सियोल, फागुन २६ गते । उत्तर कोरियाका नेता किम जोङ उनकी प्रभावशाली बहिनी किम यो जोङले दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले सुरु गरेको संयुक्त सैन्य अभ्यासले ‘अकल्पनीय रूपमा भयानक परिणाम’ निम्त्याउन सक्ने चेतावनी दिनुभएको छ ।
मङ्गलबार सार्वजनिक गरिएको वक्तव्यमा उहाँले सियोल र वासिङ्टनले सञ्चालन गरिरहेको वार्षिक सैन्य अभ्यासलाई गम्भीर उक्साहटका रूपमा व्याख्या गर्दै यसले कोरियाली प्रायद्वीपमा थप तनाव निम्त्याउने बताउनुभयो । दक्षिण कोरिया र अमेरिकाले सोमबारदेखि आफ्नो वसन्तकालीन सैन्य अभ्यास ‘फ्रिडम सिल्ड’ सुरु गरेका छन् । यो अभ्यास मार्च १९ सम्म सञ्चालन हुने बताइएको छ ।
दक्षिण कोरियाका करिब १८ हजार सैनिक यसमा सहभागी हुने जानकारी दिइएको छ, तर कति अमेरिकी सैनिक सहभागी छन् भन्ने विवरण भने सार्वजनिक गरिएको छैन । सन् १९५० मा छिमेकी दक्षिण कोरियामाथि आक्रमण गरी कोरियाली युद्ध सुरु गरेको आणविक हतियार सम्पन्न उत्तर कोरियाले यस्ता संयुक्त सैन्य अभ्यासलाई लामो समयदेखि आफ्नो देशमाथि आक्रमण गर्ने तयारीको अभ्यासका रूपमा आरोप लगाउँदै आएको छ ।
किम यो जोङको भनाइ प्योङयाङस्थित सरकारी सञ्चार माध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले उद्धृत गरेको हो । उहाँले यस्तो अभ्यासले ‘अकल्पनीय रूपमा भयानक परिणाम निम्त्याउन सक्ने’ चेतावनी दिँदै क्षेत्रीय सुरक्षामा थप अस्थिरता आउन सक्ने सङ्केत गर्नुभयो । उहाँ हालै उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टीको सामान्य मामिला विभागको प्रमुख पदमा पदोन्नति हुनुभएको छ ।
विश्लेषकले यस पदलाई पार्टी महासचिव सरह प्रभावशाली जिम्मेवारी भएको मान्ने गरेका छन् । उहाँको प्रतिक्रिया त्यतिबेला आएको हो जतिबेला उहाँका दाजु किम जोङ उनले हालै सियोलले अघि सारेका शान्ति पहललाई ‘असङ्गत भ्रामक प्रहसन’ भन्दै अस्वीकार गर्नु भएको थियो । उहाँले उत्तर कोरियाको दक्षिण कोरियासँग ‘कुनै व्यापारिक लेनदेन छैन’ भन्ने धारणा पनि व्यक्त गर्नु भएको थियो ।
किम यो जोङले संयुक्त सैन्य अभ्यासलाई विश्वव्यापी अस्थिरताको संवेदनशील समयमा भइरहेको कदमका रूपमा चित्रण गर्नु भएको छ । उहाँका अनुसार विश्व सुरक्षा संरचना तीव्र गतिमा कमजोर बन्दै गएको छ र विभिन्न क्षेत्रमा युद्धका घटना बढिरहेका छन् । उहाँले अहिलेको अवस्था ‘अन्तर्राष्ट्रिय बदमाशको लापरवाह कार्य’ का कारण सिर्जना भएको आरोप लगाउनुभयो ।
प्योङयाङले हालै इरानमाथि अमेरिका र इजरायलले गरिरहेको आक्रमणलाई पनि ‘अवैध आक्रमण’ भन्दै कडा शब्दमा निन्दा गरेको छ । उत्तर कोरियाले त्यस घटनाले अमेरिकाको ‘दुष्ट प्रकृति’ उजागर गरेको दाबी गरेको छ । उत्तर कोरिया र संयुक्त राज्य अमेरिका दशकौँदेखि राजनीतिक र सैन्यरूपमा विरोधी रहेका छन् । यद्यपि पछिल्ला महिनामा वासिङ्टनले प्योङयाङसँग उच्चस्तरीय वार्ता पुनः सुरु गर्न पहल गरिरहेको सङ्केत देखिएको छ ।
कतिपय रिपोर्ट र विश्लेषकले यस वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबिच सम्भावित शिखर सम्मेलनको सम्भावना पनि औँल्याएका छन् । लामो समयसम्म ती प्रस्तावलाई बेवास्ता गर्दै आएका किम जोङ उनले गत महिना भने वासिङ्टनले उत्तर कोरियाको आणविक हैसियत स्वीकार गरेमा दुई देश ‘सँगै बस्न सक्ने’ बताउनुभएको थियो । रासस/एएफपी