• २६ फागुन २०८२, मङ्गलबार

कालीकोटमा रास्वपासहित ६ उम्मेदवारको धरौटी जफत

blog

कालीकोटमा धरौटी जोगाउन सफल चार उम्मेदवार र धरौटी जफत भएका रास्वपा उम्मेदवार प्रकाश न्यौपाने । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा 

कालीकोट, फागुन २६ गते । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा कालीकोट जिल्लाबाट प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारसहित ६ जनाको धरौटी जफत भएको छ । देशभर रास्वपाले उल्लेख्य सफलता हासिल गरिरहँदा कालीकोटमा भने सो पार्टीले धरौटी समेत जोगाउन सकेन ।

कालीकोटमा दुई स्वतन्त्रसहित आठ दलका १० जना उम्मेदवार चुनावी मैदानमा थिए । तीमध्ये चार दलका उम्मेदवारले धरौटी जोगाएका छन् भने रास्वपासहित अन्य चार दल र दुई स्वतन्त्र उम्मेदवारको धरौटी जफत भएको छ ।

धरौटी जफत हुनेमा रास्वपाका प्रकाश न्यौपाने, राप्रपाका सूर्यबहादुर शाही, नेपाल मजदुर किसान पार्टीका नन्दबहादुर शाही र राष्ट्रिय जनमोर्चाका अजवहादुर गिरी रहनुभएको छ । यस्तै स्वतन्त्र उम्मेदवार अस्मीन कुमार विष्ट र मानबहादुर तिरुवाको पनि धरौटी जफत भएको छ ।

निर्वाचन ऐनअनुसार कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको धरौटी जफत हुने प्रावधान छ । कालीकोटमा खसेको ४१ हजार ३५० मतमध्ये ३९ हजार ३७७ मत सदर भएको थियो । धरौटी जोगाउन उम्मेदवारले कम्तीमा ३ हजार ९३८ मत ल्याउनुपर्नेमा रास्वपाका न्यौपानेले ३ हजार १०१ मत मात्र प्राप्त गर्नुभयो ।

अन्य उम्मेदवारमध्ये राप्रपाका सूर्यबहादुर शाहीले ६०३, नेमकिपाका नन्दबहादुर शाहीले ५९७, राष्ट्रिय जनमोर्चाका अजबहादुर गिरीले १७५, स्वतन्त्र उम्मेदवार अस्मीन कुमार विष्टले ७० र मानबहादुर तिरुवाले ७ मत प्राप्त गर्नुभएको छ ।

कालीकोटमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महेन्द्रबहादुर शाही ११ हजार ७३४ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नगिन्द्र शाही 'नेसनल' ले १० हजार ६४७ मत प्राप्त गर्नुभयो । यस्तै नेपाली कांग्रेसका हर्षबहादुर बमले ७ हजार ४५० र नेकपा (माओवादी) का प्रवक्ता खड्कबहादुर विश्वकर्मा 'प्रकाण्ड' ले ४ हजार ९९३ मत प्राप्त गर्नुभएको छ ।

जिल्ला निर्वाचन अधिकारी विश्वमङ्गल शर्माका अनुसार सदर मतको १० प्रतिशत कटाउन नसकेका कारण ६ जना उम्मेदवारको धरौटी रकम नियमानुसार जफत भएको हो ।

रास्वपाका सात उम्मेदवारको धरौटी जफत

कालीकोटसहित कर्णाली प्रदेशका विभिन्न जिल्लामा रास्वपाका सात उम्मेदवारको धरौटी जफत भएको छ । १० प्रतिशत मत पुर्‍याउन नसकी धरौटी जफत हुनेमा जुम्लाकी बिनिता कठायत, हुम्लाकी टासी ल्हान्जोम, रुकुम पश्चिमका इन्जिनियर मानबहादुर शाही, जाजरकोटका राघव कार्की, डोल्पाका देवसिंह ऐडी र मुगुका भुवन टमटा रहनुभएको छ ।