• २६ फागुन २०८२, मङ्गलबार

धनुषाका तीन क्षेत्रमा रास्वपा र एकमा नेकपा विजयी

blog

धनुषा–१ मा निर्वाचित नेकपाका मातृका यादव ।

लक्ष्मी चौधरी

जनकपुरधाम, फागुन २६ गते । धनुषा जिल्लाका चार प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये तीन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र एक क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार निर्वाचित भएका छन् ।

निर्वाचन परिणामअनुसार धनुषामा रास्वपाले उल्लेख्य सफलता हासिल गरेको छ । जिल्लाको क्षेत्र नम्बर २ मा रामविनोद यादव, क्षेत्र नम्बर ३ मा मनिष झा र क्षेत्र नम्बर ४ मा राजकिशोर महतो निर्वाचित हुनुभएको छ । क्षेत्र नम्बर १ मा भने नेकपाका मातृका यादव विजयी हुनुभएको छ ।

धनुषा क्षेत्र नम्बर १ को मत परिणाम विवादका बीच नेकपाका उम्मेदवार मातृका यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भएपछि सो क्षेत्रको परिणाम घोषणासम्बन्धी विषय कानुनी विवादमा परेको थियो । निर्वाचन अधिकृतको कार्यालयले सोमबार अबेर राति यादवलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।

उपलब्ध मतगणना परिणामअनुसार यादव १० हजार ४३० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामपलटन साहले ९ हजार ५०२ मत र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का रामचन्द्र मण्डलले ९ हजार ३१५ मत प्राप्त गर्नुभएको छ ।

रास्वपाका उम्मेदवार साहको उम्मेदवारी खारेज भइसकेकाले उहाँको चुनाव चिह्नमा खसेको मतलाई आधिकारिक परिणाममा समावेश नगरिएको निर्वाचन अधिकृत मनोज बरालले जानकारी दिनुभयो । निर्वाचन आयोगको पत्रअनुसार खारेजीमा परेका बाहेकका उम्मेदवारमध्ये सबैभन्दा बढी मत ल्याउनेलाई निर्वाचित घोषणा गरिएको उहाँको भनाइ छ ।

निर्वाचन अधिकृत बराल भन्नुहुन्छ, “फागुन २९ गतेपछि सर्वोच्च अदालतको आदेशअनुसार थप प्रक्रिया अघि बढ्नेछ । तत्कालका लागि रास्वपाका उम्मेदवार किशोरी साहबाहेकका उम्मेदवारमध्ये पहिलो हुनेलाई निर्वाचित घोषणा गरिएको हो ।”

निर्वाचन आयोगले फागुन १८ गते साहको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो । कर्जा सूचना केन्द्र लिमिटेडको पत्रअनुसार मनोनयन दर्ताकै समयदेखि साह कालोसूचीमा रहेको पाइएपछि प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ (ज) अनुसार उहाँ अयोग्य ठहरिनुभएको हो ।

उक्त निर्णयविरुद्ध साहले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । अदालतले अन्तिम आदेश नआएसम्म धनुषा–१ को मत परिणाम घोषणा नगर्न निर्देशन दिएको थियो । यद्यपि, फागुन २९ गतेका लागि पेशी तोकिएको र देशभरको निर्वाचन परिणाम घोषणा प्रक्रियामा असर पर्ने देखिएकाले आयोगले हाल कायम उम्मेदवारले प्राप्त गरेको मतका आधारमा परिणाम घोषणा गर्न निर्देशन दिएको हो ।

सोही निर्देशनका आधारमा निर्वाचन अधिकृतको कार्यालयले यादवलाई प्रमाणपत्र प्रदान गरेको हो । यद्यपि, उक्त परिणाम आयोगको वेबसाइटमा भने प्रविष्ट भएको देखिँदैन । यसअघि प्रतिस्पर्धीको उम्मेदवारी खारेज भएपछि आफू नै पहिलो स्थानमा रहेको दाबी गर्दै यादवले परिणाम घोषणाका लागि दबाब दिँदै आउनुभएको थियो ।