• २६ फागुन २०८२, मङ्गलबार

दादुरा प्रभावित क्षेत्रमा स्वास्थ्यमन्त्री पाठक

blog

बुर्तिवाङ अस्पतालमा दादुराका बिरामीलाई भेट्दै गण्डकीका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक । तस्बिर सौजन्यः सिर्जना पन्त

रामकृष्ण बोहरा

बागलुङ, फागुन २६ गते । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले दादुरा प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ । पश्चिम बागलुङको ढोरपाटन नगरपालिका –७, ८ र ९ मा पर्ने बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँ दादुरा संङक्रमणबाट प्रभावित छ ।

दादुरा संङ्क्रमितको उपचार चलिरहेको बुर्तिवाङ जिल्ला अस्पतालमा सोमबार पुग्नुभएका मन्त्री पाठकले उपचारका कुनै कमि नहुने भन्दै क्रसित नभइ बस्न बिरामी र आफन्तलाई ढाड्स दिनुभयो । पाठकले बिरामीको उपचारमा खटिनुभएका स्वास्थ्यकर्मीलाई आफ्नो स्वास्थ्यको ख्याल गर्दै उच्च मनोबलका साथ काम गर्न आग्रह गर्नुभएको छ । 

दादुरा संङ्क्रमण महामारीको रुपमा फैलिन सक्नेतर्फ सचेत हुँदै स्वास्थ्य संकटग्रस्त क्षेत्र घोषणा गरेर संक्रमितको खोजतलास र उपचारको तयारीमा जुट्न स्वास्थ्यकर्मीलाई मन्त्री पाठकले निर्देशन दिनुभयो । ‘‘तपाईंहरु सघन उपचारको तयारी थाल्नुस्, आवश्यक जनशक्ति र औषधीको व्यवस्थापन मन्त्रालयले गर्छ’’ मन्त्री पाठकले भन्नुभयो । 

दादुरा संङ्क्रमण व्यापक बन्दै गएपछि गण्डकीको स्वास्थ्य मन्त्रालयले बुतिर्वाङ अस्पतालमा ३० वटा बेड, औषधी र आवश्यक सामग्री सोमबार नै पठाएको छ । मन्त्रालयले बिरामीको उपचारमा कमी हुन नदिन धौलागिरी प्रादेशिक अस्पताल बागलुङ र पर्वत अस्पतालबाट समेत स्वास्थ्यकर्मीहरु बुर्तिवाङ अस्पतालमा खटाएको छ ।

उपचारमा खटिएका स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि र अस्पताल व्यवस्थापन समितिसँग छलफल गर्दै मन्त्री पाठकले बिरामीहरुको उद्धार, रोगको उपचार र नियन्त्रणमा प्रदेश सरकार सचेत र प्रतिवद्ध रहेको समेत बताउनुभयो ।  

ढोरपाटनको बोबाङमा देखिएको दादुरा फैलिएर बडिगाड गाउँपालिकासम्म पुगेको छ । बडिगाडका दुई जना बालबालिकामा दादुरा संङ्क्रमण देखिएको छ । ढोरपाटनमा ६१ जनाभन्दा बढी बिरामी पहिचान भएका छन् । ३१ जनाको बुर्तिवाङ अस्पतालको आइसोलेसनमा उपचारपछि केही डिस्चार्ज भएको र नौ जनाको उपचार चलिरहेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले जानकारी दिनुभयो ।    

शर्माका अनुसार हालसम्म लक्षण देखिएकोमध्ये एक जना ९ महिने शिशु र अन्य सबै भ्याक्सिन लगाउने उमेर समूहका बालबालिका दादुराको मिल्दोजुल्दो लक्षण देखिएको छ । दादुरा संक्रमण भएपछि १० देखि १४ दिनमा बिबिरा देखिने र कसैमा संक्रमण भएको दिनदेखि १४ दिनसम्म अरुमा सार्न सक्ने भएकाले ढोरपाटन नगरका विद्यालय बन्द गरिएको छ । 

ढोरपाटनमा फैलिएको दादुरा जिल्लाको निसीखोला गाउँपालिकामा भारतबाट आएका एक जनाबाट फैलिएको जनस्वास्थ्य कार्यालयले आशंका गरेको छ । निसीखोला आएका बालक ढोरपाटन आएको र उहाँबाटै यो क्षेत्रमा फैलिएको भन्ने निचोडमा आफूहरु पुगेको शर्माले बताउनुभयो । ‘‘भारतबाट बालक आएको १० दिनमा बिरामी परेको पाइयो र त्यो ट्राभल हिस्ट्री अनुसार नै यहाँ दादुरा देखिएकोमा हामी ढुक्क छौं’’ शर्माले भन्नुभयो ।

ढोरपाटन क्षेत्रमा दादुरा संक्रमण महामारीको रुपमा देखिन थालेपछि जनस्वास्थ्य कार्यालयले त्यहाँका सबै बालबालिकालाई खोप लगाउने तयारी समेत थालेको छ । ‘‘ढोरपाटनका ६ हजार ७ सय १९ जना बालबालिकालाई खोप लगाईने छ’’ शर्माले भन्नुभयो ।