यदुप्रसाद भट्ट
मनाङ, असोज २९ गते । मनाङका किसान हाइब्रिड स्याउ खेतीतर्फ आकर्षित भएका छन् । उत्पादन राम्रो हुनुका साथै मनग्य आम्दानी गर्न पाएपछि उनीहरू व्यावसायिक रुपमा स्याउ खेतीतर्फ लागेका हुन् ।
सहज र छिटो उत्पादन तथा राम्रो प्रतिफल पाइने भएकाले अहिले घरघरमा हाइब्रिड स्याउ उत्पादनमा लागेको नासोँ गाउँपालिका–८ ताचैका सोलबहादुर गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘रैथाने स्याउभन्दा बढी उत्पादन हुने र आम्दानी पनि वृद्धि हुने भएकाले हाइब्रिड स्याउ लगाएको छु । उत्पादन राम्रो छ । बजारमा पुर्याउन भने सडकका कारण समस्या छ ।’’
रैथाने प्रजातिका स्याउका बिरुवा लगाएको चार÷पाँच वर्षसम्म हुर्किन समय लाग्छ । ‘‘हाइब्रिड प्रजातिको स्याउको बिरुवा लगाएकै वर्षमा उत्पादन सुरु हुन्छ’’, उहाँले भन्नुभयो, ‘‘यसले गर्दा लगाएकै वर्षदेखि आम्दानी हुने भएकाले पनि यसतर्फ किसानको आकर्षण बढ्दै गएको छ ।’’
यहाँ उत्पादित स्याउ टिपेर भदौको दोस्रो साताबाट बजारमा पुर्याउन थालिएको छ । माथिल्लो मनाङ, दानाक्यु, चामे, ताचैलगायत मनाङका विभिन्न स्थानमा उत्पादित स्याउ यतिबेला बजारमा पाउन सकिन्छ । विगतका वर्षहरुमा रैथाने स्याउ उत्पादन, कृषि तथा पशुपंक्षी पालनमा सीमित रहेका मनाङी अहिले हाइब्रिड स्याउ खेती गरी आय वृद्धि गर्न थालेका कृषि ज्ञान केन्द्रका प्रमुख मदन रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हिजोआज मनाङमा कमै मात्रामा रैथाने प्रजातिका स्याउको खेती गरिएको छ । अधिकांश कृषक हाइब्रिड स्याउखेतीतर्फ लागेका छन् ।’’
सहज रूपमा यहाँको स्याउ बजारमा पुर्याउन सके विदेशी स्याउको उपभोगमा कमी आउने उनीहरूको भनाइ छ । सडक सञ्जाल सहज नहुँदा यहाँका स्याउ फार्ममै कुहिएर खेर जाने गर्दछ । नेपाली सहरबजारमा विदेशी स्याउ छ्यापछ्याप्ती बिक्री वितरण हुने गरेको छ । विदेशी स्याउलाई प्रतिबन्ध लगाएर स्याउमा आत्मनिर्भर हुन सके मूल्यसमेत कम पर्ने स्थानीय किसानहरुको भनाइ छ ।
नेपालकै सबैभन्दा ठूलो स्याउ फार्म एग्रो मनाङ पनि मनाङमै छ । तर सडक यातायातको समस्याले बजारसम्म पुर्याउँदा महँगो मूल्य तिर्नुपर्ने हुन्छ ।