चन्द्र पन्दाक
ताप्लेजुङ, कात्तिक ५ गते । तिहार पर्वसँगै ताप्लेजुङका किसान अलैँची टिप्न (थन्क्याउन) मा व्यस्त बनेका छन् । जिल्लाको प्रमुख नगदे बालीको रुपमा रहेको अलैँची थन्क्याउने मौसम भएकाले चाडपर्व नभनी किसानहरु अलैँची टिप्न व्यस्त बनेका हुन् ।
अलैँची खेतीमा संलग्न किसानको तिहार अलैँची बगान (बगैँचा) मै बितिरहेको छ । अलैँची थन्क्याउने समय भएकाले किसानलाई यतिबेला अलैँची टिप्न, छोडाउन र सुकाउनमा भ्याइ–नभ्याई भएको छ । असोज र कात्तिक महिना अलैँची थक्याउने मुख्य मौसम भएकाले तिहार पर्व नभनी व्यस्त हुनुपरेको किसानको भनाइ छ ।
अलैँची टिप्ने समय भएपछि ढिलो गरेमा वन्यजन्तुले खाएर नोक्सानी गर्ने हुँदा अन्य सबै काम त्यागेर अलैँची थन्क्याउन लागेको फक्ताङ्लुङ गाउँपालिका –२ खेजेनिमका किसान खाङ्डु शेर्पाले बताउनुभयो । अहिले बगानमै तिहार मनाउँदै अलैँची टिप्दै आएको शेर्पाले बताउनुभयो । उहाँका अनुसार अलैँची टिप्न ढिलाई गरेमा चरा, मुसा र कालाजस्ता जङ्गली जनावरले खाएर क्षति गर्ने गर्दछन् ।
अलैँची टिप्ने मुख्य समय भएकाले तिहार पर्व सहज गरी मनाउने अवस्था नरहेको किसान बताउँछन् । यसवर्ष दसैँ पर्व केही छिटो भएकाले घरमा बसेर मनाउन पाए पनि तिहार पर्व अलैँची बगानमै बिताउनुपरेको फुङ्लिङ नगरपालिका –६ बिहीबारेका किसान केदार लिम्बूले बताउनुभयो ।
खेतीमा संलग्न किसान कात्तिक महिनाभर अलैँची थन्क्याउनमा व्यस्त हुने गर्दछन् । यता यसवर्ष अलैँचीको मूल्य पनि उच्च रहेकोले किसानहरु उत्साहित छन् । ताप्लेजुङमा हिजोआज साधारण अलैँची प्रतिमन (४० किलोग्राम) ९० हजार रुपियाँले कारोबार भइरहेको छ ।
ताप्लेजुङक नौ स्थानीय तहमा रहेका ६१ वटा वडामध्ये फक्ताङ्लुङ –७ ओलाङ्चुङगोला बाहेक सबै क्षेत्रमा अलैँची खेती हुनेगरेको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार चार हजार १६५ हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको र उक्त क्षेत्रफल बराबरको खेतीबाट गतवर्ष दुई हजार ५३१ मेट्रिक टन अलैँची उत्पादन भएको थियो ।