तिजको लहर आयो बरिलै
यो तिजमा रमाउन बरिलै,
आँसु र हाँसो पोखौँ बरिलै
दुःख र सुख साटौँ बरिलै ।
हिन्दु महिलाका लागि तिज महान् चाड हो । यो हिन्दु सनातन धर्मको सर्वप्राचीन महान् एवं पौराणिक चाड पनि हो । जगत्माता पार्वतीले सर्वप्रथम महादेव स्वामी पाऊँ भनेर लिएको व्रत तिज हो । त्यसबेलादेखि नै प्राचीन हिन्दु नारीहरूले यो तिजको व्रत बस्दै आएका छन् । पानीसमेत नखाई निराहार व्रत बस्ने चलन रहेको छ । यो व्रत अति सर्वश्रेष्ठ र अति कठिन व्रत पनि हो । तिजको महिमा अपरम्पार छ ।
पावनको पनि अति पावन पर्व तिज हो । व्रत बस्नाले ईश्वरको सानिध्यता प्राप्त हुन्छ र जीवन मङ्गलमय हुन्छ । पावन व्रतबारे पद्म पुराणमा उल्लेख छ । त्यसैले अति हर्षोउल्लासका साथ तिज हिन्दु नारीहरूले मनाउँदै आएका छन् । तिजमा विवाहित नारीहरूले आफ्नो पतिको दिर्घायु र सुस्वास्थ्यको कामना गरेर व्रत बस्छन् भने अविवाहित नारीले राम्रो र सुयोग्य पति पाऊँ भनेर व्रत बस्छन् ।
हरितालिकाको नामले परिचित तिज पर्वभरि विवाहिता महिला माइत गई हर्षोल्लाससाथ मनाउनुपर्ने परम्परा अकाट्य रूपमा चलिआएको छ । त्यसैले नेपाली महिला पर्वभरि माइतमा बसी दिदीबहिनी, साथीहरूसँग जमघट गरी भगवत् उपासनामा व्यस्त रही धुमधामसँग नाच गानमा रमाउँछन् । यसरी नै हामी तिजलाई रमाई आध्यात्मिक सुखको चरमोत्कर्षमा लीन हुन्छौँ । तिजको व्रतलार्ई भगवान्को प्रसादस्वरूप शिरोधार्य गर्दै आइरहेका छौँ । यो अपूर्व छ र विश्वमाझ अद्वितीय एवं अनुकरणीय पनि । यस्तो छुट्टै सर्वप्राचीन या सनातन हिन्दु धार्मिक मौलिक विशेषता बोकेको यो पर्वको महिमा अपरम्पार छ । जसको जति बयान गरे पनि कम हुन्छ । जसले नारी जातिको मात्र होइन, राष्ट्रको गरिमा र महत्वलाई पनि अझ शिखरमा पु¥याउन सफल भएको छ । धार्मिक आचारसंहिता र निष्ठाले परिपूर्ण तिजमा विवाहिता महिलाले विशेष गरेर आफ्नो पतिको दिर्घायु, सुस्वास्थ्य र मङ्गलमय जीवन अर्थात् अटल सौभाग्यको कामना गर्छन् । अविवाहित महिलाले पनि आफूले चाहेको राम्रो वर मिलोस् भनेर श्रद्धापूर्वक व्रत बस्छन् । भाद्रशुक्ल त्रयोदशी हरितालिकाको व्रतको पावन दिनमा सौभाग्यवती महिलाले रातो टीका, चुरा, पोते, सिन्दुर, रातो गुन्युचोली र गरगहनाले सुसज्जित भई दुलही झैँ सिँगारिएर शिव मन्दिरमा पूजा गर्छन् । विभिन्न शिवालय तथा पीठहरूमा शिवोपासनामा लीन भएर नाच्दै गाउँदै अत्यन्त आनन्दित मुद्रामा दिनभर बिताउँछन् ऋषिपञ्चमीको दिन पुनः महिलाहरू १६ शृङ्गार गरी सप्तऋषिको पूजाअर्चनामा व्यस्त हुन्छन् ।
ऋषिपञ्चमीको व्रत विधि हरितालिकाको व्रत विधि भिन्न भएकाले यस दिनमा रजस्वला भएका चेलीहरूले मात्र सप्तऋषिको व्रत ग्रहण गर्दै स्तवनपूजन गर्ने गर्छन् । पदम्पुराणमा उल्लेख भए अनुसार भाद्र शुक्ल त्रयोदशीका दिन सत्ययुगमा हिमालयकी पुत्री माता पार्वतीले महादेव स्वामी पाऊँ भनेर पानीसमेत नपिई निराहार व्रत बसी महादेव स्वामी पाउन सफल भएको सम्झनास्वरूप तिज मनाउने गरिएको छ । यस वैदिक परम्परालाई आजका नेपाली महिलाले पनि उत्तिकै श्रद्धा भक्तिसाथ मनाउँदै आइरहेका छन् ।
तिजको व्रतको सूत्रधार माता पार्वती हुन् । पार्वतीले महादेव स्वामी पाउन व्रतलाई शिरोधार्य गरेर आफ्नो मनोकाङ्क्षा पूरा गर्न सफल हुनुभयो । त्यसैले हरेक नेपाली महिलाले व्रत गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । हरितालिकाको व्रतको दिनमा शिवपीठमा व्रतालु चेलीहरूको ठुलो भिड लाग्ने गरेको छ । यस पर्वको महत्वपूर्ण विशेषता भनेको बर्सौंसम्म भेटघाट नभएका दिदीबहिनी, साथीहरूबिच पुनर्मिलन हो । तिजका गीतद्वारा आफूले पराई घरमा भोगेका सुख दुःखका कुरालाई एकआपसमा साटासाट गरी मनका भारीहरू बिसाई शान्ति, सद्भाव र मित्रताको भाव आपसमा बाँड्ने गर्छन् । तिजमा दिदीबहिनी तथा साथीहरू जम्मा भएर महिलामाथि हुँदै आइरहेका अन्याय र अत्याचारविरुद्ध गीतमार्फत अभिव्यक्त गर्ने गर्छन् । पारिवारिक एवं सामाजिक शोषण दमन, उत्पीडनविरुद्ध चेतना जागृत गर्दै सामाजिक कुरीति, कुदृष्टि र कुसंस्कारका विरुद्ध आवाज उठाउँछन् । पुरुषप्रधान समाजलाई चुनौती दिँदै नैतिक आदर्शतिर डो¥याउनु हो । पतिलाई परमेश्वरका रूपमा पुज्ने नारीलाई पनि देवीका रूपमा सम्मानित गर्नुपर्ने जस्ता सामाजिक परिवर्तनका स्वर भरिएका सन्देश फिजाउन यो महत्वपूर्ण अवसर हो । साथै समाजमा व्याप्त महिला हिंसालाई निर्मूल गर्न विभिन्न गीतमार्फत सन्देश प्रवाह गर्ने गरिन्छ । जसले गर्दा महिलाप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन हुन थालेको छ । अर्थात् यो तिजले समाजलाई सचेत गर्दै आएको छ । आध्यात्मिक दर्शन र उपासना मात्र नभई यो पर्वले समाजको आँखा उघार्ने कार्य गर्दै आएको छ । महिलालाई धार्मिक र नैतिक मार्गतिर हिँड्न उन्मुख गर्छ भने समाजलाई पनि सही दिशामा चल्न सन्देशसमेत प्रवाह गर्छ ।