• ५ कात्तिक २०८२, बुधबार

बाँकेमा ठूलो परिमाणमा नियन्त्रणमा लिइएका पटका नष्ट

blog

प्रहरीले बरामद गरेको पटका । तस्बिरः सिराज खान

सिराज खान

नेपालगन्ज, कात्तिक ५ गते। दिपावलीको समयमा भारतबाट ल्याइएका ठूलो परिमाणका अवैध पटका र विष्फोटकजन्य पदार्थलाई जिल्ला प्रहरी कार्यालय बाँकेले  नियन्त्रणमा लिएर नष्ट गरेको छ। 

भारतको रुपैडिहाबाट लुकाइछिपाई ल्याइएका प्रतिबन्धित पटाकाजन्य वस्तुलाई प्रहरीले पानीको खाल्डोमा हालेर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

जिल्लाका विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएका पटकालाई जिल्ला प्रहरी कार्यालय बाँकेको परिसरमा रहेको पानीको खाल्डोमा हालेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दीपक पातलीले बताउनुभयो। 

उहाँका अनुसार जमुनाह नाका हुदै अवैध रुपमा नेपालगन्ज ल्याइएका पटका प्रहरीले विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार पटकाजन्य वस्तु हरेक वर्ष दिपावलीको समयमा अवैध रुपमा नेपाल भित्रने गरेको छ। पटका जन्य वस्तुले स्वास्थ्य, वातावरण र धनजनमा क्षति हुने हुँदा आयातमा प्रतिबन्ध लगाइएको छ।

पटकाजन्य वस्तु आयात तथा ओसारपसारमा प्रहरीले यस वर्ष विगतका वर्षभन्दा बढी कडाइ गरेको थियो। भारतीय बजारबाट ठूलो परिमाणमा पटाकाजन्य वस्तु नेपालगन्ज भित्रिएकोले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। 

बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पातलीले चाडपर्वमा रमाइलोका नाममा पटका पडकाउने, आतासवाजी गर्नेविरुद्ध प्रहरीले सुरक्षा निगरानी बढाएको जनाउँदै सोही कारणले यस पटक विगत भन्दा कम पटका पड्किएको पनि बताउनुभयो। 

नेपालगन्जको सदरलाइनमा तीन दिन सञ्चालन भएको दिपावली तिहार बजारमा भने खुला रुपमा पटका तथा विष्फोटक पदार्थ विक्रीका लागि राखिएको पाइएको थियो।