बागलुङ समाचारदाता
बागलुङ, फागुन २६ गते । पश्चिम बागलुङको ढोरपाटन नगरपालिका बोबाङका बालबालिकामा दादुरा फैलिएपछि बुर्तिबाङ जिल्ला अस्पतालमा सघन उपचार थालिएको छ । दादुरा सङ्क्रमितमध्ये २० जनाको बुर्तिबाङ अस्पताल र अन्यको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
माघ मसान्तदेखि एक, दुई हुँदै फैलिएको दादुरा बालबालिकासहित ५० जनामा देखिएको छ । पछिल्लो पटक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा थप पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्माले जानकारी दिनुभयो । केही दिनअघि नमुनाका रूपमा पहिलो चरणमा आठ जनाको परीक्षण गर्दा एक जना दादुरा सङक्रमण पुष्टि भएको थियो । शर्माले भन्नुभयो, “बोबाङगाउँका धेरै बालबालिकामा दादुराको समस्या देखिएपछि सघन रूपमा उपचार सेवा थालेका छौँ । तत्कालका लागि बुर्तिबाङ जिल्ला अस्पतालमा तत्काल १४ बेडको सघन उपचार भइरहेको छ ।” उहाँका अनुसार चिकित्सकसहित स्वास्थ्यकर्मीको टोलीले बुर्तिबाङ पुगेर उपचार थालिसकेको छ ।
यसअघि शर्मासहित धौलागिरि प्रादेशिक अस्पतालका डा. सन्दीप केसीलगायतका स्वास्थ्यकर्मीको टोली बोबाङगाउँ पुगेर बिरामीको उपचार गरेको थियो । बिरामी बालबालिकामा ज्वरो, रुघाखोकी र शरीरमा बिबिरा देखिएका छन् । दादुराको समस्या देखिएपछि उपचारसहित खोजी र परीक्षणको दायरा पनि फराकिलो बनाइएको जनस्वास्थ्य कार्यालयका वरिष्ठ क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले बताउनुभयो । ढोरपाटन नगर स्वास्थ्य शाखाका प्रमुख भूमिश्वर शर्मासहित स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी पनि नियमित बालबालिकाको उपचारमा खटिनुभएको छ ।
तीन दिन विद्यालय बन्द
बोबाङमा दादुरा फैलिएपछि तीन दिन विद्यालयसमेत बन्द गरिएको छ । समयमै सतर्कता अपनाई थप रोग फैलिन नदिन ढोरपाटन नगर कार्यपालिका र स्थानीय द्रुत प्रतिकार्य समितिको बैठकले फागुन २५ देखि २७ गतेसम्म विद्यालय पूर्ण रूपमा बन्द गर्ने गरिएको शिक्षा अधिकृत पुष्पक दाहालले जानकारी दिनुभयो ।
महामारीका रूपमा फैलिएको दादुरा रोगको सङ्क्रमणलाई कसरी नियन्त्रण गर्ने र हालसम्म अवलम्बन गरिएका रणनीतिको प्रभावकारिता, आगामी रणनीतिको विषयमा छलफल गर्न गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठक, नेपाल सरकारका स्वास्थ्य सचिव डा. विकास देवकोटा, मन्त्रालयका सचिव डा. युवानिधि बसौला, चिकित्सा महाशाखा प्रमुख डा. रमेश केसी, आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा. रेखा शर्मा, विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिलगायत सङ्घ र प्रदेश सरकारका अधिकारीबिच आकस्मिक बैठक बसेको छ । बैठकपछि आवश्यक औषधी र स्वास्थ्य जनशक्तिसहित विश्व स्वास्थ्य सङ्गठनका अधिकारी आइतबार प्रभावित क्षेत्रमा पुग्नुभएको छ ।