ललितपुर , चैत ९ गते । यल अध्ययन केन्द्रले स्थानीय बालबालिकालाई सिकाउँदै आएको तीनमहिने नेपाल भाषा, नेवार नृत्य, गायन, बाजा, खेल र वाचनकला प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । नेपाल भाषा, साहित्य, संस्कृति प्रवर्धनका निम्ति उक्त कार्यक्रम आयोजना गरिएको ललितपुर महानगरपालिका–१२ का अध्यक्ष नारायण अवालेले बताउनुभयो ।
कार्यक्रममा नेपाल भाषा मङ्का खलः यलका अध्यक्ष महेन्द्र महर्जनले नेपाल भाषाको विभिन्न खेलबारे जानकारी मात्र नभई खेल खेल्ने र खेलाउने तरिका पनि सिकाउन आवश्यक भएको बताउनुभयो । यल मङ्काः खलः ले आगामी दिनमा नेपाल भाषा खेलसम्बन्धी पुस्तक तयार गर्ने उहाँको भनाइ छ ।
तालिमको समयमा साना साना भाइबहिनीको मोबाइल हेर्ने बानी हट्नुका साथै लोप हुन लागेको नेपाल भाषा, साहित्य, संस्कृतिले निरन्तरता पाउनेमा प्रशिक्षित बालबालिकाका अभिभावकले खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा प्रशिक्षित बालबालिकाले आआफ्नो प्रतिभा प्रस्तुत गर्नुभयो ।