• १२ पुस २०८१, शुक्रबार

नसना [कथा]

blog

नसना मेरी बहिनीकी सखी । उनीहरूबिच कुनै पनि कुरा गोप्य रहँदैनथ्यो । आत्मीय साथी भएका कारण सुख र दुःख साझा थियो । नसना अलिक दुब्ली, पातली थिइन् । गोरो वर्णकी नसना हिस्सी परेकी थिइन् । बहिनीसँग प्रायः घरमा आइरहन्थिन् उनी । मसँग पनि बोल्थिन् । उनले मलाई भेट्दा गर्ने प्रश्न सधैँ एउटै थियो, “सन्चै हुनुहुन्छ ?”  म भने प्रायः टाउको मात्र हल्लाउँथेँ । कहिलेकाहीँ मात्र “ठिक छु” भन्ने उत्तर दिन्थेँ । लामो र गहिरो संवाद भने उनीसँग कहिल्यै भएन मेरो । उनी भने मसँग कुरा गर्ने बहाना झिकिरहन्थिन् ।

म विज्ञानको विद्यार्थी । प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको पनि दुई वर्ष भइसकेको थियो । एमबिबिएस डाक्टर पढ्न पोहोर साल छात्रवृत्तिका लागि आवेदन दिएको थिएँ । परिश्रम पनि निकै गरेको थिएँ तर नाम निस्किएन । हरेस खाने कुरा भएन ।  सम्झेँ, “आफ्नो परिश्रम पुगेको रहेनछ ।” यो वर्ष छात्रवृत्तिका लागि दरखास्त आह्वान हुनासाथ फेरि आवेदन दिनु पर्छ भन्ने सोचिरहेको थिएँ । त्यही अनुसारको तयारीमा जुटिरहेँ ।

म सानो छँदा पिताको छहारी गुमाएको थिएँ । बुनु त अझ सानै थिई । म भने केही बुझ्ने भइसकेको थिएँ । आमाले टुहुरा छोराछोरी, घरपरिवार, खेतबारीको सम्पूर्ण जिम्मेवारी उठाउनुपर्ने बाध्यात्मक परिस्थिति थियो । घरकै परिस्थितिका कारण पनि होला, म कसैसँग पनि त्यति धेरै बोल्दिनथेँ । हत्तपत्त कसैसँग पनि घुलमिल हुन कठिन हुन्थ्यो मलाई । नसना भने ‘टकएक्टिभ’ । एकदिन म कोठामा पढ्दै थिएँ । ढोकाबाट आवाज भित्र पस्यो, “सन्चै हुनुहुन्छ ?” आवाजतिर मेरा आँखा तुरुन्त कुदिहाले । नसना ढोकाबाट भित्र छिरिन् । मैले जवाफ फर्काउने पारामा टाउको हल्लाउँदै भनेँ, “अँ...।” मेरो पारा देखेर बोलिन् नसना, “कस्तो हो तपाईं त ! बोल्न पनि पैसा लाग्ने हो र ?”

“होइन, ठिक छु ।” मलाई बोल्न बाध्य पारिन् उनले ।

“अनि बुनु खोइ त ?”

“माथि छिन् ।”

केहीबेर उनको ओठ चुप भयो । बुनु माथि छिन् भनेपछि माथि जालिन् भन्ने सोचेको थिएँ तर उनी माथि गइनन् । एकैछिनपछि नसनाको प्रश्न फेरि मतिर तेर्सिन्छ, “के गर्दै हुनुहुन्छ ? पढ्दै ?”

टाउको हल्लाउँदै जवाफ फर्काएँ, “अँ...।”

गुलाब जस्तै फक्रेको उनको मुहारमा मेरो नजर टिक्न सकेन । उनले भने मलाई एकटकले हेरिरहिन् । मलाई भने अप्ठ्यारोको राप र तापले उकुसमुकुस बनाइरह्यो । धन्न त्यसैबेला बुनु आइन् र मैले राहतको सास फेरेँ । दुवै चोटातिर लागेपछि तेज गतिमा दौडेको मेरो हृदयको गति बल्ल सामान्य अवस्थामा आएको थियो ।  

साँझ बिदा भएर जान लागेको थियो । रात कलिलै थियो । भान्साको काम सकेर बुनु तल आइन् । मसँगै बसिन् । आमा चोटामा हुनुहुन्थ्यो । “आमालाई एक्लै छोडेर तँ किन यहाँ आएकी ?” मैले सोधेँ । बुनुले मेरो प्रश्नको कुनै उत्तरै नदिई प्रतिप्रश्न गर्दै भनिन्, “के हो दाइ ? मेरो साथी नसनालाई मोहनी लगाउनुभए जस्तो छ नि ।”

“किन ?”

“बुनु ! तिम्रो दाइ कस्तो राम्रो लाग्छ मलाई । शान्त, सुन्दर तलाउ जस्तै भन्थी ।”

“अनि तिमीले के भन्यौ त ?”

“जमेको तलाउ पनि राम्रो हुन्छ त ? खोला जस्तै बगेको पो राम्रो भनेँ ।”

“तँलाई थाहा छ सबै, जमेको राम्रो कि बगेको राम्रो ।”

“दाइलाई पनि करेन्ट लाग्यो कि के हो ? जमेको पानीमा पनि करेन्ट हुँदो रहेछ ?”

“बढ्ता नहोऊ । जाऊ आफ्नो कोठामा । मलाई पढ्न देऊ ।” बुनु आफ्नो कोठामा गइन् । म पढ्न बसेँ । त्यो रात धेरै पढ्न सकिनँ । मनमा कुराको ज्वारभाटा चलिरह्यो । अबेरसम्म निन्द्रादेवीले शरणमा लिइनन् ।

केही दिनपछिको कुरा हो, एमबिबिएस पढ्नका लागि छात्रवृत्तिको आवेदन खुलिसकेको थियो । म परीक्षा दिन काठमाडाँै गएँ । परीक्षा भएको दुई हप्तापछि रिजल्ट प्रकाशन भयो । छात्रवृत्तिका लागि म पनि छनोटमा परेँ । यो खबर सुनेर आमाले गहभरि खुसीको आँसु पार्नुभयो । बुनु पनि निकै प्रसन्न भइन् । “थाहा छ दाइ ! तपाईं छात्रवृत्तिका लागि छनोट हुनुभएको खुसियालीमा आज बिहान कलेजमा नसनाले मिठाई बाँडिन् ।” बुनुको कुरा सुनेर म अवाक् भएँ । कति धेरै माया छ उनको मनमा मेरा लागि– यस्तै सोचले मग्न भएँ म । मायाको आगो उनको मनमा जस्तै मेरो मनमा पनि सल्किसकेको थियो ।

बङ्गलादेशको ढाकामा पढ्न जाने दिन पनि आइसकेको थियो । बिहान आमाको हातबाट सगुन लिएर विमानस्थलका लागि निस्केँ । मलाई विमानस्थलसम्म छोड्न बुनु र नसना दुवै आएका थिए । घरबाट विमानस्थलसम्मको करिब एक घण्टा लामो यात्रामा बोलिरहने नसनाको ओठ चल्दै चलेन । प्रायः नबोल्ने, जोक त गर्दै नगर्ने मैले ठट्टा गर्दै भनेँ, “आज नसनाको मुख कसले सिलाएर पठाएछ ?” जवाफमा उनले भनिन्, “ओहो ! तपाईंलाई ख्यालठट्टा पनि गर्न आउँदो रहेछ !” बल्ल उनको आवाज सुन्न पाइयो । हामी अन्तर्राष्ट्रिय विमानस्थल पुग्यौँ । त्यहाँ पनि मानौँ, सन्नाटा छाएको थियो । बुनु पनि निकै भावुक देखिइन् । नसनाको पनि अनुहारको रङ पूरै उडेको थियो । भित्र छिर्ने समय पनि आइसकेको थियो । आफूले आफैँलाई समालेर मैले दुवैलाई भनेँ, “राम्रोसँग बस्नु, घरको, आमाको हेरचाह गर्नु है...।” मैले यति के भनेको थिएँ, दुवै जना भक्कानिएर मलाई अँगालोमा हाले । “सधैँका लागि जान लागेको हो र ? म फर्किहाल्छु नि ।” मेरो रुन्चे स्वर निस्कियो । उनीहरूलाई सान्त्वना दिएर म भित्र छिरेँ । उनीहरू पनि आएकै गाडीबाट घर फर्के । 

यता मेरो पढाइ जारी थियो । म पढ्न ढाका छिरेको पनि दोस्रो वर्ष भइसकेको थियो । परीक्षापछि एक महिना लामो बिदा हुने भयो । घरको यादले सताएकै थियो । आउने बेलामा मनमा पत्थर राखेर आमाले हाँसेर बिदा गर्नुभएको थियो । बुनु र नसना पनि जीवनकै अभिन्न अङ्ग बनिसकेका थिए । घरमा हुँदा खासै वास्ता हुन्नथ्यो नसनाको तर यता आएपछि सपनामा पनि उनैलाई देख्ने गर्छु । भेट हुँदा सधैँ उनले सोध्ने प्रश्न ‘सन्चै हुनुहुन्छ ?’ कानमा सधैँ गुन्जिरहन्थ्यो । लामो बिदामा केही समय घरमा बिताउने विचार गरेँ । खबरै नगरीकन घर पुग्दा सबैलाई ‘सरप्राइज’ हुन्छ । यही सोचेर म एक महिनाका लागि घर फर्कें । साँझपख घर पुगेँ । मलाई अचानक घरमा देखेर आमा र बुनुको मुहारमा उज्यालो पोतियो । “खबरै नगरीकन आइस् त बाबु । चिठी पठाएर खबर गरेको भए बुनुलाई लिन पठाउँथेँ नि,” आमाले भन्नुभयो । “यो ‘सरप्राइज’ हो आमा,” मैले भनेँ । 

“अरू त सबै ठिक छ नि ?”

“एकदम राम्रो छ आमा । गत सालको परीक्षामा मैले कलेज टप गरेको छु । यो सालको परीक्षा दिएर आएको छु । अब आउने परीक्षामा पनि राम्रो गर्नु पर्छ । अर्को वर्ष आउन सकिएला, नसकिएला; त्यसैले अहिले आएको ।”

“राम्रो ग¥यौ बाबु । म चिया बनाएर ल्याउँछु, तिमीहरू दाजुबहिनी गफ गर्दै गर ।” 

आमा भान्सातिर लाग्नुभयो । “अनि मेरी प्यारी बहिनीको हालखबर के छ ?” मैले सोधेँ ।

“ठिक छ दाइ । तपाईंलाई कस्तो छ ?”

“ठिक छ बुनु मलाई नि ।”

मन नसनाको बारेमा बुझ्न व्यग्र थियो तर अप्ठ्यारो लागिरह्यो । साँझ छिप्पिँदै थियो तैपनि ओठ फुस्कियो, “नसनालाई कस्तो छ ? तिमीहरूको भेट त भइरहन्छ होला नि ? यता घरमा आउँदिनन् आजकल ?”  नसनाको कुरा कोट्याउनेबित्तिकै एकाएक बुनुको अनुहारको चमक हराएको भान भयो । भर्खरसम्म धपक्क बलेको बत्ती निभेको जस्तो भयो । मेरो एकपछि अर्को प्रश्नको सोधाइले पो त्यस्तो भएको हो कि जस्तो नि लाग्यो । “बुनु के भयो तँलाई ? किन नबोलेकी ?” “तपाईं गएको एक वर्षपछि नसना बिरामी भइन् । सुरुको तीनचार महिना त रोगै पत्ता लागेन । पछि बल्ल रोग पत्ता लाग्यो, ढिलो गरी ।”

“ढिलो गरी ? के भयो उनलाई बुनु ?”

“ब्लड क्यान्सर, चौथो स्टेजको... । अन्त पनि फैलिसकेको छ रे दाइ... । अहिले उनी मृत्युसँग लडाइँ लड्दै छिन्... ।” बुनुको मुखबाट पूरा शब्द निस्किएन । त्यो खबर सुनेर ममाथि ठुलो वज्रपात भयो । म उभिएको जमिन कसैले खोसेर लगेको जस्तो आभास भयो । एकाएक हृदयभरि पीडाको बाढी पसेर खुसी सबै बगाएर लग्यो । 

“बुनु ! अहिले नसना कहाँ छिन् ? अस्पतालमा कि घरमा ?”“चार दिनअगाडि केमो चलाएर घरमा ल्याइएको थियो । अहिले घरमै छिन् । लामो समयको अस्पताल बसाइपछि घरमै राख्न सकिने सल्लाह डाक्टरले दिएपछि उनलाई घर ल्याइएको थियो । ”

“हामी भेट्न कहिले जाने त बुनु ?”

“आज अबेला भयो । तपाईं पनि यात्राबाट थाकेर आउनुभएको छ । भोलि बिहान सबेरै जाऔँला नि 

दाइ, हुन्न ?”

स्वीकृतिमा मैले टाउको हल्लाएँ । 

रात अनिदो गरी बित्यो । मनमा अनेकौँ तर्कना उठे । लाग्यो– दैव पनि कति निष्ठुरी ! खुसी खोस्न मै मात्र पाएको रहेछ । सानैमा टुहुरो बनाएर पुगेन, अहिले बल्ल पाएको खुसी पनि खोस्न तयार भएर बसेको छ । 

भोलि बिहान सबेरै बुनुलाई लिएर नसनाको घर गएँ । रोगले पूरै शरीर गलिसकेको रहेछ । हाँसिरहने, बोलिरहने नसनाको ज्यान क्यान्सरको धमिराले खाइसकेको रहेछ । हामी आएको थाहा पाएपछि रोगले थला परेको शरीर उठाउन खोजिन् तर सकिनन् । गहभरि आँसु पार्दै भनिन्, “सन्चै हुनुहुन्छ ?” उही प्रश्न तर परिस्थिति उस्तै थिएन । मान्छे उही, प्रश्न उही तर अवस्था फेरिएको थियो । इसारामै हामीलाई बस्न अनुरोध गरिन् । नसनाकी आमा त्यहीँ हुनुहुन्थ्यो । हामी गएपछि चिया पकाउन उहाँ कोठाबाट बाहिरिनुभयो ।  

“कहिले आउनुभयो तपाईं ?” नसना बोलिन् ।

“हिजो बेलुका ।”

“तिमीलाई अहिले कस्तो छ ?”

“यस्तै छ । तपाईं आउनुभयो अब त छिटै मर्दिनँ कि ?”

उनको कुरा सुनेर बुनु रोइन् । मैले पनि आफूलाई थाम्न सकिनँ । बल्ल आफूलाई समाल्दै भनेँ, “धत् ! यस्तो पनि कुरा गर्छन् । तिमीलाई केही हुँदैन ।”

“मान्छेको जिन्दगी यस्तै छ । ढिलोचाँडो एक दिन मर्नु पर्छ । मृत्युदेखि मलाई डर लाग्दैन । तपाईंसँग भेट्न नपाई, देख्न नपाई मर्छु कि भन्ने सन्त्रास मात्र थियो मनमा । अब म सन्तोषले मर्न सक्छु ।” “छि ! यस्तो पनि कुरा गर्छन् लाटी । आत्मविश्वास बलियो बनाऊ नसना ! तिमीलाई केही हुन्न । उपचारबाट निको हुन्छ ।”

नसना केही बोलिनन् । म पनि निःशब्द भएँ । मैले बिस्तारै उनको हातमा आफ्नो हात राखेँ । ढाडस दिने प्रयास गरेँ । अर्को हात निधारमा राखेँ । मेरो हातको स्पर्शबाट उनका आँखा रसाए, सँगै मेरा पनि । लामो समय त्यहाँ बसेर भोलि फेरि आउँछु भन्दै भारी मन बोकेर हामी घर फर्कियौँ ।

साँझ नसनालाई गाह्रो भयो भन्ने खबर आयो । हामी दगुरेर नसनाको घरतर्फ लाग्यौँ । उनको अवस्था राम्रो थिएन । नसनाका छिमेकी उनलाई अस्पताल लैजान एम्बुलेन्स खोज्न गएका रहेछन् । हामी त्यहाँ पुग्दा नसना बोल्न सक्ने अवस्थामा थिइनन् । एकैछिनमा एम्बुलेन्स आइपुग्यो । उनलाई एम्बुलेन्समा राखेर अस्पताल लाँदै थियौँ । म उनको नजिकै बसेको थिएँ । उनले मलाई पुलुक्क आँखा खोलेर हेरिन् । श्वास घ्यार्र भएको आवाज सुनियो । त्यसपछि उनका दुवै आँखा पर्लक्क पल्टिए । मेरोअगाडि उनले अन्तिम सास फेरिन् । उनको अन्तिम हेराइले मलाई भन्दै थियो, “मेरो मनको राजा ! मैले तपाईंलाई मात्र पर्खेकी थिएँ । तपाईं आउनुभयो, अब म शान्तसँग मर्न सक्छु ।”