गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत ९ गते । वानीरा फाउन्डेसनले यस वर्षको ‘वानीरा प्रज्ञा पुरस्कार’ वरिष्ठ कवि तथा गीतकार माधव खनाल ‘भावुक’ लाई प्रदान गर्ने निर्णय गरेको छ । फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा शनिबार बसेको बैठकले नेपाली भाषा–साहित्यमा साढे सात दशकदेखि साधनारत भावुकलाई सो पुरस्कार समर्पण गर्ने निर्णय गरेको हो ।
त्यसै गरी ‘वानीरा शङ्कर पुरस्कार’ कम्प्युटर वैज्ञानिक मुनि शाक्यलाई प्रदान गरिने भएको छ । यी दुवै पुरस्कारको राशि जनही एक/एक लाख रुपियाँ रहेको छ । फाउन्डेसनले आख्यान, कविता र हास्यव्यङ्ग्य लेखनमार्फत नेपाली साहित्यको संवर्धनमा योगदान दिएबापत चितवनका साहित्यकार धनराज गिरीलाई ५० हजार रुपियाँ राशिको ‘वानीरा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । यस्तै काठमाडौँ महानगरपालिका–३१ को विकास र समाजसेवामा समर्पित सरोज ढकाललाई ‘वानीरा सेवा सम्मान’ समर्पण गरिने भएको छ । पुरस्कार तथा सम्मान डा. गिरीको ८३ औँ जयन्तीका अवसरमा विशेष समारोहमा प्रदान गरिने सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनुभयो ।