• १६ भदौ २०८१, आइतबार

पहिरो खस्दा आठ परिवारको घरखेतमा क्षति

blog

सिगास गाउँपालिका –३, भुडेश्वर गाउँमा खसेको पहिरो । तस्बिर सौजन्यः जस्बिर साउद

गोकर्ण दयाल

बैतडी, साउन १४ गते । सिगास गाउँपालिकाको केन्द्र जोड्ने सिन्याखेत–गर्जे सडक खण्डमा पहिरो खस्दा सिगास –३, को भुडेश्वर गाउँको आठ परिवारको घरखेतमा पहिरोले क्षति गरेको छ । स्थानीयले भागेर ज्यान जोगाएका छन् । 

गए राति परेको अबिरल वर्षासँगै सडकमाथिबाट पहिरा खस्दा स्थानीय जस्वीर साउद, गाणेश साउद, गंगाराम साउद, रामसिंह धामी, बाद धामी, मनवीर साउद, गोपाल साउद, हरि साउदको परिवार बिस्थापित भएको छ । पहिरोले घर र खेतमा क्षति गरेको जस्वीर साउदले बताउनुभयो । 

सिगास गाउँपालिका –३, कोटेलीस्थित सिगास माविको छेउबाट पहिरो खस्दा विद्यालयसमेत पहिरोको जोखिममा परेको छ । बस्तीमाथि सडक निर्माण गर्दा स्थानीय १३ परिवार पहिरोको जोखिममा परेको बताइएको छ । गएको जेठमा ठेकेदारले जथाभावी सडक निर्माण गर्दा बस्तीमा पहिरो खसेको स्थानीयले बताएका छन् ।  

राति खाना खाएर आराम गर्न बसेका बेला पहिरो खस्दा स्थानीयले भागेर ज्यान जोगाउन सफल भएको जस्विरसिंह साउदले बताउनुभयो । उहाँले पहिरो खसेको विषयमा सिगास गाउँपालिका –२, गाँजरीमा रहेको प्रहरी चौकीलाई खबर गरेको बताउनुभयो । 

बस्तीमा पहिरो खसेपछि हामी सुरक्षित स्थानतर्फ हिँडेका छौं, साउदले भन्नुभयो, “ढुङ्गा खस्नेक्रम रोकिएको छैन । घटनाबारे प्रहरीलाई खबर गरेका छौं । पशु चौपाया र बालबच्चासहित हामी सिन्याखेत पारी अर्को बस्तीतर्फ लागेका छौं ।” 

थप विवरण बुझ्न गाउँपालिकाको टोली घटनास्थलतर्फ पठाउने तयारी भइरहेको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताउनुभयो । 

पहिरोको क्षतिबारे विस्तृत विवरण बुझेर विस्थापितलाई सुरक्षित स्थानतर्फ सार्न गाउँपालिकासँग समन्वय भइरहेको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताउनुभयो ।