• १६ भदौ २०८१, आइतबार

दाङमा १७६ को उम्मेदवारी फिर्ता

blog

घोराही, वैशाख १६ गते। दाङमा स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनुभएका १७६ जनाले उम्मेदवारी फिर्ता लिनुभएको छ। 

जिल्लाका दशवटै पालिकाहरुमा प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षसहित वडा अध्यक्ष र सदस्यका लागि उम्मेदवारी दर्ता गरानुभएका दुई हजार ४१२ उम्मेदवार मध्य १७६ जनाले उम्मेदवारी फिर्ता लिनुभएको हो। 

उम्मेदवारी फिर्ता लिनेमा दुईजना उपमहानगरपालिका प्रमुख, दुई गाउँपालिका अध्यक्ष, १२ जना वडाध्यक्ष र बाँकी सदस्यहरु पदका उम्मेदवारहरु रहनुभएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।

 घोराही उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका श्रीमनकुमार शर्मा न्यौपाने, तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका धर्मराज पाण्डेय, राजपुर गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका सर्जुप्रसाद यादव र राप्ती गाउँपालिकामा नेकपा एकीकृत समाजवादीबाट गाउँपालिका अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएका सीता नेपालीले उम्मेदवारी फिर्ता लिएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभएको छ। 

उहाँका अनुसार, उम्मेदवारी फिर्ता लिनेमा सबैभन्दा धेरै तुलसीपुर उपमहानगरपालिकामा ९६ जना छन्। त्यसैगरी, घोराही उपमहानगरपालिकामा १८ जना, बबई गाउँपालिकामा १४ जना, दंगीशरण गाउँपालिकामा १३ जना, राप्ती गाउँपालिकामा ९ जना, गढवा गाउँपालिकामा ८ जना उम्मेदवार हुनुहुन्छ। 

त्यसैगरी, लमही नगरपालिकामा ७ जना, राप्ती गाउँपालिका र शान्तिनगर गाउँपालिकामा ५/५ जना र बंगलाचुली गाउँपालिकामा एकजना उम्मेदवार रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ। निर्वाचन कार्यालय दाङका अनुसार अब जिल्लाका दशवटा स्थानीय तहमा दुई हजार २३६ जना उम्मेदवारहरु कायम रहेका छन्।