• २१ असार २०८१, शुक्रबार

बेनी–जोमसोम सडकको बैसरीमा पहिरोले भ्यान पुरियो

blog

पहिरो खसेर पुरिएको सवारीसाधन । तस्विरः ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, असार १९ गते । राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम सडक अन्तर्गत बैंसरीमा सडकमाथिबाट खसेको पहिरोले सवारीसधान पुरिएको छ । 

पहिरो खसेपछि अहिले यातायात अवरुद्ध भएको छ । बर्खामा बैंसरी खण्डमा यात्रा निकै जोखिम हुनेगरेको स्थानीयको भनाइ छ । मुस्ताङबाट यात्रु लिएर फर्किदै गरेको बा ०२६ च ७०५३ नम्बरको इको भ्यान म्याग्दीको रघुगंगा गाउँपालिका –२ मा पर्ने बैंसरी पहिरोमा मङ्गलबार राति साढे ८ बजे पुरिएको हो । 

यात्रुको भने तत्काल उद्धार गरिएकाले कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो । भ्यान पहिरोमा पुरिँदा क्षति पुगेको छ ।  

सडक माथिबाट पहिरो खसिरहेको छ बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले भन्नुभयो ‘‘सडकमा खसेको पहिरो पन्छाएर केहीबेर यातायात सञ्चालनमा आएको थियो । अहिले पनि पहिरो खस्नेक्रम रोकिएको छैन । पहिरो झरिरहेकाले भ्यान निकाल्न सकिएको छैन ।’’ 

म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तर्गत करिब आधादर्जन स्थानमा बर्षातको समयमा पहिरोले सडक अवरुद्ध गर्ने गरेको छ ।

बैसरीको बैकल्पिक बाटो चमेरे–राखु–पिप्लेबेगखोला सडक खण्डको बैकल्पिक कच्ची मार्गसमेत जोखिमपूर्ण छ । बर्खाको समयमा सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई आवतजावत गर्न समस्या हुनेगरेको छ ।