• १६ भदौ २०८१, आइतबार

‘रुग्ण उद्योग सञ्चालनको मोडालिटी बनाएर कार्यान्वयनमा जाऔं’

blog

काठमाडौं, वैशाख १५ गते। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले रुग्ण उद्योग सञ्चालनको मोडालिटी बनाएर त्यसलाई कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ।

 बिहीबार मन्त्रालयमा आयोजित छलफलमा मन्त्री बडूले यस्तो बताउनुभएको हो। छलफलमा विभागीय सचिव, महाशाखाका प्रमुख र सहसचिवको उपस्थिति थियो।

लामो समयदेखि बन्द रहेका रुग्ण उद्योग सञ्चालनको मोडालिटी र सरकारले विलासी उपभोग्य सामानको आयातमा गरेको प्रतिबन्धको विषयमा छलफल भएको हो। 

मन्त्री बडूले लामो समयदेखि बन्द रहेका रुग्ण उद्योग सञ्चालनको विषय सरकारको प्राथमिकतामा पर्ने भए पनि हालसम्म सञ्चालन हुन नसकेकोको उल्लेख नर्गुभयो। 

यस्ता उद्योग सञ्चालनका लागि उपयुक्त मोडालिटी तयार गरेर सञ्चालनमा ल्याउनुपर्ने उहाँको भनाइ छ। 

सबैको ध्यान चुनावमा केन्द्रित भएको मौकामा  अस्वभाविक मूल्य वृद्धि, कालोबजारी र  कृत्रिम अभाव देखाएर अनुचित फाइदा लिने प्रवृत्तिप्रति सचेत हुनुपर्ने उहाँको भनाइ छ। 

संघीय, प्रदेश, जिल्ला तथा स्थानीय तहसँग आवश्यक समन्वय गरेर बजार अनुगमन कार्यलाई प्रभावकारी बनाउन उहाँले निर्देशन दिनुभयो। 

मंगलबारको मन्त्रिपरिषद् बैठकले कम आवश्यक, विलासी एवं स्वास्थ्यका लागि हानिकारक १० वटा सामानको आयातमा चालु आर्थिक वर्षको असार मसान्तसम्म बन्देज लगाउने कुरा अल्पकालीन भएको र यसलाई आन्तरिक वस्तु उत्पादन तथा उपभोगको अवसरका रुपमा समेत बुझ्न, बुझाउन जरुरी रहेको उल्लेख गर्नुभयो।

मन्त्री बडूले अहिले देखिएको व्यापार घाटा तथा विदेशी मुद्राको व्ययभार कम गर्न आंशिक रुपमा भए पनि आयात प्रतिस्थापन एवं व्यवस्थापनको अल्पकालीन उपाय अवलम्बन गरिएको उल्लेख गर्नुभएको छ।

सरकारी निर्णयको प्रभावकारी कार्यान्वयनका लागि मन्त्री बडूले सम्बन्धित निकायलाई निर्देशनसमेत दिनुभएको छ।