• १३ असार २०८१, बिहिबार

लिची किन्न व्यापारी पुगे किसानको बारीमा

blog

गुणबहादुर रोका 

सुलीकोट, जेठ ७ गते । गोरखाको पालुङटार नगरपालिकामा विगत लामो समयदेखि व्यावसायिक रूपमा खेती गर्दै आएका पालुङटार नगरपालिका–७, च्याङलिङ आहालेबरका ईश्वर श्रेष्ठले ४५ रोपनी जग्गामा आफूले लगाएको लिची खरिद गर्न मकवानपुरदेखि एक जना व्यापारी आफ्नो बारीमा आएको बताउनुभयो ।   

पालुङटार नगरपालिकामा व्यापक रूपमा लिची उत्पादन वृद्धिसँगै व्यापारीहरू फूलमै लिची बोट खरिद गरेको कृषक ईश्वर श्रेष्ठले बताउनुभयो । स्थानीयस्तरमा व्यावसायिक रूपमा उत्पादन गर्दै आएका कृषक श्रेष्ठले भन्नुभयो, “देशका विभिन्न जिल्ला मकवानपुर, झापा, मोरङ, चितवन र काठमाडौँबाट समेत लिची खरिद गर्न व्यापारी गाडी लिएर कृषकको बारीमा पुग्छन् ।” 

स्थानीयस्तरमा उत्पादन भएको लिची बिक्रीका लागि बजारको समस्या नभएपछि लिची उत्पादन गर्ने किसानको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । गोरखाको सबैभन्दा धेरै लिची उत्पादन हुने ठाउँ नै पालुङटार नगरपालिकालाई लिइएको छ । 

कम लगानीमा धेरै आम्दानी हुने भएकाले पालुङटार नगरपालिकाका अधिकांश किसान लिची खेतीमा आकर्षित भएका छन् । लिची खेतीका लागि रासायनिक मलको प्रयोग हुँदैन । आफ्नो घर गोठको गोठेमल र स्याउलालाई मलका रूपमा प्रयोग गर्ने गरेका छन् । प्राङ्गरिक मलको प्रयोग गरेर यस क्षेत्रमा लिची उत्पादन हुँदै आएको छ । 

४५ रोपनी जग्गामा तीन सय बिरुवा लगाएर व्यावसाायिक लिची खेती गर्दै आउनुभएका कृषक श्रेष्ठले गत साल १० लाख रुपियाँको बिक्री भएको र यो वर्ष आफूले दुई वटा बोट राखेर बाँकी बोट व्यापारीको हातबाट १३ लाख रुपियाँमा बेचेको बताउनुभयो । 

यस क्षेत्र लिचीको पकेट क्षेत्र भएकाले वडा नं. ७ बाट मात्रै १० करोड रुपियाँ बराबरको लिची बिक्री हुने अनुमान गरिएको छ । कम लगानीमा धेरै आम्दानी हुने भएपछि वडाका लगभग ९० प्रतिशत किसान लिची खेतीमा आश्रित छन् ।