• १० भदौ २०८२, मङ्गलबार
blog

नेपाली समाजमा उल्लास र उमङ्गले भरिएको चाडको पर्याय बनेको तिज आएसँगै आफन्तहरूको भेटघाटको मनोकाङ्क्षाले हर्षित बनाउँछ । बाल्यकालको याद दिदीबहिनी, दाजुभाइ, बुवाआमा, साथीहरूका बिचको आपसी भेटघाट, माया र प्रेम जताततै छचल्किन्छ । माइतीको पर्खाइमा बसेका चेलीको मनमा आउने खुसी र चेलीको आगमनको प्रतीक्षामा रहेका माइतीबिच आत्मीयता, ममता र स्नेहको प्रवाहले परिवारसँग गहिरो सामिप्यताको अनुपम अनुभूति ल्याउँछ । तिज माइती र चेली पुनर्मिलनको चाहना, सांस्कृतिक जमघट र आध्यात्मिक उर्जा पस्किने चाड हो । हरेक वर्ष कृष्णाष्टमीलगत्तै हर्षाेल्लास लिएर आउने यो पर्वमा दरका रूपमा खाइने मिठा परिकारको संयोजन मौलिक गीत र नाचगानले समाजलाई उत्सवमय बनाउँछ । तिजप्रतिको धार्मिक आस्था, आध्यात्मिकताले ल्याउने ऊर्जाले मनमा आनन्द, उल्लास र आत्मसन्तुष्टि दिन्छ । 

नेपाली पात्रो अनुसार भाद्र महिनाको शुक्ल तृतीया तिथिमा पर्ने हाम्रो मौलिक पर्व हरितालिका तिज नेपाली महिलाले धुमधामका साथ तीन दिनसम्म मनाउँछन् । तिजको दिन व्रत बसेर शिवपार्वतीको पूजाआराधना गरिन्छ । हिन्दु धार्मिक मान्यता अनुसार भगवान् शिव शाश्वत, परम तत्व, ओम हुन् भने माता पार्वती सृष्टि, उर्जा र प्रकृतिकी देवी हुन् । तिजमा उनै शिवपार्वतीको पूजाअर्चना गर्दै परिवारमा सुस्वास्थ्य, सुख शान्ति र समृद्धिको प्रार्थना गरिन्छ । दिनभर तिजका गीतमा नाच्ने, मठमन्दिर जाने प्रचलनले तिजलाई सांस्कृतिक मात्र होइन आध्यात्मिकतामा पनि जोडेको छ । माता पार्वतीले महादेवलाई पतिका रूपमा स्वचयन गरी उहाँलाई पाउनका लागि साधना गर्नुभएको थियो । सोही सनातनी परम्परा अनुरूप प्रकृतिकी देवी पार्वतीबाट प्रेरणा लिई अहिलेका महिलाले तिजलाई स्वतन्त्रता र आत्मनिर्णयका अधिकारको उपयोगको पर्वका रूपमा मनाएका हुन्छन् ।

तिजले महिलालाई एकाग्रता र भक्तिभावबाट आत्मविश्वासी बन्न सिकाउँछ । आवश्यक ज्ञान सिप आर्जन गरी आर्थिक रूपले सबल, सशक्त र आत्मनिर्भतामा अग्रसर हुन पनि प्रेरित गर्छ । महिला सक्षम भएमा सिङ्गो परिवार सुखी र सम्पन्न हुन्छ । तिजमा महिलाले माइती, साथी र परिवारसँग सामीप्यता बढाई आफ्ना भावना एकआपसमा साटासाट गरी मन हलुका गर्ने हुँदा यसले भावनात्मक सम्बन्ध पनि सुदृढ बनाउँछ । 

तिजमा रातो रङ, शृङ्गार रङ्गीचङ्गी चुरामा सजिएका सौन्दर्य र शक्तिका प्रतीक नारी प्रफुल्ल मुद्रामा रमाइरहेका हुन्छन् । नारी खुसी र सम्मानित भएमा परिवार तथा समाज नै उज्यालो हुन्छ । मनुस्मृतिको निम्न श्लोक ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः’ अर्थात् जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ ईश्वर पनि खुसी हुन्छन् भन्ने उल्लेख छ । आमा, हजुरआमा, दिदीबहिनी, छोरी, बुहारी, फुपू, भदैनी, भाउजू  जस्ता अनेक नाता एकै ठाउँमा जुट्ने भएकाले हाम्रो अनुपम संस्कृति भएको पर्व तिजले महिलालाई सम्मान गरेको छ । आधुनिक समाजमा तिज मनाउने तौरतरिका, शैली तथा प्रवृत्ति फेरिँदै गएको छ । तिजको मौलिकता धार्मिक आस्था र समाजमा नारी एकताको भावना भने जीवन्त नै छ । 

प्रकृतिको रसिलो हरियालीसँगै जताततै खेतमा धान पसाउन लागेको र खेतका डिलमा मासका झाङ गुजुमुज्ज परेको तथा बारीमा कोदो, सिलटिम (मस्याङ) झाँगिएको, कतैकतै कुटिलकोसा पोटिला भएका, खरबारीमा हरियो लहलह घाँस भएको समयमा तिजको रौनक सुरु हुन्छ । वर्षाले खोलानाला उर्लेका, छाँगा छहरा छङछङ गर्दै बहेका, पाखापखेरामा विशुद्व पानीका मूल फुटेर कलकल पधेँरा र खोल्साखोल्सी सुस्साइरहेको समयमा प्रकृति जस्तै लहलह तिज बहन्छ । आमा भाउजूले खुसीसाथ पकाएका परिकार, नयाँ नयाँ भाका र शैलीका गीत, आकर्षक राता र रङ्गीचङ्गी पहिरन, घर घरमा गोरस, घरवरिपरि तरकारीको छेलोखेलो, माइत आएका चेलीको हँसिलो अनुहारले तिजको रौनकमा अझै आनन्द थपिदिन्छ र्।

दरखाने दिन बिहानैदेखि गाईवस्तुका लागि घाँस छिट्टै पु¥याएपछि त आनन्द हुन्छ भनेर नजिकैको खरबारी साँचेर राखेको घाँस काटेर आएपछि आमाले पकाएको चिल्ला खाजासँगै तामाको रसिलो तरकारी, करेला र भिन्डीको अचार र घिरौँलाको तरकारीको स्वाद अद्भुत नै हुन्छ । त्यसै गरी दिउँसो बारीमा फलेका विभिन्न फलफूलसमेत र बेलुका मसाउरो (खिर), अचार, तरकारी खाने चलन पनि उत्तिकै रमाइलो हुन्छ । दरसँगै दिदीबहिनीको मन हलुका पार्न र सुख दुःखका कुराकानी गर्ने अवसर त्यसमाथि मन छुने गीतसहितको नाचगानले बेग्लै माहोल बनाउँछ ।

तिज शब्दले नै विवाह गरेर गएकी चेलीलाई मनभरी उल्लास भरिदिन्छ । आफ्नो जन्मघर र माइतीसँग मिलनको क्षणको पूर्वकल्पना हृदयभरि अनेकौँ पटक दोहोरिरहन्छ । हँसिला र मायालु बाबुआमाका चाउरिएका गाला, बाबुको गर्विलोपनसहितको मुहारमा पढ्न सकिने प्रसन्नता, आमाको वात्सल्यले ओतप्रोत अनुपम ऊर्जा अन्तर्मनमै पुगेर शीतलता छरिदिन्छन् । उनका हातले स्पर्श गर्दा मात्र पनि मन मस्तिष्क र शरीरका सबै कोषले अनुकूल रोमाञ्चक प्रतिक्रिया उत्पन्न गर्छन् । विशेष गरी आमाको अलौकिक सुगन्ध र खुला हृदयको आँचलमा पुग्दा बाल्यकालकै अनुभूति हुन्छ ।

पहिले पहिले दिदीबहिनी आफ्ना खुसी तथा वेदना गीतका माध्यमबाट पोख्थे । मादल र तालीसँगै सुर मिलेका सुन्दर हुन्थे । चौतारीमा भेला भएर नाच्ने गाउने गरिन्थ्यो । तिज नजिकिँदै गर्दा जनैपूर्णिमापछि प्रायः साँझ एकअर्काको घरमा भेला भई गीत गाउने चलन थियो र गाउँघरमा भने अहिले पनि छ । आमादिदीले चौतारीमा बसेर गाएका गीतले महिलाका कथा, व्यथा मात्र होइन देशको कथा पनि बोल्थे । आजकल प्रविधिको सहज पहुँचका कारण नयाँ नयाँ भाका र आधुनिक शैलीका युवा कलाकारले ल्याएका गीत विश्वका हरेक कुनाबाट युट्युबमा बजाएर नाच्न थालिएको छ । तिज मनाउने शैलीमा र तिजमा गाइने गीतका भाका र शैलीमा व्यापक परिवर्तन आएको छ । परिवर्तनशील समय र समाजले गीत सङ्गीतमा समेत नयाँ स्वाद पस्किएका छन् । तिजको रौनकलाई सुरम्य बनाइदिने हरिदेवी, सिन्धु, विष्णु, कोमल, रचना, अस्मिता, समीक्षा, एलिनालगायतका कलाकारको स्वर कला र गाथाले नेपालको सङ्गीत, कला र संस्कृतिलाई विश्वभरि चिनाएको छ । विदेशमा तिज प्रस्तुतिका कार्यव्रmम प्रतीक्षा गर्ने दिदीबहिनी र दर खुवाउन उत्सुक दाजुभाइको सत्कार विदेशमा स्वदेश झल्काउने स्वरूपमा छ । हाम्रो मौलिकता सजीव बनेको छ ।

पहिले तिज खास गरी नेपाल र भारतका केही राज्यमा मनाइन्थ्यो तर आज प्रायः संसारभर मनाइन्छ । नेपालका अधिकांश समुदायले तिज मनाउने हुँदा यसले सामाजिक विविधताबिचको एकता र सद्भावसमेत बढाएको छ । अहिले धेरै दिदीबहिनी विभिन्न कारणले विदेशमा रहेका छन् । उनीहरूले पनि प्रविधिबाटै जोडिएर नाचगान गर्ने र विदेशमा पनि भेला भएर मिठो मसिनो खाने चलन नेपाली डायस्पोरामा राम्ररी नै जमेको छ । विदेशी दिदीबहिनीलाई पनि सम्मिलित गराई तिज मनाउने प्रचलन बढेको छ । यसले नेपाली कला र संस्कृतिलाई विदेशसम्म फैलाउन मद्दत पुगेको छ । यस संस्कृतिले केही हदसम्म मित्रताको विस्तारका साथै कूटनीतिको क्षेत्रमा समेत भूमिका खेलेको अनुभूति हुन्छ । तिजका बेलामा सबैले राम्रो व्यवहार गरेर सानातिना कुरालाई बिर्सेर सबै सम्मिलित भएर पर्व मनाउँदा बेग्लै रमाइलो हुन्छ । संस्कृतमा ‘वचनं किम दरिद्रताम’ भने झैँ केही गर्न वा दिन नसके पनि आत्मीय मिठो वचनलाई केही खर्चनु पर्दैन । सबै मिली रमाइलो गर्दा वरपरको परिवेश र माहोल नै उल्लासमय बनिदिन्छ । जमघट गर्नु, भलाकुसारी गर्नु आफ्ना दुःख सुख सेयर गर्नु अति जरुरी हुन्छ । भन्ने  गरिएको पनि छ साथी, आफन्तजन जम्मा भएर खुशी र ज्ञान जति बाँड्यो उति बढ्छ ।

तिज संस्कृति र मनोरञ्जनको पर्व मात्र नभई आफूभित्रको क्षमता र उर्जालाई उजागर गरी आध्यात्मिक पक्षमा समेत निखार ल्याउने पर्व हो । यसलाई आत्मा र परमात्माको मिलनका लागि गरिने साधनाका रूपमा पनि लिन सकिन्छ । जुनसुकै धर्मले मानिसलाई संस्कार, मूल्यमान्यता, कुशल व्यवहारका साथै नैतिकता पनि सिकाउँछ । आधुनिक समाजमा मानिसको स्वास्थ्य, शिक्षा, आर्थिक अवस्था, सामाजिक सम्बन्ध र मानसिक सन्तुलनको पनि उत्तिकै महìव छ । आफ्नो आस्था अनुसार आध्यात्मिकतासँग जोडिएर जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन यो पर्वले महìवपूर्ण भूमिका खेल्छ । मनमा आनन्द र खुसीको तह बढाइदिन्छ । साथै चेली माइतीको सम्बन्धलाई जीवन्त र पुनर्ताजगीपूर्ण गराउँछ ।