विनय कर्ण
सप्तरी, फागुन २६ गते । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सप्तरीमा प्रत्यक्षतर्फ झण्डै ७ प्रतिशत मत बदर भएको छ ।
जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा कूल ४ लाख ४६ हजार ४ सय २ मतदाता रहेकोमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा कूल ३ लाख १० हजार ७ सय ४५ मत खसेको थियो । त्यसमध्ये १९ हजार ५ सय ६८ मत बदर भएको प्रत्यक्षतर्फको अन्तिम मतगणना परिणामबाट देखिएको हो ।
यसरी कूल खसेको मत र बदर मतको तथ्याँकलाई विश्लेषण गर्दा जिल्लामा ६ दश्मलव ७२ प्रतिशत मत बदर भएको छ ।
सप्तरीको क्षेत्र नम्बर १ मा ७६ हजार १ सय २५ मत खस्दा ४ हजार ८ सय १, क्षेत्र नम्बर २ मा ६८ हजार ५ सय ६ मत खस्दा ५ हजार ७ सय २३, क्षेत्र नम्बर ३ मा ७४ हजार ७ सय ३० मत खस्दा ५ हजार ३ सय ३४ र क्षेत्र नम्बर ४ मा ७१ हजार ८ सय १६ मत खस्दा ३ हजार ८ सय १० मत बदर भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेश कुमार जोशीले जानकारी दिनुभयो ।
यसरी बदर भएका मतपत्रको प्रकृति हेर्दा कतिपय मतपत्रमा दुईवटा चुनाव चिन्हमा छाप लगाइएको, कोठा बाहिर छाप लगाइएको तथा ल्याप्चे लगाइएको पाइएको छ । प्रत्यक्ष र समानुपाति तर्फको मतपत्रमा छुट्टाछुट्टै चिन्हमा स्वतिक लागाउनुपर्ने कि रु अलमलमा मतदाता परेको कारण पनि मतपत्र बदर भएको हुन सक्ने जिल्ला निर्वाचन कार्यालयका प्रमुख जोशीले तर्क राख्नुभयो ।
यता निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम प्रभावकारी तुल्याएको दावी गरिरहेको भएपनि परिणाम भने त्यस्तो देखिएको छैन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा देखिएको बदर मतको संख्याले मतदाता शिक्षा कार्यक्रम प्रभावकारी ढंगले कार्यान्वयन हुन नसकेको स्थानिय मतदाताहरुको भनाइ छ ।