• ३० असार २०८१, आइतबार

विदेशमा स्वदेशको सम्झना

blog

स्वदेशको महत्व मुलुक छोडेपछि थाहा हुन्छ भन्ने कुरा मलाई पछि मात्र थाहा भयो । स्कुल तथा कलेज अध्ययन गर्दा कोरा अध्ययन त गरियो तर व्यावहारिक रूपमा भने जागिरे जीवन सुरु भएबाट भनौँ जीवनले अर्कै मोड लिएको हुनु पर्छ । जागिरको प्रकृति नै स्वदेश र विदेशको मिश्रित अनुभव लिने किसिमको भएपछि आफैँ बोइलर कुखुरा जस्तै त कतै भएको छैन जस्तो पनि लाग्दछ ।

गत जनवरी २१ देखि २७ सम्म मध्य अफ्रिकी मुलुक मध्य अफ्रिकी गणतन्त्रको भ्रमण गर्ने अवसर प्राप्त भयो । भलै यो अफिसियल भ्रमण भए पनि मलाई आफ्नो बेफ्रिकी व्यक्तिगत अनुभव लेख्न मन लाग्यो, मनमा एकदमै खुलदुली लाग्यो । हिरा, सुन तथा अमूल्य धातूले भरिपूर्ण भए पनि मुलुक सम्पन्न हुन सक्दो रहेनछ । औपनिवेशले कतिसम्म निचोर्दो रहेछ र जनतालाई कति दास सम्झँदो रहेछ भन्ने प्रत्यक्ष देख्न र अनुभव गर्ने अवसर प्राप्त भयो । अनि मेरा पुर्खा र मुलुकको इतिहास सम्झेर अमर सहिदप्रति र यो मुलुकलाई एक स्वतन्त्र तथा सार्वभौम कायम गर्ने पुर्खालाई मनैदेखि सलाम गरेँ सात समुद्रपारिको औपनिवेशले पिल्सिएर हरितन्नम भएको मुलुकबाट । मैले कस्तुरी र बिनाको कथा सानैमा सुनेको थिएँ र पुनः यसको सम्झना आइरह्यो । दोहा हुँदै हाम्रो यात्रा केन्या, एन्तवे अनि बाङ्गुई रहेको थियो । दोहामा ट्रान्जिटमा रहँदा त्यहाँको भव्य विमानस्थल सम्झेँ अनि यति सानो मुलुकले विश्वकप फुटबल सम्पन्न गरेको तथा छिमेकी मुलुकले नाकाबन्दी लगाउँदासमेत डटेर सामना गरेको झलझल सम्झिरहेँ । अनि विकासका लागि मूलतः नेतृत्वको भूमिका महत्वपूर्ण हुने कुरा मनन गरेँ । काठमाडौँदेखि दोहा जाँदा मेरो सिटसँगै ठमेलमा हस्तकला व्यापार गर्ने व्यवसायी एरिजोना अमेरिका जाने रहेछन् । नेपालको अवस्थाबारे चिन्ता गर्दै किन मुलुक सफल हुँदैनन् भन्ने उदाहरण मेक्सिकोतिरको एरिजोना र अमेरिकातिरको एरिजोनाको तुलना पनि गरियो ।

दोहाबाट केन्याको नैरोबी प्रस्थान गरियो । कहिलेकाहीँ विदेशी साथीभाइको नेटवर्किङले फाइदा मिल्छ । यस्तै फाइदा केन्यामा भयो । त्यहाँ चिनजानेका मानिस भएकाले हामीलाई तीन घण्टाको ट्रान्जिटलाई बाहिर निस्केर केन्याको राजधानी सहर नैरोबीको एक फन्को मार्ने अवसर प्राप्त भयो । केन्या कसरी तीव्र विकासको गतिमा अगाडि बढेको छ भन्ने कुरा त विमानस्थलबाट निस्कँदा सिधै मुम्वासासम्म पुग्ने डेडिकेटेड करिब पाँच सय किलोमिटरको लामो सडकले बताउँछ ।  

व्यापारका लागि व्यापार लजिस्टिक तथा व्यापार सहजीकरणको ठुलो महìव हुन्छ प्रतिस्पर्धी बन्नलाई । पहिला जेनेभामा रहँदा मुम्वासाको गुलाफ फूलको व्यापारबारे ‘दी इकोनोमिस्ट’ ले नै ठुलो समाचार लेखेको थियो । साँझ टिपेको फूल अर्को दिन आम्स्टर्डम हुँदै क्यानडा तथा अस्ट्रेलिया पुग्ने गरेको । नैरोबीमा संयुक्त राष्ट्रसङ्घका दुई एजेन्सीका हेडक्वाटर छन्, ती हुन् संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम र युएन ह्याबिट्याट । त्यति मात्रै होइन, अहिले केन्याले ठुला ठुला अन्तर्राष्ट्रिय सम्मेलन पनि आयोजना गर्न सक्षम भएको रहेछ । हामीसँगै सहभागी एक जना पहिला पनि केन्या अन्तर्राष्ट्रिय सम्मेलनको सिलसिलामा पुग्नुभएको रहेछ । उहाँ विश्व व्यापार सङ्गठनको मन्त्रीस्तरीय बैठक तथा अन्तर्राष्ट्रिय सम्मेलनको सिलसिलामा त्यहाँ पुग्नुभएको रहेछ । त्यहाँ विश्व व्यापार सङ्गठनको मन्त्रीस्तरीय बैठक तथा संयुक्त राष्ट्रसङ्घको व्यापार तथा विकास सम्मेलनको हरेक चार वर्षमा हुने सम्मेलनसमेतको १४ औँ सम्मेलन यहाँ भएको रहेछ । गजब लाग्यो तर मध्य नैरोबी सहरमा ठुलै स्लम बस्ती पनि रहेछ । त्यो हटाउन नसक्दा सहर कुरूप पनि देखिरहेको थियो । त्यो चाहिँ मज्जा लागेन । विकसित हुँदै गर्दाका अवरोधहरू त्यसले गिज्याइरहेको थियो । 

अनि हामी लागियो नैरोबीबाट युगान्डाको एन्तवे । हाम्रो जहाज त्यहाँ केवल यात्रु झार्न र नयाँ यात्रु थप्न मात्र रोक्ने रहेछ । हाम्रो गन्तव्य अझै अगाडि भएकाले हामीलाई बाहिर निस्कन दिइएन । हामी जहाजमै करिब आधा घण्टा जति बस्यौँ । भर्खरै असंलग्न राष्ट्रहरूको १९ औँ सम्मेलन गरेको र दोस्रो साउथ साउथ सम्मेलनले गर्दा कम्पाला विश्वभर समाचारको केन्द्रमा नै थियो । सामान्य जमिनभन्दा अलि अग्लो रहेको र दुवैतिर ल्यान्डबिच हाइटमा कन्ट्रोल टावर भएको सानो एयरपोर्ट तर ठुला ठुला लामखुट्टेले हैरान बनाए । विमानस्थलमा असंलग्न आन्दोलनको १९ औँ सम्मेलन तथा साउथ साउथ सम्मेलनका ब्यानरहरू थिए । अनि विमानस्थलमा लेखिएको थियो, ‘वेलकम टु पर्ल अफ अफ्रिका ।’ भिक्टोरिया तालको छेउमा रहेकाले अति मनोरम र हरियालीयुक्त देखिन्थ्यो वरिपरि । तालमा नौका विहार गर्नेहरू पनि सहजै देख्ने अवसर मिल्यो ।

केही समयको पर्खाइपश्चात् हाम्रो अन्तिम गन्तव्य मध्य अफ्रिकी गणतन्त्रको राजधानी बाङ्गुईतर्फ लागियो । करिब एक घण्टाको यात्रापछि हामी बाङ्गुई विमानस्थलमा त पुग्यौँ तर त्यहाँको अवस्था अवतरण भएपछि नै बुझिन्थ्यो । त्यहाँ नियमित अन्तर्राष्ट्रिय उडान नहुने, आफ्नै मुलुकको नेसनल करियर नभएको, इथियोपिया, फ्रान्स र केन्यालगायत केही मुलुकको सहानुभूतिले गर्दा केही जहाजले उडान भर्ने गरेका कारण अलि अलि बाहिर जानेआउने अवस्था रहेछ । युएन, विश्व खाद्य कार्यक्रम, रेडक्रसलगायतका आफ्नै साना जहाज रहेछन् । त्यसैमार्फत आफ्ना कर्मचारीलाई उडान भर्दा रहेछन् । बोर्डिङ पास पनि फिर्ता दिनुपर्ने लेमिनेटेड मल्टिपल प्रयोग हुने गरी बनाइएको र जहाजभित्र गएपछि फिर्ता गर्ने हुँदा रहेछन् । आगमन तथा प्रस्थान छुट्टै केही थिएन । तीन दिनको बसाइमा त्यहाँको अवस्था तथा मानिसको जीवनशैली राजनीतिक अवस्थालगायत विविध पक्षको अवलोकन गर्न,  सुन्न र देख्न पाइयो ।

करिब छ लाख क्षेत्रफल भएको मुलुकमा मात्र १० हजार सेना रहेको र सेना प्रमुखसँग समेत भेट्ने सौभाग्य प्राप्त भयो । त्यसले मनमा आनन्द होइन, पीडा मात्रै र थप कौतुहल जगायो । जहाँ खन्यो, त्यहाँ खनिज छ भन्ने मुलुकको दुरवस्था देखियो । मैले प्रायः विश्व इतिहासमा ठुला मुलुकले साना मुलुकलाई दबाएको, थिचोमिचोमा पारेको पढेको थिएँ । यो यहाँ काम लागेन । सानो छिमेकले नराम्रोसँग हस्तक्षेप र दोहन गरेको थाहा पाउँदा अचम्म पनि लाग्यो । जमिन उर्वर भएर के गर्ने ? जनतामा जागरण, शिक्षा तथा तालिम, प्राविधिक ज्ञान नहुँदा र राजनीतिले सही दिशा नदिँदाको अवस्था सहजै अनुमान लगाउन सकिन्थ्यो । अफ्रिका यात्रा मेरा लागि यो दोस्रो थियो । सन् २०१२ मा एकहप्ते यात्रामा इजिप्टको अलेक्जेड्रियादेखि कसो कसो सुडानको बोर्डर अस्वानसम्म यात्रा गर्ने अवसर मिलेको थियो । उक्त समयमा अरब आन्दोलन सुरु नभएको होस्नी मुबारक शासित पर्यटकले भरिभराउ इजिप्ट थियो । पिरामिडमा मान्छेको ठुलो भिड अनि ताहिर स्क्वायरमा राजनीतिक गफ तथा पाउरोटी किन्ने भिड छुट्टै थियो । पछि राजनीतिक उथलपुथल आयो । संसार परिवर्तनशील छ र त निरस छैन भन्नु प¥यो । मान्छेलाई व्यस्त बनाएको छ । 

जिन्दगीमा के देख्नलाई आउनु परेको होला भन्दै थिएँ । पहेँलो ज्वरोको खोप लगाई लगाई जिउँदा मान्छेको लास जस्तो कुनै उत्साह छैन, यसो झ्यालबाट बाहिर हे¥यो भद्रगोलसिवाय केही छैन । नियम कानुन केही छैन । महिलाको अवस्था दयनीय, बच्चैबच्चा मात्रै देखिने, औसत आयु कम भएर होला उमेर पाका मानिस नदेखिने । नेपाली सिमल तरुलजस्तो कासवा मुख्य खाद्य पदार्थ रहेछ । त्यसैलाई कुहाएर पिठो बनाउने अनि ढिँडोलगायत अन्य परिकार बनाउने रहेछन् । छाप्रैछाप्राका बस्ती अनि निन्याउरा अनुहार देख्दा हाम्रोमा यो हदसम्मको नाजुक अवस्था त छैन भन्दै मुलुकप्रति गर्व गर्दै फर्कने दिन सम्झँदै दिनहरू कटे । यात्रा एक अनुभव अनेक बटुलेर मेरो दोस्रो अफ्रिकी यात्रा पूर्णविराम लाग्यो ।