फडिन्द्र अधिकारी
लेखनाथ, भदौ १० गते। हरेक चाडपर्व र उत्सवलाई पृथक तवरले मनाउने पर्यटन राजधानी पोखरामा अहिले ठाउँ ठाउँमा तीज केन्द्रित मेला, महोत्सव जारी छन्। पोखरा महानगरमा आधा दर्जनभन्दा बढी तीज मेला भइरहेका छन्। मेलामा तीजगीत प्रतियोगिता, नृत्य प्रतियोगिता, झाँकी प्रदर्शनी, सामूहिक दरदेखि खेलकुदका गतिविधिसमेत समावेश छन्।
यस्ता मेलाले मौलक नेपाली संस्कृति जगेर्नादेखि यहाँको अर्थतन्त्रलाई समेत चलाइमान बनाउने आयोजकहरु बताउँछन्। पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)ले मङ्गलबार र बुधबार पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ आयोजना गरेको छ।
नेपाली महिलाले परम्परागत रुपमा मनाउने तीजको शैलीलाई पुनर्जीवित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको टेवान अध्यक्ष शोभा न्यौपाने पाण्डेले बताउनुहुन्छ। यो महोत्सवमा तीजगीत प्रतियोगिता, खेलकुद प्रतियोगितासँगै महिला सशक्तीकरणसम्बन्धी दुईवटा ‘टक सो’ समेत हुँदै छन्।
पोखरा–१ स्थित पुरानो टुँडीखेलामा तेस्रो संस्करणको तीज महोत्सवको रौनक छ। भदौ १५ गतेसम्म चल्ने महोत्सवमा दैनिक उपभोग्य सामान, कृषि, हस्तकला, बैङ्क तथा वित्तीय संस्था लगायत गरी एक सय ५० व्यापारिक कक्ष रहेको रहेको आयोजक इन्द्रेणी एकीकृत विकास केन्द्र अध्यक्ष भानुभक्त अधिकारी बताउनुहुन्छ। महोत्सवमा खुला मौलिक तीजगीत, एकल नृत्य, ढिँकीजातो चलाउने, छेलो हान्ने जस्ता प्रतिस्पर्धासमेत भइरहेका छन्।
पोखरा वडा नम्बर १६ मा पर्ने लामाचौर र बाटुलेचौर दुई ठाउँमा तीजका महोत्सव एकैसाथ चलिरहेका छन्। लामाचौरमा नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा आइतबार सुरु भएको महोत्सवमा तीजगीत तथा नृत्य, भलिबल लगायत जारी छन्। यहाँ ‘कृषि तीज गीत प्रतियोगिता’ हुँदै छ। बाटुलेचौरमा सोमबार सुरु भएको मेला मङ्गलबारसम्म चल्नेछ। मेलामा महिला दौड, विद्यालय स्तरीय तीज नृत्य र समूहगत तीजगीत प्रतियोगिता हुँदै छन्।
पर्यटकीय गन्तव्य सराङकोटमा आइतबारदेखि सुरु भएको तीज महोत्सव भदौ १० गतेसम्म चल्ने छ। सराङकोट धार्मिक क्षेत्र विकास समितिले आयोजना गरेको महोत्सवमा खुला तीजगीत प्रतियोगिता, एकल महिला नृत्य प्रतियोगिता, डोरीतान, ठेलो हान्ने लगायतका गतिविधि भएका हन्।
तीजमा उत्ताउला गीत गाउने प्रवृत्ति बढेका बेला केही वर्षदेखि पोखरामा तीज केन्द्रीत मेला, महोत्सव हुन थालेका छन्। महानगरका सबैजसो वडा कार्यालयले तीजगीत प्रतियोगिता आयोजना गर्न थालेका छन् भने सञ्चार माध्यमहरुले पनि तीज महोत्सव गर्न थालेका छन्।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख मणिराज लामिछानेले सांस्कृतिक अवसरलाई मेला, महोत्सवका रुपमा मनाउँदा पर्यटन क्षेत्रमा समेत योगदान पुग्ने बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, “पर्यटकीय सम्पदामा रूपान्तरण गर्दै देशको आर्थिक समृद्धिमा अमूल्य योगदान दिन तीज महोत्सवले भूमिका खेल्छ। यस्ता महोत्सवहरु हुनु अर्थतन्त्रको विकास र सांस्कृतिक संरक्षण दुवै दृष्टिले सकारात्मक छ।”