• १० भदौ २०८२, मङ्गलबार

करिश्मालाई मिस तिजको उपाधि

blog

गोरखापत्र समाचारदाता

काठमाडौं भदौ १० गते । युवापुस्ताले आफ्नै मुलुकमा सम्भावना देखेर काम गर्नु प्रेरणादायी भएको गोरखापत्र दैनिकका प्रधान सम्पादक जुनारबाबु बस्नेतले बताउनुभएको छ । स्नो सञ्चार प्रोडक्सनले राजधानीमा आयोजित गरेको ‘मिस एन्ड मिसेस तिज–२०२५’ र ‘मिस्टर तथा मिस लिटिल स्नोज नेपाल–२०२५’ को ग्रान्ड फिनालेमा प्रमुख अतिथिका रूपमा बोल्नुहुँदै बस्नेतले पछिल्लो समय बिदेसिने लहर चलेका बेला युवाले यस्ता कार्यक्रमको आयोजना गरेर नेपालमै केही गर्न सक्ने सन्देश दिएको बताउनुभयो ।

‘मिस एन्ड मिसेस तिज–२०२५’ को उपाधि मिसतर्फ करिश्मा शाही र मिसेसतर्फ तिलकुमारी थापाले जित्नुभयो । यसै गरी ‘मिस्टर तथा मिस लिटिल स्नोज नेपाल–२०२५’ को विजेतासमेत घोषणा गरिएको छ । सोहित महर्जन (ग्रुप ‘बी’) र कौशल चौधरी (ग्रुप ‘ए’) मिस्टर लिटिल स्नोज नेपाल चुनिनुभयो । सुयना खड्का (ग्रुप ‘बी’) र अनिवा जिमी (ग्रुप ‘ए’) ले मिस लिटिल स्नोज नेपालको उपाधि हासिल गर्नुभयो । योङ्गेस्ट इभेन्ट अर्गनाइजर एवं स्नो सञ्चार प्रोडक्सनका सिइओ सम्भव राउतक्षेत्रीले विजेताले आगामी अक्टोबरमा फिलिपिन्समा हुने कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्ने जानकारी दिनुभयो ।