• २० असोज २०८१, आइतबार

निर्णय (निबन्ध)

blog

म र मेरा श्रीमान् अभयबिच दाम्पत्य सम्बन्ध स्थापित भएको ठ्याक्कै १० वर्ष भयो । हाम्री छोरी नूतन सात र छोरो नरेन्द्र पाँच वर्षमा हिँड्दै छन् । दिदीभाइ घरनजिकैको एक अङ्ग्र्रेजी स्कुलमा पढ्दै छन् । अभय चाहिँ उच्च माविमा गणित विषयका विद्यार्थीलाई अध्यापन गराउनुहुन्छ । अभय अफिसको काम लिएर केही दिनका लागि काठमाडौँ जानुभएको छ । अहिले बच्चाहरू विद्यालय गएका छन् । यस मानेमा हाम्रो परिवार सानो छ तर धेरै सानो चाहिँ अवश्य होइन । किनभने एउटा मात्र सन्तानमा चित्त बुझाउनेहरूको जमात पनि समाजमा दिनप्रतिदिन बढ्दो छ । म परेँ गृहिणी । म अक्सर घरमै बस्छु । फूलहरू गोड्छु । पत्रपत्रिका पढ्छु । कहिलेकाहीँ टिभीमा मन परेका सिरियल हेर्छु । बस यसरी नै मेरो समय बितिरहेको छ ।

हिजो मेरो साथी आकाङ्क्षासित भेट भएको थियो । उनी भन्दै थिइन्, “के छ खबर तिर्सना दिदी तपाईंको ? तपाईं त एकदम फुर्तिली देखिनुहुन्छ नि ! एकदमै स्वस्थ पनि । कुनै परिवर्तन नै छैन तपाईंमा विवाहपछि र विवाहअघिमा ? भिनाजुले धेरै माया गर्नुहुन्छ कि कसो !”

“त्यस्तो केही होइन हौ आकाङ्क्षा बैनी, सबै ठिकै छ मेरो ! तिमी पनि त उस्तै छौ नि ! अनि तिम्रा बच्चाहरूलाई कस्तो छ ? प्रवेशको के छ नि  ?” मैले आकाङ्क्षालाई भनेँ ।

उनले अलि गम्भीर हुँदै भनिन्, “बस हामी पनि बाँचेका छौँ दिदी । उहाँको ताल त्यही हो । अँ नानीहरूलाई चाहिँ राम्रै छ, पढ्दै छन् ।”

यत्तिकैमा आकाङ्क्षा र म छुट्टियौँ ।

आज मलाई किन किन आफ्ना बितेका क्षणहरूमा साक्षात्कार हुन मन लागेको छ । ती क्षणहरूमा रोटेपिङ झैँ घुम्न मन लागेको छ । म बाआमाकी पाँच सन्तानमध्ये अन्तिम सन्तान अर्थात् दुई दाजु र दुई दिदीकी कान्छी बहिनी । त्यसै पनि सबैकी प्यारी थिएँ । मेरो दुःखसुखमा सबै जना मरिमेट्थे । मैले मागेको कुरा बाबाले जसरी नि पूरा गर्नुहुन्थ्यो । अतः सबैले मलाई मायाले सजाउनुभयो । विद्यालय जाँदा दाजुहरू पालो गरी गरी लैजानुहुन्थ्यो । ल्याउँदा दिदीहरू साथै हुनुहुन्थ्यो । म कतिबेला बालिकाबाट किशोरी हुँदै जवान भएँ । उहाँहरूको छत्रछायाँमा मलाई पत्तै भएन । म सानै भएर बढँे । अनि एक दिन दाजु, दिदीहरूको विवाह भयो । ठुलो दाजु अलग घरमा बस्न थाल्नुभयो भने दिदीहरू पनि घरजम गरेर आफ्नै घरमा जानुभयो । सानु दाजु व्यापारतिर लाग्नुभयो । मैले धेरै पढ्न सकिनँ । बिएसम्म पढेर घरमै थन्किएँ ।

म अब बुझ्ने भइसकेकी थिएँ । समाज र आफ्नो कर्तव्यको मलाई अवगत थियो । खास गरी महिला भएकोमा समाजका मान्छेले हामीलाई हेर्ने दृष्टिकोणको बारेमा । यसैबिच मेरो विवाहको चर्चा पनि चल्न थालेको थियो । दिदीहरूको माध्यमबाट यस्ता कुरा उठ्थे । कुनै बेला खाना खाने बेलामा अघोषित रूपमा यस्ता कुराले झन् प्रश्रय पाउँथे । म चुपचाप आफ्नो खाना खाएर निक्लन्थेँ तर यी कुराले मलाई त्यति असर पारेको थिएन । एक दिन न एक दिन मैले परपुरुषसित सम्झौता गर्नै पथ्र्याे । अरू महिलालाई जस्तै मलाई यो कुराको राम्रो हेक्का थियो । अनि अर्काे कुरा, घरबाट बाहिर निस्केपछि हाटबजार मेलापात जाँदा जतासुकै युवकहरूले आङ मर्काएको, बिनाप्रसङ्ग सिलसिला जोडी गफ गर्न खोजेको, बोल्दाखेरि आँखामा आँखा राखेर पढ्ने चेष्टा गरेको मैले अनुभव गरेकी थिएँ । यी सबै घट्नाव्रmमले मलाई एक पूर्ण नारीमा आफूलाई पदार्पण गरेको सङ्केत छोडेका थिए । भित्रभित्रै यो सबै सम्झेर म लजाएर रातोपिरो हुन थालेकी थिएँ तर विवाहको कुरा भने मैले दाजु, दिदी र बाआमालाई छोडेकी थिएँ । किनभने म उहाँहरूको चित्त दुखाउन चाहन्नथेँ । खासमा परिस्थितिको अध्ययन गर्दै थिएँ ।

केटाहरू मलाई हेर्न आउन थालेका थिए तर तिनीहरू सबैमा आआफ्नै विशेषता थिए । कोही गफाडी त कोही धनको डङ्का पिट्थे । कोही भने म यति पढेको हुँ तिम्रो पनि मार्कसिट हेरौँ भन्थे । कोही चाहिँ पढाइ, सम्पत्ति केही चाहिन्न तर कन्याको वास्तविक उमेर कति हो, जुर्छ जुर्दैन, पण्डितलाई चिना देखाऊँ भन्थे तर यी सबैका जवाफमा बाआमाद्वारा उताका बारेमा गोप्य रूपमा बुझ्न पठाइन्थ्यो । 

आफ्नो हैसियतभन्दा तल लागेमा छोरीले अझै पढ्छु भन्दै छे भनेर किनारा लगाइन्थ्यो । कहिले चाहिँ भाउजूहरू हेर्न आएका केटाहरूलाई कालो भयो भन्नुहुन्थ्यो । यसरी म भेडाबाख्रा जस्तो मोलतोलमा जिन्दगी काट्दै थिएँ । हरेक सर्त राख्ने पुरुषसित म कस्तो मायाको अपेक्षा राखौँ, मैले बुझ्न सकेको थिइनँ । गाउँकाले भने मलाई बिहे नहुने भो भन्दै कानेखुसी गर्न थालेका थिए । के थाहा उनीहरूलाई मेरो आफन्तले गरिब रैछ भनेर भड्काएको कुरा । केटा पक्षले मेरा गरिब बाआमासित दाइजो मागेको कुरा तर यी तानाबानाका बिच पनि हतास भइनँ ।

पुरुषप्रतिको मेरो मान्यता अपाच्य थिएन । अरूको जस्तै सरल थियो । म सोच्थँे, केटा गरिब होस् या धनी, पढेको होस् या नपढेको, कालो होस् या गोरो । मन फराकिलो भएको होस्, जुनसुकै काम गर्दा नलजाउने होस्, समाजको अघि शिर ठाडो गरेर हिँड्ने होस्, दुःखसुखमा साथ निभाउने होस् तर माथिका छोडिए  । त्यसमा मेरो दोष थिएन । यसको सबै बेलिविस्तार मैले माथि लगाएकी छु । किनभने बेहुलाका बारेमा फैसला गर्ने अधिकार बाआमामा मात्र निहित थियो ।

अँ माथिको सिलसिला जोडाँै । बाबाआमाको इच्छा जसरी नि मेरो विवाह गर्ने थियो तर केही मिलिरहेको थिएन । म यो सबै बुझी बुझी बढ्दै थिएँ । साथै म कठोर पनि हुँदै थिएँ । मैले नि सही समयमा सही निर्णय गर्नुपर्ने स्थिति पैदा भएको थियो । मभित्र आफैँले केही गर्नु पर्छ भन्ने चुनौती थपिएको थियो । यही बखत मेरी अर्की साथी आरतीले यौटा केटाको प्रस्ताव लिएर आइन् । मेरो र त्यो केटाबिच दुई÷चार पटक आआफ्ना विचार आदानप्रदान गर्ने प्रबन्ध पनि आरतीबाट भयो । ऊ नारीप्रति खुलस्त र नारीहरूको आरक्षणविरोधी थियो । 

नारी सक्षम छ भने उसलाई घरबाहिरको संसारमा टेकेर काम गर्न दिनु पर्छ । केटा जत्तिकै प्रतिस्पर्धामा जाने नारीलाई स्थान दिनु पर्छ भन्थ्यो । उसका बाआमा थिएनन् । एक्लो थियो । मलाई किन किन उसको विचार र उसको पारिवारिक पृष्ठभूमिले आकृष्ट ग¥यो । मैले उसलाई हाम्रो विवाहबारे मेरा बाआमाअघि प्रस्ताव राख्न अनुरोध गरेँ । अनि बाआमालाई मैले यसो भनेँ कि मेरो ऊ नै अन्तिम वर हो । यो केटा छुटेमा म बिहे नै गर्ने छैन । एक्लै बस्छु भनेँ । किनभने एक्लै जीवन बिताउने महिला पुरुषहरू पनि समाजमा देखिन थालेका थिए । बाआमाले मेरो चुनौतीलाई गौण ठान्नुभयो र छोरीकै खुसीका लागि हो भनेर अन्ततः सहमति जनाउनुभयो । त्यो योग्य पुरुषको नाम थियो, अभय क्षेत्री । अभय मलाई हर समयमा साथ दिनुहुन्छ । अहिले म खुसी छु । यसरी हाम्रो दाम्पत्य जीवनको यात्रा सुरु भयो ।