• २९ असोज २०८२, बुधबार

लैनचौरबाट सुरु भयो चिप्समा आधारित डिजिटल ठेगाना प्रणाली

blog

लैनचौरस्थित वडा कार्यालयमा ०९–लक्ष द्रव्य ६१११ नम्बरको प्लेट जडान गर्दै वडाध्यक्ष एवं महानगरपालिकाको सुशासन समितिका संयोजक ख्यामराज तिवारी । तस्बिर : काठमाडौं महानगरपालिका

  • ४५ लाख लागतमा सुरु डिजिटल ठेगाना, घर–घरमा क्युआर कोड र चिप्सयुक्त प्लेट जडान
  • एनएफसी चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली काठमाडौँ महानगरपालिका–२६ लैनचौरबाट सुरु भएको छ।
  • २०८२ कार्तिक मसान्तसम्म ६ हजार ८५० घरमा क्युआर र चिप्सयुक्त ठेगाना प्लेट जडान गर्ने लक्ष्य राखिएको छ।
  • डिजिटल ठेगाना प्रणाली विद्युतीय शासन र नागरिक सहभागिताको आधार बन्ने वडाध्यक्ष ख्यामराज तिवारीको भनाइ।

 गोरखापत्र अनलाइन 

काठमाडौं, असोज २९ गते । काठमाडौँ महानगरपालिकाको वडा नम्बर २६ लैनचौर क्षेत्रबाट एनएफसि (नियर फिल्ड कम्युनिकेसन) चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली जडान प्रारम्भ भएको छ । लैनचौरस्थित वडा कार्यालयमा ०९–लक्ष द्रव्य ६१११ नम्बरको प्लेट जडान गर्दै वडाध्यक्ष एवं महानगरपालिकाको सुशासन समितिका संयोजक ख्यामराज तिवारीले प्रणाली शुभारम्भ गर्नुभएको हो । वडापछि अल्का बस्ती मार्ग, लैनचौर मार्ग हुँदै प्लेट जडान गरिनेछ । प्रणाली खरिद तथा जडान कार्यका लागि वडाले आर्थिक वर्ष २०८१÷८२ मा थालेको सार्वजनिक खरिद प्रक्रिया टुङ्गिएपछि प्लेट जडान थालिएको हो । यसको लागत ४५ लाख रुपियाँ हो । छ हजार ८५० घर संख्या रहेको वडाभित्र २०८२ कार्तिक मसान्तभित्र प्रणाली जडान गरिसक्ने योजना छ । यो कामको जिम्मा जेबिएस इन्फ्रास्ट्रक्चरले पाएको छ । 

काठमाडौँ महानगरपालिकाले विगत दुई दशक देखि मेट्रिक ठेगाना प्रणाली कार्यान्वयन गरेको थियो । यो प्रणालीलाई रुपान्तरण गर्दै वडा नम्बर २६ ले प्रविधि सुहाउँदो डिजिटल ठेगाना प्रारम्भ गरेको हो । वडाध्यक्ष तिवारीका अनुसार पुरानो ठेगाना तथा बाटोका नामहरुलाई यथावत राखी क्युआर कोड र चिप्स सहितको ठेगाना प्लेट जडान हुनेछ । 

उहाँले भन्नुहुन्छ, ‘‘जडान गरिएको ठेगाना प्लेटमा नेपाली स्थानीय कोडसँगै युनिभर्सल गुगल प्लस कोड हुनेछ । प्लेट जडान भएका घरमा घरधनीहरुले प्लेटको फोटो पठाए मात्र पुग्छ । यसमा भएको क्युआर स्क्यान गरेपछि लोकेसनमा पुग्न सकिन्छ ।’’ 

एलमुनियममा लेजर मार्फत खोपेर तयार गरिएको एनएफसि ठेगाना प्लेटमा खानेपानी, बिजुली, इन्टरनेटलगायत सेवासँग सम्बन्धित ग्राहक नम्बर राखिएको छ । यसमा राखिएको आइडी नम्बर कतै दोहोरिँदैन । यो आइडी तथा ठेगाना, कोड अफ लाइनमा समेत खोज्न सकिने गरी बनाइएको छ । 

नम्बर प्लेटमा राखिएको क्युआर कोडको प्रयोगले घरमा आउने पाहुनाले डोर बेलको रुपमा प्रयोग गर्न सक्छन् । फोहर संकलनको जानकारी दिन, कुनै सर्भे गर्न, स्थानीय स्तरबाट कुनै सूचना प्रवाह जस्ता अत्यावश्यक कामका लागि छिटो र न्यून लागतमा काम गर्न सकिन्छ । 

वडाध्यक्ष तिवारी भन्नुहुन्छ, ‘‘यो काम विद्युतीय शासनका लागि महत्वपूर्ण आधार हो । विद्युतीय प्रतिस्पर्धा, विद्युतीय डेलिभरी, विद्युतीय हाजिरी, बायोमेट्रिक्स, विद्युतीय सिफारिस, विद्युतीय चिठ्ठी पत्र, विद्युतीय टिप्पणी जस्ता विद्युतीय सेवा प्रक्रिया महानगरपालिकाले कार्यान्वयनमा ल्याइसकेको छ ।’’


तिवारी भन्नुहुन्छ, ‘‘विद्युतीय शासनको पहिलो पूर्वाधार भनेकै सेवाग्राहीको घर र ठेगाना प्रणाली हो । यसबाट विद्युतीय नागरिक सहभागिता सुनिश्चित गराउन सकिन्छ । यो भनेको शासन प्रणालीमा नागरिकको प्रत्यक्ष सहभागिता हुने अवसर हो । आफू बसेकै ठाउँबाट सेवा प्राप्त अवस्था हो । यो आधारमा टेकेर धेरै काम गर्न सकिन्छ । यो प्रविधि अन्य वडामा पनि विस्तार हुँदै जानेछ ।’’ 

यसअघि हामीलाई करदाता र सेवाग्राहीको पहिचान गर्न नै कठिन थियो । आज प्रदान गरिएको घर नम्बर प्रणालीले सेवा प्रवाह, राजस्व सङ्कलन जस्ता कामलाई स्मार्ट बनाउन सहयोग हुने जानकारी उहाँले दिनुभयो । 

 वडा सचिव केदार रिमाल भनुहुन्छ, ‘‘प्रकोपका समयमा घटनास्थलमा छिटो पुग्न, आवश्यकताका आधारमा खोज तथा उद्धार र राहतका काम गर्न तथा यस्ता प्रकृतिका सेवाका लागि महत्वपूर्ण आधार बन्नेछ।’’