• ६ जेठ २०८१, आइतबार

गौतम बुद्धमा परीक्षण उडान

blog

भैरहवा समाचारदाता

भैरहवा, वैशाख १५ गते ।  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार परीक्षण उडान हुने भएको छ । नेपाल वायुसेवा निगमको जहाजबाट परीक्षण उडान हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार परीक्षण उडानका लागि निगमको विमान काठमाडौँ विमानस्थलबाट बिहीबार दिउँसो भैरहवाका लागि उड्नेछ भने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि साँझ ५ बजे काठमाडौँ फर्किनेछ ।

विमानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेका साथै पर्यटन मन्त्रालयका सचिव, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलगायत २६० जनाको टोली आउने प्राधिकरणले जनाएको छ । उक्त टोलीले विमानस्थलको अवस्था, भन्सार, अध्यागमन, सुरक्षालगायतका बारेमा जानकारीसमेत लिने छ ।

परीक्षण उडानपछि विमानस्थल अन्य मुलुकका विमान कम्पनीले पनि चार्टर्ड र व्यावसायिक उडानका लागि सूचना पठाउन सक्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिनुभयो । “परीक्षण उडान भइसकेपछि अब अन्य मुलुकले चार्टर्ड उडान गर्न सक्नेछन् भने व्यावसायिक उडानका लागि पनि पत्र पठाउन सक्नेछन्,” दाहालले भन्नुभयो ।

यो विमानस्थलबाट उडान भर्न सरकारले हवाई कम्पनीलाई औपचारिक आग्रह गरिसकेको छ । विमानस्थलमा व्यावसायिक उडान गर्न ११ भन्दा बढी मुलुकका विमान सेवा कम्पनीले चासो देखाएका छन् । यद्यपि व्यावसायिक उडानका लागि औपचारिक पत्र भने पठाएका छैनन् । जेठ २ गते बुद्ध पूर्णिमाका दिन व्यावसायिक अन्तर्राष्ट्रिय उडान गर्ने तयारी छ ।