• १ साउन २०८१, मङ्गलबार

ट्रम्पको हत्या प्रयासपछि अमेरिकी सिक्रेट सर्भिस समीक्षाका लागि सहमत

blog

वासिङ्टन, साउन १ गते । ठुलो सुरक्षा विफलताका लागि बढ्दो दबाबमा अमेरिकी सिक्रेट सर्भिसले सोमबार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एक सुटरले गोली चलाएपछि स्वतन्त्र समीक्षामा सहयोग गर्ने वाचा गरेको छ ।

अठहत्तर वर्षीय ट्रम्प शनिबार पेन्सल्भेनियामा एक चुनावी र्‍यालीमा हत्या प्रयासबाट बच्नुभयो । उक्त निर्लज्ज आक्रमणले नोभेम्बरको मतदानअघि गहिरो ध्रुवीकरण भएको मुलुकलाई स्तब्ध बनाएको छ ।

“के भयो, कसरी भयो र यस्ता प्रकारका घटना फेरि नदोहोरियोस् भनेर बुझ्न सिक्रेट सर्भिसले सबै सम्बन्धित सङ्घीय, राज्य र स्थानीय एजेन्सीसँग काम गरिरहेको छ”, सिक्रेट सर्भिसका निर्देशक किम्बर्ली चिटलले एक विज्ञप्तिमा भन्नुभयो, “हामी हिजो राष्ट्रपति जो बाइडेनले घोषणा गर्नुभएको स्वतन्त्र समीक्षाको महत्त्व बुझ्दछौँ र यसमा पूर्णरूपमा भाग लिनेछौँ, हामी कुनै पनि निरीक्षण कारवाहीमा उपयुक्त कांग्रेस समितिहरूसँग पनि काम गर्नेछौँ ।”

पेन्सल्भेनियाको बटलरमा एउटा र्‍यालीमा बोल्दै गर्दा धेरै धमाकाको आवाज आएको थियो । ट्रम्पले आफ्नो कान समात्नुभयो, उहाँको कान र गालामा रगत देखिन थाल्यो, फेरि उहाँ भुइँमा लड्नुभयो । सिक्रेट सर्भिस एजेन्टहरूले पोडियममा आएपछि उहाँलाई घेरे र नजिकैको गाडीमा लगे ।

गोली चलाउने व्यक्ति र एक दर्शकको मृत्यु भयो । अन्य दुई दर्शक घाइते भए ।

राष्ट्रपति बाइडेनले यो साताको र्यालीका साथै ट्रम्पलाई पार्टीको राष्ट्रपति पदको उम्मेदवारको ताज लगाइदिने मिलवाकी, विस्किन्सनमा रिपब्लिकन राष्ट्रिय सम्मेलनमा सुरक्षाको पूर्ण समीक्षाको आदेश दिनुभयो ।

पृथ्वीको सबैभन्दा सुरक्षित राजनीतिक हस्तीमध्येका एकबाट करिब पाँच सय फिट (एक सय ५० मिटर) टाढा एउटा छतमा बन्दुकधारीलाई कसरी बस्न अनुमति दिइयो भन्नेबारे सिक्रेट सर्भिस बढ्दो दबाबमा छ ।

मानिसहरूले बन्दुकधारीलाई छतमा देखिरहेको र गाेली चलाउनुभन्दा अघि सुरक्षा चेतावनी दिन खोजिरहेको फोन फुटेजमा देखिएपछि प्रश्न अझ चर्को भयो ।

ट्रम्प सोमबार सम्मेलनमा उपस्थित हुने सेट गरिएपछि चिटलले एजेन्सीले कार्यक्रममा सुरक्षालाई कडा बनाउन काम गरिरहेको बताउनुभयो ।

“सिक्रेट सर्भिसले नेसनल स्पेसल सिक्योरिटी इभेन्ट्स (एनएसएसई) को गतिशील सुरक्षा योजनाहरू डिजाइन गर्दछ जुन गतिशील सुरक्षा वातावरण र हाम्रा साझेदारहरूबाट सबैभन्दा ‘अप–टु–डेट’ खुफिया जानकारीको जवाफ दिन गतिशील हुनसक्छ”, उहाँले भन्नुभयो ।

आइतबार सिक्रेट सर्भिसले सम्मेलनका लागि ‘पूर्णरूपमा तयार’ रहेको बताएको छ । रासस/एएफपी