• ८ मंसिर २०८१, शनिबार

चट्याङको त्रासदीमा पूर्वी नेपाल

blog

काठमाडौँ, असार ९ गते । मनसुनपूर्वको अवस्थामा ठुलो स्वरमा आकाश गर्जनु र चट्याङ पर्नु मौसम विज्ञानमा सामान्य विषय हुन् तर मनसुन भित्रिसकेको अवस्थामा ठुलो आवाजसहित चट्याङ पर्नुलाई भने सामान्य मानिँदैन । गत वर्ष काठमाडौँसहित मध्य नेपालका विभिन्न भेगमा प्रिमनसुनमा लगातार चट्याङ परेको थियो । यो वर्ष भने मनसुन भित्रिसके पनि पूर्वी नेपालमा अस्वाभाविक रूपमा चट्याङ परिरहेको छ । 

नेपालमा मनसुन प्रवेश गरेको १० दिन बित्यो । अझै देशव्यापी रूपमा फैलिइसकेको छैन । पूर्वबाट पश्चिम सर्न लागेको मनसुनी वायु दुई दिनअधि पूर्वमै रोकियो । परिणाम स्वरूप मङ्गलबार र बुधबार पूर्वी नेपालमा जनजीवन त्रसित बनाउने गरी चट्याङ परेको जल तथा मौसम विज्ञान विभागको झापा चन्द्रगढीस्थित फिल्ड कार्यालयका प्रतिनिधि सुमन भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “आजभोलि दिन हो कि रात हो, छुट्याउनै नसक्ने गरी झिलिमिली उज्यालो हुन्छ, अनि ठुलो गोलाबारुद धर्तीमा खसे जस्तो गरी चट्याङ बज्रिन थालेको छ ।” उहाँका अनुसार रातको समयमा आवाज र उज्यालो यति डरलाग्दो गरी आउँदा अधिकांश मानिस अबेरसम्म निदाउनै सकिरहेका छैनन् । घरभित्रै पसे जस्तो लगातारको मिलिक मिलिक उज्यालो र डरलाग्दो तर्साउने आवाज आउँदा आमनागरिक भयभित बन्न पुगेका छन् । यस्तै खालको मेघगर्जनसहितको चट्याङ गत वर्ष पनि एक दिन देखिएको भट्टराईले बताउनुभयो ।

पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, धनकुटा, ताप्लेजुङ, पाँचथरदेखि माथिका पहाडी भेगमा डरलाग्दो गरी चट्याङ परेको भट्टराईले बताउनुभयो । जनकपुरसम्म पनि त्यो क्रम देखिएको जनकपुरका फिल्ड अफिसर राजीव झाले बताउनुभयो । उहाँले भन्नुभयो, “बादल लागेको थियो र रातिको समय भएकाले पनि अझ डरलाग्दो देखिएको थियो ।” वर्षाको क्रम निरन्तर नहुँदा पनि बारम्बार चट्याङ पर्ने अवस्था आएको उहाँको भनाइ छ । 

पूर्वीय र पश्चिमी वायुको द्वन्द्व

पूर्वीय र पश्चिमी वायु आपसमा जुध्दा देशको पूर्वी भेगमा अस्वाभाविक रूपमा मेघगर्जन र चट्याङ परेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । मनसुन नेपालमा तोकिएको भन्दा तीन दिनअघि नै आयो । त्यो बेलासम्म पश्चिमी वायुको अवस्था नेपालमा निकै बलियो थियो । पूर्वबाट नेपाल भित्रिएको पूर्वीय वायुलाई पश्चिमी वायुले धकेलेर यता आउनै दिएन । मौसमविद् मानन्धरका अनुसार जसका कारण पूर्वी नेपालको आकाशमाथि बाक्लो बादलको तह जम्मा भयो । 

पश्चिम आउन नपाएको पूर्वीय वायुमा पश्चिमी वायुले प्रभुत्व जमाएपछि तलदेखिमाथि बादल लामो अग्लो हुँदै गयो । त्यस्तो बादलको तह जति अग्लो बन्यो, त्यति नै मेघगर्जन र चट्याङ पर्ने प्रवृत्ति दोहोरिने उहाँले बताउनुभयो । मनसुनी बादलभित्र विद्युतीय ऊर्जासहितको धनात्मक र ऋणात्मक ऊर्जा हुन्छ । तह तह बनेर रहेका दुई ऊर्जाबिच कडा द्वन्द्व बढ्छ । धनात्मक ऊर्जा ऋणात्मक बन्न खोज्छ र ऋणात्मक ऊर्जा धनात्मक बन्न खोज्छ । 

यस्तो प्रव्रिmया हुँदा ती दुई ऊर्जाबिच हावा फाटेर सम्भावित फरकपना अर्थात् खालीपना बढ्छ । मौसमविद् मानन्धरले भन्नुभयो, “धनात्मक र ऋणात्मक ऊर्जा घरी भेटिने र घरी छुटिने गर्छन्, एकअर्कासँग बराबर हुने बादलको घर्षणयुक्त यस्तो द्वन्द्व जति बढ्छ, त्यति धेरै मेघगर्जन र ठुलो चट्याङ परिरहन्छ, पूर्वमा भएको त्यही हो ।” यो क्रम बादलभित्रको शक्ति वर्षा भएर नसकुन्जेल कायम रहन्छ । वर्षा हुन सकेन भने त्यो शक्ति असिना बनेर धर्तीमा खस्छ र ऊर्जा सकिएपछि चट्याङ पर्न छाड्छ ।

मनसुन देशव्यापी फैलिसकेको अवस्थामा भने मनसुनी वायुले पश्चिमी वायुलाई सम्पूर्ण रूपमा आफ्नो प्रभुत्वमा पार्न सफल हुन्छ । त्यसपछि भने कडा चट्याङ पर्ने दर स्वतः कम हुने मानन्धरले प्रस्ट्याउनुभयो । नेपालभर मनसुन फैलन अझै दुई दिन बढी समय लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।