• ४ जेठ २०८१, शुक्रबार

प्रदीप र सलोनी च्याम्पियन

blog

टेनिसमा उपाधि विजेता खेलाडी । तस्बिर : गोरखापत्र

काठमाडौँ, शाख १७ गते । प्रदीप खड्का र सलोनी तामाङले सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको सिंगल्स उपाधि जित्नुभएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कोर्टमा भएको पुरुष फाइनलमा प्रदीपले प्रणव खनाललाई ६–२, ६–३ को सोझो सेटमा हराउनुभयो । 

प्रतियोगिताको महिला फाइनलमा सलोनीले अभिलाषा विष्टलाई ६–०, २–६, ६–० को सेटमा हराउनुभयो । प्रदीपको यो खैल जीवनको चौथो र सलोनीको पाँचौंँ सिंगल्स उपाधि हो । प्रदीप र सलोनीको जोडीले मिक्स डबल्स पनि विजेता बनेको छ । पुरुष÷महिला सिंगल्सका विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेस्रो हुनेले जनही १० हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

काठमाडौँ जिल्ला टेनिस सङ्घद्वारा आयोजित प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा पूर्व राष्ट्रिय च्याम्पियन जितेन्द्र परियार, ३५ वर्षमाथि पुरुष डबल्समा दावा शेर्पा र जितेन्द्र परियारको जोडी, ४५ वर्षमाथि पुरुष डबल्समा महेश श्रेष्ठ र कृष्णराज घलेको जोडी पहिलो हुनुभयो ।

भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापाले बाजी मार्नुभयो । ५५ वर्षमाथि पुरुष सिंगल्समा विमल गुरुङले जित्नुभयाे । विजेतालाई राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङ, सिटिजन्स बैंकका अध्यक्ष राजनसिंह भण्डारी, आयोजक संघका अध्यक्षसमेत रहेका नेपाल टेनिस सङ्घका महासचिव मनोहरदास मुललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । 

सदस्य सचिव घिसिङले खेल क्षेत्रको विकासमा निजी क्षेत्रको पनि महत्वपूर्ण योगदान रहेको बताउँदै टेनिस प्रतियोगितालाई मुख्य प्रायोजन गरेकोमा सिटिजन्स बैंकप्रति आभार प्रकट गरे । बैशाख ११ गतेदेखि सुरु प्रतियोगितामा एक सय ७८ खेलाडीले विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । सबै स्पर्धामा विजेतालाई नगद पुरस्कार प्रदान गरियो ।