गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत ९ गते । दाङको तुलसीपुर उपमहानगरपालिका–११ स्थित सुकौराकोट दरबार उत्खनन हुने भएको छ । पुरातत्व विभागको काठमाडौँबाट जाने पुरातत्वविज्ञसहितको टोलीले करिब दुई महिनासम्म खोज अनुसन्धान गरेर दरबार अध्ययन गर्ने भएको हो ।
पुरातत्व विभागका पुरातत्व अधिकृत नवराज अधिकारीले पुरातत्वका कर्मचारी, इन्जिनियर पुरातत्वविद्हरू हप्ता दिनभित्र सुकौराकोट दरबारको अध्ययन गर्न जाने बताउनुभएको छ ।
“सुकौराकोटका दरबारको अवशेषको संरचना फेला परेका छन् । भवनको चारैतिरको संरचना स्पष्ट रूपमा देखिने गरेका छन् । केही माटाका भाँडा मात्रै फेला परेका छन्,” उहाँले भन्नुभयो, “स्थानीयवासी र बुद्धिजीवीले यो दङ्गीशरण चौधरी राजाको दरबार भएको बताउने गरेको पाइन्छ । अहिलेसम्म पुष्टि हुने गरी खोज अनुसन्धान भएको छैन । हामीले खोज अनुसन्धान गरेर फेला परेका तथ्य र प्रमाण परीक्षण गरेपछि सबै एकिन भन्न सक्छौँ ।”
स्थानीयवासीले दङ्गीशरण चौधरी राजाको दरबार भएकाले जिल्लाको नामसमेत दङ्गीशरण चौधरीकै नामबाट दाङ रहन गएको बताउने गरेका छन् । “सुकौराकोट दरबार प्राचीन समयमा कुनै
राजाको दरबार हो भन्नेमा कुनै विवाद छैन । ऐतिहासिक दरबार भएकैले स्थानीय सरकारले तार लगाएर संरक्षण गरेको छ,” उहाँले भन्नुभयो, “कुन समयमा कसरी निर्माण भयो ? कुन राजाको दरबार हो ? सबै अध्ययन भएपछि यसको इतिहास सबै भन्न सक्छौँ ।”