• १६ असार २०८१, आइतबार

मेलम्ची बन्द भएपछि बर्खाभरी सुन्दरीजलको पानी ल्याइँदै

blog

मेलम्चि खानेपानी मुहान । फाइल तस्विर

काठमाडौं, असार १३ गते । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले मेलम्ची खानेपानी पथान्तरण बन्द भएसँगै सुन्दरीजल धापबाट बर्खाभरिका लागि पानी ल्याउने तयारी गरेको जनाएको छ । 

केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईका अनुसार मेलम्चीको पानी बन्द हुने विषयलाई मध्यनजर गर्दै केयुकेएल र काठमाडौँस्थित सुन्दरीजलको धाप ड्यामबिच पानी ल्याउने सम्झौता भएको छ । 

राईले भन्नुभयो, “पानी बन्द हुने कुरालाई मध्यनजर गरेर केयुकेएल र सुन्दरीजलको धाप ड्यामबिच सम्झौता भएको छ । हामीले दैनिक चार करोड लिटर पानी धाप ड्यामबाट लिने सम्झौता भएको हो ।”

उहाँले जमिन मुनिका पानीलाई वैकल्पिक स्रोतका रूपमा लिन सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “स्थिति हेरेर हेरेर ग्राउन्ड वाटरहरूको प्रडक्सन बढाउन सकिन्छ । सरफेस सोर्स बर्खा नभईकन बढ्ने सम्भावना देखिँदैन । सबैलाई अध्ययन गरेर हामीले वितरण तालिका तयार गर्ने क्रमलाई पनि एउटा रणनीतिको रूपमा लिन्छौँ ।”  खानेपानी वितरणको तालिका केही दिनभित्रै तयार हुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “पानी पर्ने क्रम बढ्न थालेपछि स्रोतहरू पनि बढ्छ, त्यसपछि अलि सहज स्थिति आउँछ । पहिलाको तुलनामा पानी अभाव त हुन्छ तर, मेलम्ची आउँदा पनि २४ सै घण्टा पानी दिन सक्दैनौँ । त्यसो भएन भने अलि दिन ग्याप बढाउनुपर्ने हुन सक्छ ।”

केयुकेएलले सुख्खा याममा दैनिक दशदेखि ११ करोड लिटर र बर्खा याममा १५ देखि १७ करोड लिटर पानी वितरण गर्दै आएको छ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका सूचना अधिकारी सन्तोष बरालले मेलम्ची खानेपानी बन्द भएपछि सुन्दरीजल धाप ड्याम उपयुक्त वैकल्पिक स्रोतका रूपमा रहेको बताउनुभयो ।

खानेपानी व्यवस्थापन बोर्डका सूचना अधिकारी सन्तोष बरालले मेलम्ची खानेपानी बन्द भएपछि सुन्दरीजल धाप ड्याम उपयुक्त वैकल्पिक स्रोतका रुपमा रहेको बताउनुभयो ।

बरालले भन्नुभयो, “सुन्दरीजलमा जुन बागमतीबाट ल्याएको पानी छ, धापको ड्याम खोलेर गर्ने कि भन्ने विषयमा छलफल भइरहेको छ । जहाँसम्म उपयुक्त विकल्प त्यही नै हुन्छ । बागमतीको पानी डाइभर्ट र प्रशोधन गरेर बाँडिराख्छौं, त्यसरी नै व्यवस्थापन गर्ने कुरा छ ।”

मेलम्ची खानेपानी विकास समितिले असार १० गते सोमबारदेखि मनसुन अवधि नसकिएसम्म पानी पथान्तरणको कार्य बन्द गरिसकेको छ । २०७८ असार १ गते र सोही वर्षको साउन १६ र २७ गते मेलम्ची नदीमा आएको विनाशकारी बाढीबाट मेलम्ची खानेपानी आयोजनाको अम्बाथानस्थित मुहानको ढोका, हेडवक्र्स र पहुँचमार्ग लगायतका संरचनाहरू पूर्णरुपमा क्षति भई मुख्य प्रणाली बन्द भएको थियो । 

त्यसयता हरेक वर्ष मनसुन समाप्त भएपछि वैकल्पिक प्रणालीका अवयवहरूमा आवश्यक सफाइ तथा मर्मत सम्भार गरी अस्थायी रूपमा काठमाडौँ उपत्यकामा पानी पथान्तरण हुँदै आएको छ । 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।