• ४ जेठ २०८१, शुक्रबार

गोपीचन्द्र र राजपुरालाई उपाधि

blog

१० किलोमिटर दौडका विजेता खेलाडीलाई पुरस्कार प्रदान गर्नुहुँदै काँग्रेस नेता प्रकाशमान सिंह । तस्बिर सौजन्य : राजीव श्रेष्ठ

काठमाडौँ, वैशाख १७ गते । एपिएफ क्लबका गोपीचन्द्र पार्की र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले वीर गणेशमानसिंह स्मृति १० किलोमिटर रोडरेस प्रतियोगिताको उपाधि जित्नुभएको छ । वीर गणेशमानसिंह फाउन्डेसनको स्पोर्ट्स कमिटिले शनिबार आयोजना गरेको प्रतियोगिताको पुरुषतर्फ पार्कीले निर्धारित दूरी ३१ मिनेट ११.४ सकेन्डमा पार गर्नुभयो । उहाँले यसअघि आफ्नै नाममा रहेको ३१ मिनेट ४४.४९ सेकेन्डको कीर्तिमान समेत तोड्नुभएको छ । 

पुरुषतर्फ आर्मी क्लबका दीपक अधिकारी ३१ मिनेट १५.२ सेकेन्ड र आर्मीकै राजन रोकाया ३१ मिनेट २०.४ सेकेन्डमा दूरी पार गर्दै दोस्रो र तेस्रो हुनुभयो । महिलतर्फ राजपुराले निर्धारित दूरी ३७ मिनेट १०.५ सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमानसहित उपाथि जित्नुभएको हो । उहाँले यसअघि सन्तोषी श्रेष्ठको नाममा रहेको ३७ मिनेट ५३.४५ सेकन्डको कीर्तिमान भंग गर्नुभयो ।

दोस्रो हुनुभएको एपिएफकी पुष्पा भण्डारीले ३८ मिनेट ४.३ सेकेन्ड र तेस्रो बन्न सफल एपिएफकै विन्द्रा श्रेष्ठले ४० मिनेट २८.९५ सेकेन्डमा निर्धारित दूरी पार गर्नुभयो । उपाधिसँगै १० किलोमिटरतर्फका विजेताले ६० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले १५ हजार रुपियाँ पुरस्का पाउनुभयो । नयाँ कीर्तिमान रच्नेलाई जनही थप १० हजार रुपियाँ प्रदान गरियो । 

पाँच किलोमिटर दौडतर्फ पुरुषमा आर्मीका मुकेश पाल र महिलामा एपिएफकी फुलमती राना पहिलो हुनुभयो । पुरुषमा एपिएफका सन्तोष बिक्रम विष्ट दोस्रो र आर्मीका सुवास कार्की तेस्रो हुनुभयो । महिलामा आर्मीकी निर्मला केसी दोस्रो र आमीकै पूर्णलक्ष्मी न्यौपाने तेस्रो हुनुभयो ।

पाँच किलोमिटरतर्फको विजेताले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले सात सात हजार रुपियाँ पुरस्कार पाउनुभयो । विजेतालाई नेपाली कांग्रेसका नेता एवं स्वर्गीय गणेशमानका छोरा प्रकाशमान सिंह, फाउन्डेसन अन्तर्गत स्पोर्ट्स समितिका सल्लाहकार राजीव श्रेष्ठ, संयोजक संजीव तुलाधर, ओलम्पियन जितबहादुर केसीलगायतले पुरस्कार प्रदान गर्नुभयो।