नवराज नेपाली
बागलुङ (गलकोट), कात्तिक ५ गते। केही वर्ष अघिसम्म काठेखोला गाउँपालिका–४, तङ्ग्रामका प्रायः घरमा रैथाने कालो सुँगुर पालिन्थ्यो । अधिकांश मानिसको आम्दानीको श्रोतमा यही कालो सुँगुर हुन्थ्यो । तर पछिल्लो समय भने यो अवस्था घट्दो क्रममा रहेको सुँगुरपालकको भनाइ छ ।
बढ्दो वैदेशिक रोजगार, आम्दानीको श्रोतमा विविधता, बसाइसराइ लगायतका विविध कारण तङ्ग्रामी रैथाने कालो सुँगुर पाल्नेको सङ्ख्या घटदैगएको हो । यही अवस्थाबिच स्थानीय नरबहादुर थापा र भुवनसिंह थापाले व्यावसायिक रूपमा सुँगुर पाल्न थालेको बताउनुभयो । नरबहादुरले तङ्ग्राम ठुलो गाउँ र भुवनसिंह काफलबोट फार्म सञ्चालनमा ल्याउनुभएको छ ।
नरबहादुर थापाले करिब १४ वर्ष वैदेशिक रोजगारमा बिताउनुभएको थियो । भुवनसिंहले १० वर्ष मलेसियामा बिताउनुभएको बताउनुभयो । ‘विदेशमा पनि दुःख गरियो, त्यसपछि स्वदेशमा नै फर्केर काम गर्न थालियो’ थापाले भन्नुभयो “अहिले ठुलो मुनाफा त होइन, आम्दानीको श्रोत राम्रै बनिरहेको छ।” उहाँले आफ्नो फर्ममा एक जनालाई रोजगार समेत दिनुभएको छ ।
बगलुङको काठेखोला गाउँपालिका–४, तङ्ग्रामका यी दुई व्यक्तिले गत वर्षदेखि व्यावसायिक रूपमा सुँगुर पाल्न थालेका हुन् । नरबहादुरको फार्ममा ३५ वटा सुँगुर रहेका छन् । भुवनसिंहको फार्ममा २५ वटा रैथाने सुँगुर छन् । लामो समयको वैदेशिक रोजगारबाट फर्केपश्चात व्यावसायिक रूपमा रैथाने कालो सुँगुर पाल्न थाल्नुभएको उहाँहरूको भनाइ छ ।
थापाले लोप हुने अवस्थामा कालो रैथाने सुँगुर पुगेकाले संरक्षण थालेको बताउनुभयो । ‘केही वर्ष अघिसम्म प्रायः घरमा कालो सुँगुर पालिन्थ्यो, पछिल्लो समय त्यो अवस्था घट्दो छ’ सिंहले भन्नुभयो, “त्यही कारण सुँगुर पाल्न थालेको हुँ ।”
मासुका लागि पालिएको रैथाने कालो सुँगुरको खपत गाउँमा नै हुनेगरेको छ । माग बमोजिम पुर्याउन नसकिएको उहाँहरूको भनाइ छ । आफ्नै देशमा आफ्नै कामको मालिक बन्न पाउँदा खुसी लागेको सिंहले बताउनुभयो । नरबहादुरले आफ्नै देशमा आफ्नै कामको मालिक बन्न पाएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।
‘सरकारले दिने अनुदानप्रति खासै विश्वास नभएको र सरकारले दिने अनुदान प्रभावकारी नभएको उहाँहरूको भनाइ छ । ‘सरकारले दिने अनुदानका कार्यक्रम झन्झिटिलो छ, मेरो फार्मका लागि डेढलाख खर्च भयो । तर मैले जम्मा ३० हजार रुपियाँ पाएँ’ उहाँले भन्नुभयो ।
सुँगुरपालनबाट राम्रो आम्दानी भइरहेको उहाँहरूले तर्क गर्नुभयो । नरबहादुरले कुखुरा, किराना पसल पनि सञ्चालन गर्दै आउनुभएको छ । भुवन सिंहले पनि किराना पसल सञ्चालन गर्दै आउनुभएको छ । रैथाने कालो सुँगुरको माग धेरै भएकाले त्यस व्यवसायमा लागेको उहाँहरूको भनाइ छ । यहाँ उत्पादित सुँगुर गाउँमा नै पुर्याउन हम्मे रहेको उहाँहरूले बताउनुभयो । यसको उत्पादन वृद्धि र बजारीकरणका लागि स्थानीय सरकारले सहयोग गर्न सकेको खण्डमा आम्दानीको श्रोत वृद्धि हुने थापाले बताउनुभयो ।