टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), चैत ९ गते । जिल्ला प्रहरी कार्यालय गुल्मीलाई ज्योति विकास बैंक तम्घास शाखाले कम्प्युटर प्रदान गरेको छ । बैंकका शाखा प्रबन्धक मनोज लामिछाने र कर्जा इन्चार्ज ज्ञानबहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुलाई प्रदान गर्नुभयो ।
बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत केन्द्रीय नीति अनुसार जिल्ला प्रहरीलाई ६० हजार बराबरको एक थान कम्प्युटर प्रदान गरिएको शाखा प्रबन्धक लामिछानेले बताउनुभयोे । भदौ २४ गतेको जेनजी आन्दोलनपछि देशका धेरै प्रहरी कार्यालयहरुमा क्षति भएकाले बैंकले देशैभर कम्प्युटर प्रदान गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सारुले कम्प्युटर प्रदान गरेकोमा ज्योती विकास बैंकलाई आभार प्रकट गर्दै प्रहरीको आत्मसम्मान र सेवामा टेवा पुगेको बताउनुभयो ।
जिल्ला बैंक तथा वित्तीय संघसंस्थाहरुहरु सामाजिक कामहरुमा सहजीकरण गरिरहेका छन् । जिल्लामा सिसिटीभी जडान गर्न, कार्यालयहरुमा डिजिटल बोर्ड, खानेपानी, टोकन मेसिन लगायतका सामग्रीहरु बैंक तथा वित्तीय संघसंस्थाहरुले प्रदान गरिरहेका छन् । यस बाहेक जिल्लाका विभिन्न बाढी, पहिरो, आगलागी जस्ता विपदका घटनाहरुमा पनि सहयोग गर्दै आएका छन् ।