बेनीबहादुर कार्की
आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनको चहलपहल यतिबेला निकै बढेको छ । त्यसमा पनि सत्तामा रहेका दलहरूको गठबन्धनले गर्दा यतिबेला नेपाली राजनीतिक जगत् रङ्गमञ्चझैँ भएको छ । जितहारको राजनीतिले निष्ठामा चोट लाग्ने खतरा देखिएको छ । निर्वाचनमा रुख हराउने हो कि भन्ने चिन्ताले आमकाँग्रेसका कार्यकर्ता ग्रस्त देखिन्छन् । सकेसम्म दलको टिकट ल्याउने, नपाए दल बदल्ने, उम्मेदवारी दिने, चुनाव प्रचारमा शक्ति प्रदर्शन देखाउने, भए नभएका झुठा आश्वासनको सपना, बाँड्ने र जसरी पनि चुनाव जित्ने खेल यतिबेला भइरहेको छ ।
अर्कोतिर भ्रष्टाचार गरेर पैसा कमाउने खेल चलिरहेको छ । पहिले पनि यही भएकाले नेपालको हरेक क्षेत्रमा अहिले नाजुक अवस्था भएको हो । अहिले यो रोग झन् झाङ्गिएको छ । अहिले त यतिसम्म छ कि टिकट नपाउनासाथ पहिलेको दलबाट राजीनामा दिने र अर्को दलको सदस्य लिएको एक घण्टा नबित्दै सदस्य बनेको दलबाट मेयरकै उम्मेदवार बनेका उदाहरण धेरै देखिएका छन् ।
उदाहरणका लागि वीरगञ्जका मेयर विजय सराबगी मधेसवादी दल त्यागेर एमालेको सदस्यता लिनासाथ फेरी वीरगञ्जकै मेयरको उम्मेदवार बनेको र मलङ्गवा नगरपालिकाका मेयर निर्सल साहले काँग्रेसको टिकट नपाउनासाथ मधेसवादी दलमा गएर फेरी मलङ्गवा नगरपालिकाको उम्मेदवार बनेको विषय उदाहरण भए पनि यस्ता धेरै घटना भएका छन् । यसरी अहिले राजनीतिमा जसरी पनि पद हत्याउने र धन कमाउने नै भएको देखिएको छ । जो विकृतिको पराकाष्ठा हो ।
यति मात्र नभएर अहिलेको प्रमुख काम गठबन्धनमा कुरा नमिले आफू रहेको दलबाट सामूहिक रूपमै राजीनामा दिने र स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराउने काम पनि बाक्लै भइरहेको छ । यही भएकाले दलहरूको नेतृत्वलाई उम्मेदवार निधो गर्न सकस भएर वैशाख १२ गते बेलुकाको ५ बजेसम्म पनि उम्मेदवार टुङ्ग्याउन हम्मेहम्मे परेको थियो ।
अहिलेको परिदृश्य हेर्दा यी काम पद र पैसालाई नै केन्द्रबिन्दु बनाएर भइरहेका छन् । दल र नेताहरूका लागि सत्ता शक्ति प्राप्तिका लागि राम्रै गरेको लागिरहेको हुन सक्छ तर जुन उद्देश्यका लागि शहीद भए, जुन उद्देश्यको लागि लाखौँ लाख आन्दोलनकारीले लोकतान्त्रिक आन्दोलनमा सहभागी भए त्यसको अवमूल्यन गर्न खोजिएको छ ।
यसरी ल्याइएको मौजुदा सङ्घीय गणतन्त्रको अक्षर र भावअनुसार काम हुन नसके यसको भविष्य के होला ? सुरक्षित होला नहोला ? काम यसरी नै सधँै नहुने हो भने ती आन्दोलनकारी र उहाँहरूका सन्ततिले अहिलेको गणतन्त्रको रक्षा कसले र कसरी होला ? अहिलेको अहं प्रश्न यही भएको छ । यसैक्रममा औपचारिकता निभाउन केही दिन पहिले मात्र हामीले लोकतन्त्र दिवस मनाएका छौँ तर यत्रतत्र सर्वत्र काम भने त्यो आन्दोलनको ठीक विपरीत भइरहेको छ ।
भर्खरै मात्रै सरकारबाट सम्मानित मालपोत अधिकृत डेढ लाख घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेर कारबाही गरिरहेको छ । यो घटनाबाट के उजागर भएको छ भने राम्रा भनेका राष्ट्रसेवक त धुस लिँदालिँदै पक्राउ परेका छन् भने अरूको अवस्था के होला । यही भएर जनता वाक्क दिक्क भइसकेका छन् । यसरी घुस र भ्रष्टाचार सर्वत्र व्याप्त छ । हाम्रो राजनीतिक प्रणालीको उद्देश्य र जनताको हित विपरीत नेता र कर्मचारीले गलत काम गरेपछि जनताले कहिलेसम्म र कसरी खप्ने ? त्यसैले राज्य प्रणालीका सञ्चालकलाई समयमै आफ्नो दायित्वबोध नभए निकट भविष्यमा अनिष्ठ हुुने सम्भावना हुनेछ ।
विगतमा जे भयो, भयो । यसलाई मेटाउने भनेकै अब त्यसो नगर्ने भन्ने नै हो । निर्वाचन सुधारको सुरु बिन्दु भनेकै स्थानीय निर्वाचन नै हो । त्यसैले राम्रो कामको थालनी आजैबाट गर्न आवश्यक छ । विगतका गल्ती, कमी, कमजोरीलाई आत्मसाथ गरेर नेतृत्वले आत्म आलोचना नगर्ने हो भने अब परिणाम नकारात्मक हुन सक्छ । त्यसैले अहिले दलहरूले सार्वजनिक गरेको घोषणापत्रलाई जनतालाई ठग्ने भाँडो नबनाइ इमानदारीपूर्वक कार्यान्वयन गर्न जरुरी छ । अनि मात्र नेपाल र नेपालीको भविष्य राम्रो हुनेछ र हरेक दलले घोषणापत्रमा उल्लेख गरेको सुखी नेपाली, समृद्धि नेपाल भन्ने नारा पनि सफल हुनेछ ।
तर दुःखको कुरा भन्नुपर्छ अहिलेसम्म सुधारको सङ्केत कतै देखिएको छैन । न त दलहरूले कार्यकर्ताको मूल्याङ्कन गरेका छन् न त असल र इमानदारले अवसर नै पाएको देखिएको छ । अधिकांश उम्मेदवार धनवाद र डनवादकै बलमा अवसर पाएका देखिएको छ । पैसा नहुने इमानदार र पुरानाहरू जिल्लाराम परेर पुर्पुरोमा हात लगाएर बस्न बाध्य हुनु परेको अहिलेको वास्तविक अवस्था नै हो । यसरी उम्मेदवारी दर्ता भएपछि अरू कार्यकर्ताले कसरी सहयोग गर्ने ? यो रवैयाले असर हार जितमा पर्ने भएको छ । पैसाकै बलमा सहमति विपरीत टिकट ल्याएपछि अरूको मन दुख्न नै भयो ।
यसबाट दुई वटा अवस्था सिर्जना हुनेछ । पहिलो कार्यकर्ता पङ्क्ति निष्क्रिय बस्छन् वा विपरीत मत दिनेछन् । बहुसङ्ख्यक स्वतन्त्र उम्मेदवारको अर्थ पनि यही हो । अहिलेकोे अधिकांश रुझान्ले यही सङ्केत गरेको छ । यो भनेको मौजुदा राजनीतिक प्रणालीका लागि शुभ सङ्केत होइन ।
यस्तो परिस्थितिले विकृति विसङ्गति नै बढाउने हो । अहिले पैसा तिरेर टिकट ल्याएकाहरूले अहिले जिते भन्ने ठान्नु केवल भ्रम मात्र हुनेछ । अन्ततः पैसाकै बलमा चुनाव जित्न सकिँदैन । केही गरी जिते पनि त्यो हार नै हुनेछ । पहिलो हार भनेको भ्रष्टाचार गरेर कमाउनुपर्ने भएकाले नैतिक हार हुने नै भयो । दोस्रो हार भनेको कुनै बेला उसले जेल जानु नै पर्नेछ ।
यो लोकमा होस् वा परलोकमा गएर पनि अहिले गरेको यो कुकर्मको फल नभोगी सुखै पाइने छैन । त्यसैले राज्य सञ्चालनका अन्तिम सार्वभौम नेपाली जनतालाई हामीले धेरै बेकुफ बनायौँ । अब जनता धेरै सचेत भइसकेका छन् । अब पैसा र खानपिनमा रमेर आमजनताले विगतमा गलत गरेकालाई आफ्नो अमूल्य मत दिने छैनन् । अझै कोही झुकिन्छन् भने ती आजीवन धोका खाइरहनेछन् र
उनीहरूलाई सन्तान दरसन्तानले धिक्कार्ने छन् । अब नेतृत्वपङ्क्तिले गल्ती नगर्ने प्रण गरौँ । अन्तिम नेतृत्व ठीक भएमा सबै ठीक हुन्छ, हुन्छ । नेताको कमजोरीले कर्मचारीले फाइदा लिइरहेका छन् । विश्वमा असल नेतृत्वले नै मुलुक बनाएका हुन् । भारत, सिङ्गापुर वा मलेसियामा थोरै समयमा असल नेतृत्वले नै आजको अवस्थाको उचाइमा उठाएका हुन् । आज नेपाललाई पनि त्यस्तै नेतृत्वको खाँचो छ । मुलुकले नेपाललाई माया गर्ने नेता खोजिरहेको छ । आफूलाई नेता बनाएका जनताप्रति इमानदार बनौँ । आफूलाई नेता बनाएका जनतालाई धोका दिएर पाप नगरौँ । जनताको हित गर्ने इमानदार नेता जन्माउँ । यसैमा सबैको भलो हुनेछ ।