• ६ जेठ २०८१, आइतबार

पाल्पामा ७५ जनाको उम्मेद्वारी फिर्ता

blog

रेखीराम राना

पाल्पा, बैशाख १७ गते । पाल्पामा ७५ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । विभिन्न दलमा आबद्ध र स्वतन्त्र रुपमा उम्मेदवारी दिएका ७५ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । ७५ जना उम्मेदवारले मनोनयन फिर्ता लिएपछि जिल्लामा एक हजार ७२ जनाको मात्रै विभिन्न पदमा उम्मेद्वारी कायम भएको जिल्ला निर्वाचन अधिकारी रुक्मागत अर्यालले जानकारी दिनुभयो । 

जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा गठबन्धन दलसँग रुष्ट रहेका स्वतन्त्र उम्मेदवारसहित १७ जनाको फिर्ता भएको छ । यस्तै रिब्दीकोटमा आठ, तानसेनमा आठ, बगनासकालीमा १९, तिनाउमा ६, माथागढीमा तीन जना उम्मेदवारले मनोनयन फिर्ता लिएको निर्वाचन अधिकारी अर्यालले जानकारी दिनुभयो । यस्तै पूर्वखोलामा एक, निस्दीमा एक र रामपुरमा १२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । रम्भामा भने कसैले पनि उम्मेदवारी फिर्ता नलिएको उहाँले बताउनुभयो । 

उम्मेदवारी फिर्ता लिएपछि रैनादेवी छहरामा एक सय दुई, रिब्दीकोटमा ९२, बगनासकालीमा एक सय ४६, तिनाउमा ७६, माथागढीमा एक सय ३३, निस्दीमा ८३, पूर्वखोलामा ७१, रम्भामा ६१, रामपुरमा एक सय २६ र तानसेनमा एक सय ८२ जनाको उम्मेद्वारी कायम भएको छ । उम्मेद्वारी फिर्ता लिनेमा अधिकांश काङ्ग्रेस, एमाले, माओवादीसँग रुष्ट बनेका कार्यकर्ता थिए । पार्टीको निर्देशन अनुसार आफूहरूले उम्मेदवारी फिर्ता लिएको उनीहरूको भनाइ छ । 

यसैबीच जिल्लामा विप्लव नेतृत्वको नेकपाका नेताहरूले समेत उम्मेदवारी फिर्ता लिनुभएको छ । तिनाउ गाउँपालिकामा छ र रैनादेवी छहरामा दुई जनाले उम्मेदवारी दिएकोमा सबैले फिर्ता लिएको नेकपा पाल्पाका पूर्व सेक्रेटरी भुवन जिसीले जानकारी दिनुभयो । तिनाउमा एमालेसँग सहकार्य गर्ने गरी सबैले उम्मेदवारी फिर्ता लिएको उहाँले जानकारी दिनुभयो ।