिम शाखाको संयोजनमा आयोजित कार्यक्रमले कर्मचारीको व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्ने उद्देश्य लिइएको छ । कार्यक्रममा विज्ञ तथा नेपाल व्यवस्थापन सङ्घ (म्यान) का अध्यक्ष मोहनराज ओझाले प्रशिक्षण दिनुभएको थियो ।

उहाँले सिकाइमा दुई पक्षीय सञ्चार अपरिहार्य रहेको भन्दै क्षमता अभिवृद्धि गर्न व्यक्ति स्वयम् लाग्नुपर्ने बताउनुभयो । सङ्कटकै बेला व्यक्ति बढी खटेर काम गर्नुपर्ने हुन्छ भन्दै अरू सुतेका बेला काम गर्दा त्यसमा सफलता मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले मानव स्रोत सूचना प्रणाली (एचआरआइएस) लागु गर्न आग्रह गर्नुभयो ।
गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले सिकाइ मानवका लागि जीवनपर्यन्त चल्ने प्रक्रिया भएको बताउनुभयो । उहाँले कर्मचारीको क्षमता अभिवृद्धि तथा स्तरोन्नतिका लागि ‘गोरखापत्र: गर्दै–सिक्दै’ कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । 

निमित्त नायब महाप्रबन्धक यमप्रसाद कँडेलले कार्यक्रम तथा प्रशिक्षणले केही न केही सिक्ने अवसर प्रदान गर्ने हुनाले यसको निरन्तरताको आवश्यकता औँल्याउनुभयो । सुधारको प्रक्रिया माथिल्लो तहबाटै हुनुपर्ने भन्दै उहाँले वरिष्ठ कर्मचारीले इमान्दारितापूर्वक काम गरे तल्लो तहका कर्मचारीले पनि त्यसलाई अनुसरण गर्ने विश्वास व्यक्त गर्नुभयो ।
संस्थानका तालिम/योजना शाखा प्रमुख रामबहादुर शाहले संस्थानको समग्र कार्य सम्पादनमा प्रभावकारिता ल्याउने अपेक्षासहित उक्त शृङ्खला सुरु गरिएको जानकारी दिनुभयो । 

कार्यक्रममा गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराई, दि राइजिङ नेपालका निमित्त प्रधान सम्पादक भीमसेन थपलिया, गोरखा दैनिकका प्रबन्ध सम्पादक जुनारबाबु बस्नेत, मासिक प्रकाशनका सम्पादकहरू, सञ्चालक समिति सदस्य तथा अर्थ विभाग प्रमुख राजुकुमार महत, प्रशासन विभाग प्रमुख भगीरथ बस्नेतसहित विभागीय प्रमुख तथा शाखा प्रमुखहरूको सहभागिता रहेको थियो ।

 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                