• १२ साउन २०८१, शनिबार

म्याग्दीका चार स्थानीय तहको बजेट सार्वजनिक

blog

मंगला गाउँपालिकाको १८ औँ गाउँसभामा । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, असार ८ गते । 
म्याग्दीका चारवटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् ।

एक नगरपालिकासहित-५ वटा गाउँपालिका भएको म्याग्दीमा शुक्रबार बेनी नगरपालिका, मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाले गाउँ सभामार्फत बजेट सार्वजनिक गरेका हुन् । भौतिक पूर्वाधार, कृषि, शिक्षा, खानेपानी, पर्यटन, विपद् व्यवस्थापन र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् ।

बेनी नगरपालिकाले नगर सभाको १५औँ अधिवेशनबाट ७२ करोड रुपियाँभन्दा बढीको बजेट ल्याएको छ । ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार : स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने नारासहित नगरपालिकाले ७२ करोड ७८ लाख १३ हजार रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको हो ।

बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले आगामी आवको बजेट प्रस्तुत गर्दै कुल बजेटको चालुतर्फ ६९ प्रतिशत र पुँजीगततर्फ ३१ प्रतिशत खर्च हुने जानकारी दिनुभयो । नगर प्रमुख सुरत केसीले प्राथमिकताका आधारमा बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

यसैगरी, मङ्गला गाउँपालिकाको १८ औँ गाउँसभामा उपाध्यक्ष प्रेम कुमारी क्षेत्रीले चालुतर्फ २९ करोड ५४ लाख ३१ हजार आठ सय र पुँजीगततर्फ १९ करोड ५५ लाख गरी कुल ४९ करोड नौ लाख ३१ हजार आठ सय रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ ।

सामाजिक विकासतर्फ शिक्षामा सशर्त अनुदान सहित १७ करोड ७६ लाख ८५ हजार, स्वास्थ्यमा दुई करोड ७८ लाख ९४ हजार, युवा तथा खेलकुदतर्फ ३३ लाख ५० हजार लगायत भाषा तथा संस्कृति, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, सामाजिक सुरक्षा तथा संरक्षण र खानेपानी तथा सरसफाइ क्षेत्रमा गरी कुल २२ करोड दुई लाख ६४ हजार रुपियाँ बजेट विनियोजन भएको छ ।

त्यस्तै आर्थिक विकासअन्तर्गत कृषिमा ४२ लाख ७५ हजार, पशु विकासमा ३३ लाख ७२ हजार, उद्योग विकासमा २४ लाख र जलश्रोत तथा सिँचाइमा २३ लाख गरी कुल एक करोड २३ लाख ४७ हजार बजेट विनियोजन भएको छ । पूर्वाधार विकासतर्फ १६ करोड ६० लाख, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ पाँच करोड, ८० लाख १० हजार र सुशासनतर्फ तीन करोड २५ लाख १० हजार बजेट विनियोजन गरिएको गाउँपालिकाका उपाध्यक्ष क्षेत्रीले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले शिक्षा, स्वास्थ्य, यातायात, कृषि, खोनपानी, सुरक्षित आवास, दिगो तथा सुरक्षित पूर्वाधार निर्माण, रोजगारीको सृजना, पर्यटन प्रवर्द्धन, धार्मिक तथा सांस्कृतिक सम्पदाहरूको संरक्षण तथा नागरिकको आवश्यकता अनुरूपका विकास, समृद्धि र सुशासनलाई केन्द्रित गरेर नीति तथा कार्यक्रम र बजेट ल्याएको बताउनुभयो ।

मालिका गाउँपालिकाले १५ औँ गाउँ अधिवेशनमा उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगरले ४७ करोड ७४ लाख ४० हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ । बजेटमा सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान तर्फ आठ करोड ४१ लाख, ससर्त अनुदान चालु तर्फ १९ करोड ११ लाख, राजश्व बाँडफाँडबाट ९० लाख, पुँजीगत ससर्त अनुदान १५ लाख, विशेष अनुदान(पुँजीगत) एक करोड ४५ लाख र समपूरक अनुदान दुई करोड रुपियाँलाई बजेटको आय मानिएको छ ।

यसैगरी, गण्डकी प्रदेश सरकारको समानीकरण अनुदान एक करोड ५३ लाख पाँच हजार, राजस्व बाँडफाँटबाट ५७ लाख पाँच हजार, विशेष अनुदान ४० लाख, समपूरक अनुदान ६० लाख, गाउँपालिकाको आन्तरिक आय एक करोड र अनुमानित सञ्चित कोषबाट चार करोड रुपियाँलाई बजेटमा समावेश गरिएको उपाध्यक्ष घर्ती मगरले सभामा जानकारी गराउनुभएको थियो । उपाध्यक्ष घर्ती मगरले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ ३१ करोड ५५ लाख पाँच हजार र पुँजीगत तर्फ १६ करोड ६८ लाख ८५ हजार रुपियाँ विनियोजन गरिएको छ ।

वडागत योजना तथा कार्यक्रमका लागि तीन करोड ८५ लाख,लागत सहभागितामा सञ्चालन हुने योजनाहरूका लागि तीन करोड ७४ लाख,४४ हजार, प्रशासकीय भवन,वडा नम्बर १ र ७ नम्बर वडा कार्यालय भवन लागि दुई करोड, विपतजन्य क्षतिबाट पुनर्निर्माण तथा राहत वितरणका लागि ८० लाख र पालिका स्तरीय योजना तथा कार्यक्रमका लागि दुई करोड ८३ लाख ४५ हजार रुपियाँ बजेट विनियोजन गरिएको उपाध्यक्ष घर्तीमगरले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले कृषि, शिक्षा, स्वास्थ्य तथा विपद् व्यवस्थापन, पूर्वाधार विकास, युवा स्वरोजगार, पर्यटन, सिँचाइ, भवन निर्माण, ऊर्जा, सञ्चार र सामाजिक विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको बताउनुभयो । 

धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेसम पुनले २२ औँ गाउँसभामा ४३ करोड २७ लाख ६८ हजार बराबरको बजेट सार्वजनिक गर्नुभएको छ । बजेटमा सङ्घीय सरकारबाट प्राप्त हुने ३८ करोड ५५ लाख, प्रदेश सरकारबाट प्राप्त हुने दुई करोड दुई लाख ६ हजार, आन्तरिक आयतर्फ ४० लाख र चालु आर्थिक वर्षमा खर्च नभएर बाँकी हुने  एक करोड ५० लाख बजेटको स्रोत अनुमान गरिएको छ ।

बजेटमा पालिकाकै १ नम्बर वडा गुर्जामा सडक पुर्‍याउन प्राथमिकतामा राखेर लुलाङ–गुर्जा सडकलाई एक करोड रुपियाँ बजेट विनियोजन गरिएको उपाध्यक्ष पुनले बताउनुभयो । पूर्वाधार विकास तर्फ आठ करोड ७२ लाख ७० हजार, आर्थिक विकास तर्फ ४७ लाख ६० हजार, सामाजिक विकास तर्फ तीन करोड ३९ लाख ३४ हजार,वन वातावरण तथा विपद् व्यवस्थापन तर्फ ६९ लाख ३६ हजार,संस्थागत विकास सेवा प्रवाह र सुशासन तर्फ १० करोड नौ लाख एक हजार विनियोजन गरिएको छ ।