• १५ असार २०८१, शनिबार

कटान नियन्त्रण गर्न उखु, बाँस र बगरखेती प्राथमिकतामा

blog

कैलारी गाउँपालिकाको कार्यालय ।

अविनाश चौधरी

धनगढी, असार ११ गते । कैलालीको कैलारी गाउँपालिकाले जैविक तटबन्धको रूपमा उखु तथा बाँस खेती विस्तार र बगर खेतीलाई प्राथमिकता दिने भएको छ । 

सो पालिकामा मोहना, कटैनी, घुरहालगायतका नदीनालाले गरिरहेको कटानलाई नियन्त्रणका लागि उखु तथा बाँस र बगर खेतीलाई प्राथमिकता दिने भएको हो । गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा यी कार्यलाई प्राथमिकतासाथ लागु गरिने उल्लेख गरिएको छ । 

यसैगरी, कृषि उत्पादनलाई अभिवृद्धि गर्न एक वडा एक उत्पादन पकेट क्षेत्र कार्यक्रमलाई निरन्तरताका साथ विस्तार गरिने जनाइएको छ । कृषि पेसालाई व्यवसायमुखी बनाउन नयाँ तथा वैकल्पिक खेती प्रणालीलाई संस्थागत गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । 

कृषकको उत्पादकत्व अभिवृद्धि तथा लागत न्यूनीकरणका लागि विभिन्न निकायसँगको समन्वयमा सहुलियत तथा अनुदानमा कृषि उपकरण तथा औजार उपलब्ध गराइने अध्यक्ष चौधरीले बताउनुभयो । यसैगरी, कृषि मिटर उपलब्धतालाई निरन्तरता दिइने, गुर्गी बाँध सिँचाइ आयोजना निर्माणका लागि प्रदेश तथा नेपाल सरकारसँग आवश्यक पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । 

कृषि विकासका लागि दीर्घकालीन, मध्यकालीन, अल्पकालीन तथा तथा क्षेत्रगत योजनाको निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । कृषिमा आधारित लघु उद्यम कार्यक्रम सञ्चालन गर्ने नीतिको अङ्गीकार र बजेट तथा कार्यक्रमको तर्जुमा गरिने अध्यक्ष चौधरीले बताउनुभयो ।