• ४ कात्तिक २०८२, मङ्गलबार

बोतलमा पेट्रोल बिक्री गर्दाको जोखिम : खरानी भयो पसल

blog

पसलमा लागेको आगो नियन्त्रणमा लिँदै स्थानीय । तस्बिरः विनय कर्ण

विनय कर्ण

कल्याणपुर, कात्तिक ४ गते । सप्तरीमा बोतलमा भरेर पेट्रोल बेचेको जताततै देखिन्छ । सहरदेखि गाउँसम्मको पसल र सडक किनारमा बोतलमा पेट्रोल भरेर बेच्ने काम भइरहेको हुन्छ। 

राजविराज नगरपालिका– ७ घर भएकी ३९ वर्षीया मञ्जु राउतले दिपावलीको पूर्वसन्ध्यामा आइतबार साँझ पसलमा दियो बाल्न लाग्नुभयो । अचानक बिक्रीका लागि बोतलमा राखिएको पेट्रोल खनिएर आगलागी हुँदा क्षणभरमै उहाँको पसल खरानी बन्यो ।

बैंकबाट ऋण लिएर कटघरामा पसल सञ्चालन गर्दै आउनुभएकी उहाँकोे किराना पसल बोतलमा राखेर बेचिने पेट्रोल कै कारण जलेर खरानी भएको हो ।

आगो निभाउने प्रयास गर्दा पसल सञ्चालक मञ्जु  घाइते हुनुभयो । उहाँको खुट्टाको केही भाग जलेको छ । 

आगलागीबाट कटघरा, किराना समाग्री तथा बिक्रीका लागि प्लाष्टिक भरेर राखिएको पेट्रोलका बोतल जलेर नष्ट हुँदा लाखौं रुपियाँ बराबरको क्षति भएको मञ्जुले बताउनुभयो । आगलागीबाट मञ्जुको पसलसँगै छिमेकी बलराम राउतको पसलमा समेत क्षति भएको छ ।

यस्तै सोमबार राति सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ स्थित एक किराना पसलमा पेट्रोल हालेर कुपी बाल्दा आगलागी हुँदा तीन लाख ७८ हजारको क्षति भएको छ । 

तिलाठी कोइलाडी गाउँपालिका– ४ घर भएका इन्द्र मुखियाको किराना पसलमा आगलागी भएको प्रहरीले जनाएको छ ।

अति प्रज्वलनशील पदार्थ पेट्रोल कै कारण पसल जलेर खरानी भएको स्थानीयको भनाइ छ । नेपाल आयल निगमबाट स्वीकृति लिएर खोलिएका पम्पले मात्र बिक्री गर्न पाउने व्यवस्था भए पनि जिल्लाको दर्जनौ स्थानमा पान, किराना र मोटरसाइकल ग्यारेज लगायतका पसलमा समेत बोतलमा राखेर पेट्रोल बिक्री भइरहेको हुन्छ । 

नियम विपरितको यस्ता कार्यलाई रोक्नुपर्ने स्थानीयको माग छ ।