अमरराज नहर्की
तनहुँ, वैशाख २ गते । ऐतिहासिक एवम् पुरातात्विक महत्त्वका स्थानहरूको प्रवर्धन र वीर पुर्खाहरूको साहसलाई सम्मान गर्दै नेपाली सेनाको आयोजनामा सञ्चालित चौथो ऐतिहासिक ‘गोरखा–जितगढी’ पदयात्रा टोलीले बुधबार तनहुँ खण्डको यात्रा पूरा गर्दैछ । पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा प्रयोग गरेका पदमार्गको प्रचार गर्दै गढी र किल्लाहरूको संरक्षणमा जोड दिइएको यस पदयात्राले तनहुँमा विशेष उत्साह थपेको छ । स्थानीयले बाटो फूल मालाले भव्य स्वागत गरिहेका छन् ।
चैत २८ गते गोरखा दरबारबाट सुरु भई जितगढीसम्मको ३०५ किलोमिटर दूरी पार गर्ने क्रममा सेनानी रोशन अधिकारीको नेतृत्वमा ३५ जनाको टोली तनहुँका विभिन्न ऐतिहासिक मार्गमा हिँडेको छ । शुक्रबार साँझ भानु आइपुगेको टोलीले शनिबार भानुका ऐतिहासिक स्थल, तनहुँसुर दरबार हुँदै चापाघाट र खैरेनीटार ब्यारेक पार गरेको छ ।
पदयात्राका क्रममा तनहुँको भूगोलमा नेपाली सेनाका विभिन्न गणहरूले ऐतिहासिक झण्डा हस्तान्तरण गरेका छन्। भद्रकालीमा रुद्रध्वज गणबाट सुरु भएको झण्डा भद्रदल गण हुँदै व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गणमा आइपुगेको छ ।
आज टोली घिरिङ गाउँपालिकाको धेनुङ देउराली पुगेर श्री ३ नम्बर राजदल गण हुँदै केलादीघाटमा तारादल गणलाई झण्डा हस्तान्तरण गर्नेछ। तनहुँबाट पाल्पा र अन्ततः रुपन्देही पुगेपछि वैशाख ७ गते यो पदयात्रा समापन हुनेछ ।
नेपाली सेनाले राष्ट्रिय एकताको भावना जागृत गर्न, वीर पुर्खाहरूको वीरता र देशको स्वाधीनता रक्षामा र्पुयाएको योगदानलाई युवा पुस्तामाझ र्पुयाउन यो पदयात्राको अगुवाइ गरेको हो। यात्रामा बाजागाजा र पाँच प्रथम कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज) तथा जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डाको सहभागिताले पदयात्रालाई थप गरिमामय बनाएको छ ।