• १९ असार २०८१, बुधबार

आधाभन्दा बढी रोगीसहित एउटै कोठामा ८३ बालक कोचाकोच

blog

बाँकेको डुडुवामा रहेको जयेन्दु बालसुधार गृह । तस्विर - सिराज खान । नेपालगञ्ज

नेपालगञ्ज, वैशाख १५ गते । देशकै सबैभन्दा बढी गर्मी हुने सहरको रुपमा परिचित बाँकेमा अहिले तातो हावा ‘लु’ र प्रचण्ड गर्मीले जनजीवन अस्तव्यस्त छ । 

यस्तो प्रचण्ड गर्मीको बेला बाल बिजाइँमा संलग्न बालबालिकालाई सुधार्नका लागि सञ्चालनमा ल्याइएको बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरमा रहेको जयेन्दु बालसुधार गृह यातनागृहमा परिणत भएको छ । 

अत्यधिक गर्मीमा क्षमता भन्दा करिब तेब्बर बालकहरु सो बालसुधार गृहमा कोचाकोच गरेर राखिएकाले उनीहरुको दैनिकी निकै कष्टकर बन्दै गएको छ । 

सो बालसुधार गृहमा प्रचण्ड गर्मीको समयमा पनि एकै कोठामा ७३ देखि ८३ जनासम्म बालकलाई कोचाकोच राखिएको छ ।  बाँकी रहेका बालकहरु साना कोठामा र केही शौचालय अगाडिको भागमा सुत्ने गरेको बालसुधार गृहकी इन्चार्ज विमला काउचा मगरले बताउनुभयो । 

उहाँले ७० जनाको क्षमता भएको सो बालसुधार गृहमा अहिले १८३ जना बालक रहेको बताउनुभयो । ‘ठूलो समस्या भनेकै क्षमताभन्दा बढी बालक हुनु हो,’ काउचा मगरले भन्नुभयो, ‘सीमित कोठामा धेरै बालक राख्नुपर्दा व्यवस्थापन गर्न निकै समस्या छ ।’

अत्यधिक गर्मीको बेला पनि बालसुधार गृहमा क्षमताभन्दा तेब्बरजति बालक राख्दा बसाइ साह्रै कष्टकर देखिएको एड्भोकेसी फोरमका अधिवक्ता वसन्त गौतमले बताउनुभयो । ‘एउटै कोठामा धेरैजना बस्दा बालसुधार गृहमा छालासम्बन्धी रोगको संक्रमण फैलिएको छ,’ उहाँले भन्नुभयो, ‘सुधारगृहका ५० भन्दा बढी बालकमा यस्तो सङ्क्रमण पुष्टि भएको छ ।’

सुधारगृहमा रहेका १८३ बालकका लागि चार वटा मात्र शौचालय छन् । बिहानमा पालो पर्खेर शौच जानुपर्ने बाध्यताले धेरै कष्ट उठाउनुपरेको छ । त्यहाँ ढलको व्यवस्थापन हुन नसक्दा भान्सापछाडि ढलको पानी गन्हाउने, अत्यधिक लामखुट्टे लाग्ने गर्दा सुधारगृह यातना गृह बनेको बालकहरुले नै बताएका छन् ।