जयकृष्ण यादव
इनरुवा, चैत ९ गते । सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार लालविक्रम थापा फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ । थापाले ५७ हजार ३४८ मत प्राप्त गर्दै विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजीव कोइरालाले १६ हजार ७१ मत प्राप्त गर्नुभएको छ । एमालेका उम्मेदवार सुजन लामाले ८ हजार ३०३ र श्रम संस्कृति पार्टीका चेतन राईले सात हजार ४८४ मत पाउनुभएको थियो।
करिब ४१ हजारभन्दा बढी मतान्तरसहित विजयी हुनुभएका थापा यसअघि २०७९ सालको निर्वाचनमा तेस्रो स्थानमा रहनुभएको थियो । सिभिल इन्जिनियरिङ अध्ययनसँगै कलेज सञ्चालन र समाजसेवामा सक्रिय रहँदै आएका थापा तीन वर्षअघि राजनीतिक यात्रामा प्रवेश गर्नुभएको हो ।
निर्वाचनपछि प्रतिक्रिया दिँदै थापाले सुशासन, जवाफदेहिता र विधिको शासन स्थापित गर्दै विकास र समृद्धिका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले प्रतिनिधिसभा निर्वाचनलाई केवल सत्ता परिवर्तनको प्रक्रिया नभई नागरिकको गुमेको विश्वास पुनःस्थापित गर्ने अवसरका रूपमा लिनुपर्ने बताउनुभयो ।
थापाका अनुसार युवा तथा आम नागरिकमा देखिएको निराशा अन्त्य गर्दै इमान्दार राजनीति, भ्रष्टाचारमुक्त प्रशासन र वास्तविक परिवर्तनका लागि आफू प्रतिबद्ध रहनेछु । जनआवाज र पार्टीको घोषणापत्रलाई मार्गदर्शन मानेर स्थानीय आवश्यकता र सम्भावनालाई केन्द्रमा राखी काम गर्ने उहाँको भनाइ छ ।
उहाँले शिक्षा, स्वास्थ्य, सुरक्षा, सडक, सिँचाइ तथा जनजीविकासँग सम्बन्धित क्षेत्रमा प्राथमिकताका साथ काम गर्ने बताउनुभयो । इनरुवा–कौवाखोच सडक मर्मतका लागि निर्वाचनअघि नै पहल गरेको र निर्वाचित भएपछि पनि विकास निर्माणका कामलाई तीव्रता दिने तयारी गरेको उहाँले जानकारी दिनुभयो ।
थापाले रामधुनी क्षेत्रको धार्मिक पर्यटन विकास, स्थानीय भाषा, कला तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राख्ने बताउनुभयो । साथै बाढी तथा डुबानको दीर्घकालीन समाधान, आधुनिक दाहसंस्कार स्थल निर्माण, पर्यटकीय पूर्वाधार विकास, वन तथा वन्यजन्तु संरक्षणमार्फत पर्यटन प्रवद्र्धन र रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।
स्वच्छ वातावरण, फोहोर व्यवस्थापन, वन–जल संरक्षण, खेलकुद पूर्वाधार विस्तार तथा आधुनिक र उत्पादनमुखी कृषिको विकास आफ्नो प्राथमिकतामा रहेको थापाले उल्लेख गर्नुभयो ।
कृषि क्षेत्रको विकासका लागि माटो परीक्षण, उन्नत बिउ–बिजन, मल तथा आधुनिक औजारको उपलब्धता सुनिश्चित गर्ने, किसानलाई उचित मूल्य र बजार व्यवस्था गर्ने, कृषि भण्डारण केन्द्र स्थापना गर्ने तथा कृषि शिक्षा विस्तारमा जोड दिने योजना पनि उहाँले सार्वजनिक गर्नुभएको छ ।
त्यसैगरी सिँचाइ प्रणाली सुधार, नहरहरूको पुनर्जीवन, सुरक्षित खानेपानीको पहुँच विस्तार तथा समग्र जीवनस्तर सुधारका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने उहाँले बताउनुभयो ।