• २६ फागुन २०८२, मङ्गलबार

रौतहटमा २२ हजार मत बदर

blog

सञ्जय कुमार मिश्र 

गौर, फागुन २६ गते । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत रौतहट जिल्लामा १ सय २८ जना उम्मेदवारको जमानत जफत भएको छ भने २२ हजारभन्दा बढी मत बदर भएको छ ।

रौतहट जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा कुल १ सय ४२ जना उम्मेदवारले मनोनयन दर्ता गराएकामध्ये मात्र १४ जना उम्मेदवारले मात्र जमानत बचाउन सफल भएका हुन् ।

कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा जमानत जफत हुने कानुनी प्रावधान अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा ३९ जना उम्मेदवार मध्ये ३४ जना निर्वाचन क्षेत्र नम्बर २ मा २६ उम्मेदवार मध्ये २३ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।

निर्वाचन क्षेत्र नम्बर ३ मा ४० उम्मेदवारमध्ये ३७ जना र  निर्वाचन क्षेत्र नम्बर ४ मा ३७ उम्मेदवार मध्ये ३४ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासले बताउनुभयो ।

निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको धरौटी रकम जफत हुने व्यवस्था रहेको समेत जिल्ला निर्वाचन अधिकारी दासले जानकारी दिनुभयो । 

जिल्लाको चारवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा चार लाख ३६ हजार ६११ मतदातामध्ये दुई लाख ९२ हजार ५२९ मत खसेको मतगणना परिणाम अनुसार २२ हजार ९ सय ९३ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी दासले जानकारी दिनुभयो ।