• १४ असार २०८१, शुक्रबार

खेलकुद विश्व विद्यालयको स्थापना गरिनुपर्छ : नेता महर

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार ६ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले खेलकुद क्षेत्रको विकासका लागि खेलकुद विश्व विद्यालय स्थापना हुनुपर्ने धारणा राख्नुभएको छ । 

नेपाल विद्यार्थी सङ्घ काठमाडौँ समितिले मूलपानी मैदानमा आयोजना गरेको बागमती प्रदेश स्तरीय जय नेपाल कप क्रिकेट प्रतियोगिताको समापन कार्यक्रमका उहाँले सो कुरा बताउनुभएको हो । 

“नेपालको क्रिकेटमा लगानी कम छ। हामीसँग सुविधा सम्पन्न खेल मैदान र पर्याप्त पूर्वाधारको अभाव छ। यस्तो अवस्थामा हामीले खेलकुद विश्व विद्यालय स्थापना गर्नुपर्छ। मैले यो माग धेरै पहिलेदेखि नै उठाउँदै आएको हुँ” उहाँले भन्नुभयो, “सरकारले सुनुवाइ नै गर्दैन, क्रिकेट रङ्गशाला र भौतिक पूर्वाधारमा छुट्याइएको बजेट पनि पर्याप्त छैन ।” 

बजेट अपर्याप्त रहेको र छुट्याइएको बजेटको पनि सही कार्यान्वयन नभएको उहाँको भनाइ छ । खेल क्षेत्रमा छुट्याइएको बजेटको सही सदुपयोग हुन नसक्दा खेलको विकास नभएको उहाँले बताउनुभयो । 

खेलको माध्यमबाट देशको नाम खेलाडीले विश्वमा रोशन गरिरहेको उहाँले बताउनुभयो । सरकारले खेलाडीको सेवा सुविधादेखि खेल मैदान र पूर्वाधारसम्म ध्यान दिनुपर्ने उहाँको सुझाव छ । 

क्रिकेटमा एक रन, एक बल र एक पलको उत्तिकै महत्त्व हुने उहाँले चर्चा गर्नुभयो । कांग्रेस सरकारकै नेतृत्वमा खेलकुद मन्त्रालयको स्थापना भएकाले आफ्नो पार्टी सधैँ खेलाडीको पक्षमा रहेको उहाँको दाबी छ । आगामी दिनमा पनि कांग्रेसले खेलाडीको हित र खेल क्षेत्रको विकासका लागि प्रतिबद्ध भएर काम गर्ने उहाँले बताउनुभयो । आजको खेलमा पुलचोक इन्जिनियरिङ कलेज र हिमालयन इन्जिनियरिङ कलेजबिच प्रतिस्पर्धा भएको छ ।