• ९ जेठ २०८१, बुधबार

क्रिकेटरको सङ्घर्ष जर्सी

blog

सुकृत नेपाल

काठमाडौं, वैशाख १५ गते । सन् २०१९ मा बनेको तेलगु चलचित्रको रिमेक हो चलचित्र ‘जर्सी’ । चलचित्रमा एउटा क्रिकेट खेलाडीको सङ्घर्षलाई देखाइएको छ । खेलमा पनि राजनीति मिसिएको हुन्छ । चलचित्र एउटा मध्यमवर्गीय परिवारको सङ्घर्षको कथा हो । एउटा क्रिकेट खेलाडीले कसरी असफलताबाट सफलता हासिल गर्छन् भन्ने चलचित्रले देखाउन खोजेको छ । श्रीमान्–श्रीमती, बाबु–छोरा र कोच–खेलाडीको सम्बन्धलाई पनि चलचित्रमा दर्शाउन खोजिएको छ । एउटा असफल व्यक्ति आफू र आफ्नो परिवारका लागि कतिसम्म बोझ हुन्छ, उसलाई समाजले हेर्ने दृष्टिकोण एकाएक कसरी बदलिन्छ भन्ने कुरा चलचित्र ‘जर्सी’मा उजागर गर्न खोजिएको छ । 

अर्जुन तलवार (साहिद कपुर) चण्डीगढ निवासी हुन्छन् । उनी भारतीय क्रिकेट टिमका दाबेदार हुन्छन् तर केही कारणले गर्दा उनको क्रिकेटमा दाबेदारी चयन हुँदैन । यसपछि उनले क्रिकेट खेल्न छाडिदिन्छन् । अर्जुन ३६ वर्षका भइसके । उनले खेलकुद कोटाबाट जागिर पनि पाएका हुन्छन् तर त्यो पनि उनको हातबाट फुत्किन्छ । उनीसँग पैसा पनि छैन ।

उनको एउटा छोरा पनि छ । आफ्नो छोरालाई एउटा जर्सी किन्नसमेत अर्जुनसँग पैसा छैन । अर्जुनको छोरा भने आफ्नो बुबामा अझ पनि क्रिकेटप्रति जोस जाँगर भएको देख्छन् र आफ्नो छोराका लागि अर्जुनले फेरि क्रिकेटमा फिर्ता हुने निधो  गर्छन् । 

गौतम तिन्नुरीको लेखन तथा निर्देशन रहेको चलचित्र कथा साउथको भन्दा केही फरक छ । ‘जर्सी’ एउटा क्रिकेटरको जीवनमा आउने उतार–चढावको कथा हो । चलचित्रको मुख्य आधार भनेकै यसभित्र देखाइएका भावनाका कुरा हुन् । चलचित्रका प्रायः दृश्यले दर्शकलाई अवश्य धेरै कुराबाट प्रेरित पार्छ । दर्शक धेरै भावुक पनि हुन्छन् । चलचित्रमा निर्देशकले धेरै नै भावनाका कुरा दर्शकमाझ पस्किन खोजेकी छिन् । 

चलचित्रको सुरुवात एकदमै बोरिङ छ । ३०–४० मिनेटपछि मात्र चलचित्रले आफ्नो लय समात्छ । मध्यान्तरपछि चलचित्र रमाइलो छ । चलचित्रको कथाले पनि मध्यान्तरपछि नै आफ्नो पकड जमाउँछ । चलचित्रमा केही दृश्य धेरै नै राम्रा बनेका छन् । चलचित्र साहिद कपुर र अभिनेता पङ्कज कपुरबीचका दृश्य र संवाद हेर्नलायक छन् । चलचित्रको कथालाई उम्दा भन्न सकिन्छ । 

कलाकार साहिद कपुरको अभिनयले नै चलचित्र जमेको छ । चलचित्रकी नायिका मुणाल ठाकुरले पनि आफ्नो अभिनय क्षमता देखाएकी छिन् । पङ्कज कपुरको अभिनयको जति तारिफ गरे पनि कम हुन्छ । बालकलाकार रोहित कामराको अभिनय औसत छ ।