सिराज खान
नेपालगन्ज, चैत ९ गते । काशी हिन्दी विद्यापीठ एवम् अखिल भारतीय लेखक कवि कलाकार परिषदद्वारा संयुक्तरूपमा भारतको बनारसमा आयोजित एक कार्यक्रममा नेपालका पाँच जना वरिष्ठ साहित्यकारलाई सम्मान गरिएको छ ।
भारतका पूर्व सांसद वरिष्ठ साहित्यकार ओमपाल सिंह ‘निडर’ र अखिल भारतीय लेखक कवि कलाकार परिषदका संस्थापक इन्द्रजित तिवारीले संयुक्त रूपमा नेपाली साहित्यकारहरु डा.हरि तिमिल्सिना, डा.राजकुमार थारू, कल्पना पौडेल, मीना कुमारी बराल र ऋषिराम सापकोटालाई ‘नेपाल–भारत मैत्री सम्मान’ बाट सम्मानित गर्नुभयो ।
सो अवसरमा बोल्दै भारतका पूर्व सांसद वरिष्ठ साहित्यकार ओमपाल सिंह ‘निडर’ले नेपाल र भारतको सम्बन्ध राजनितिक मात्र नभई साहित्यिक, सांस्कृतिक र आर्थिक रुपमा पनि निकै बलियो तथा पुरानो रहेको बताउनुभयो ।
उहाँले सदियौंदेखि नेपाल र भारतबिचको साहित्यिक सम्बन्धले दुबै देशका नागरिकबिचको सम्बन्धलाई सुदृढ गर्ने कार्य गरिरहेको बताउनुभयो ।
सोही अवसरमा अखिल भारतीय लेखक कवि कलाकार परिषदका संस्थापक इन्द्रजित तिवारी र नेपालका वरिष्ठ साहित्यकार डा.हरि तिमिल्सिनाले पनि नेपाल र भारतविचको साहित्यिक सम्बन्धबारे बिस्तृत रुपमा चर्चा गर्नुभयो ।
कार्यक्रममा भारतीय वरिष्ठ साहित्यकारहरु डा. महेन्द्र तिवारी ‘अलंकार’, सिद्धनाथ शर्मा ‘सिद्ध’, जयशंकर सिंह, इन्द्रजीत तिवारी ‘निर्भीक’, किशन पौडेल, राजाबाबु पहाडी, मृत्युंजय त्रिपाठी ‘मलंग’, पूनम गुप्ता ‘पूर्वी’, ओमप्रकाश पाण्डेय ‘निर्भय’, ओमप्रकाश द्विवेदी ‘ओम्’, नाट्यकर्मी विजय कुमार गुप्ता, दिवाकर पाठक, डा. शिवनाथ सिंह ‘शिव’, आनन्द श्रीवास्तव, उषा साह, डा. वीना सिंह ‘रागी’, डा. सुबाषचन्द्र, झरना मुखर्जी, डा. जयप्रकाश मिश्र, विजय नारायण तिवारी ‘रसिक’, राकेश चौबे ‘संगम’, अनुज दूबे लगायत धेरै साहित्यकार तथा कलाकारहरूले आफ्नो काव्य र कला प्रस्तुत गर्नु भएको थियो ।
सोही प्रकारले नेपालका वरिष्ठ साहित्यकारहरु डा. हरि तिमिल्सिना, कल्पना पौडेल ‘जिज्ञासु’, श्रीराम सापकोटा ‘अविचल’, मीना बराल र डा. राजकुमार थारूले पनि आफ्नो कविता र गजल प्रस्तुत गर्नुभएको थियो ।