केशव राज भट्ट
वाशुलिङ बैतडी, फागुन २६ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा समानुपातिकतर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
गएराति सम्पन्न मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा बढी २३ हजार ७३६ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बैतडीमा रास्वपाले प्रत्यक्षतर्फ प्राप्त मतभन्दा समानुपातिकतर्फ बढी मत ल्याएको छ ।
यस्तै, नेकपा (एमाले) ले १६ हजार ४९ मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ भने एमालेका उम्मेदवार दामोदर भण्डारीले १७ हजार ९१ मत ल्याउनुभएको थियो ।
समानुपातिकतर्फ नेपाली कांग्रेस १५ हजार ९०७ मतसहित तेस्रो स्थानमा रहेको छ । प्रत्यक्षतर्फ कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दले १८ हजार १९४ मत प्राप्त गर्नुभएको थियो ।
यसैगरी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले छ हजार ३३५ मत पाएको छ । प्रत्यक्षतर्फ नेकपाका उम्मेदवार परमानन्द भट्टले छ हजार ९६५ मत ल्याउनुभएको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिकतर्फ तीन हजार ४७१ मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ भने राप्रपाका उम्मेदवार भुपेनबहादुर चन्दले दुई हजार ६८१ मत ल्याउनुभएको थियो ।
बैतडीमा समानुपातिकतर्फ ७२ हजार ३०८ मत खसेकोमा चार हजार १२६ मत बदर भएका छन् । यसअनुसार ६८ हजार १८२ मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।